सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योगी व्यवसायीहरूले बैंकविरुद्ध संयुक्त सडक आन्दोलन गर्ने

माग सम्बोधन नभए तालाचाबी नै सरकारलाई बुझाउने
आइतबार, २९ माघ २०७९, १३ : ३१
आइतबार, २९ माघ २०७९

काठमाडौँ । फागुन ५ गते उद्योगी व्यवसायीहरूका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु विरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् । संघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरूका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु विरुद्ध वृहत् संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको जानकारी दिए । 

व्यवसायीहरूले पछिल्लो समय बैङ्कहरूले बढाएको चर्को ब्याजदर विरुद्ध आन्दोलन गर्ने बाध्य भएको बताएका छन् । संयुक्त मूल संघर्ष समितिका संयोजक कटुवालले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उद्योगी व्यवसायीहरूमा रहेको सिन्डिकेटका अन्त्य र बैंकको ज्यादती विरुद्ध सडक आन्दोलन घोषणा गर्न लागेको बताए । 

समितिले लामो समयदेखि उद्योगी व्यवसायीहरूले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासीन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरू राख्न बाध्य हुनुपरेको जनाएको छ । संयुक्त मूल संघर्ष समितिका संयोजक नरेश कटुवालले उद्योगी व्यवसायीहरूको मागको सुनुवाइ सरकारले नगरेकाले व्यवसायीहरूले पुनः सडक आन्दोलनमा जान बाध्य भएको बताए । 

उनले भने,‘उद्योगी व्यवसायीहरूको मागको सुनुवाइ सरकारले नगरेकाले व्यवसायीहरूले पुनः सडक आन्दोलनमा जान बाध्य भएका छौँ । यसअधि नेपाल राष्ट्रिय व्यवसायी महासंघ एक्लैले सडक आन्दोलन गरेका थियौँ । तर अहिले ९ वटा व्यावसायिक महासंघहरु र ३८ वटा व्यावसायिक संघ संगठनहरुको संयुक्त रूपमा वृहत् सडक आन्दोलन गर्ने घोषणा गरेका छौँ । उद्योगी व्यवसायीहरूको लागि सरकार,राजनीतिक दल वा दलका नेताहरू रहेका छन् । जिम्मेवार कोही पनि भएन । पछिल्लो कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न सकेका थिएनन् । यस्तो बेलामा पनि उद्योगी व्यवसायीहरूको लागि कोही उत्तर दाही भएनन् । सरकारले निश्चित उद्योगी व्यापारी लिएर छलफल ग¥यो । उद्योग र व्यापारमा रहेको सिन्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरूको पहुँच सहितको बैंकहरुको ज्यादतीविरुद्ध थप आन्दोलनको कार्यक्रमहरू घोषणा गरेका छौँ । हामीले फागुन ५ गते वृहत् र्‍यालीसहित सडक आन्दोलनमा उत्रने घोषणा गरेका छौँ । सम्पूर्ण मुलुक भरमा रहेका उद्योगी,व्यापारी व्यवसायी सम्बन्धित सबै ऋणीहरूलाई आन्दोलनमा सहभागी हुन आग्रह छ । बैङ्कहरूले देखाएको दादागिरीको अन्त्य र निश्चित उद्योगी व्यवसायीहरूको सिन्डिकेटको विरुद्ध एक पटक एक भएर बाहिर आउनु थालेका छौँ । सडक आन्दोलन शान्तिपूर्ण ढङ्गले सबै क्षेत्रका व्यवसायीहरूले सरकारसँग सडकबाट माग राख्नेछन् ।’

उनले फागुन ५ गतेपछि पनि सरकारले व्यवसायीहरूको माग सम्बोधन नगरेर थप आन्दोलनका कार्यक्रमहरू गर्दै जाने बताए । उनले फागुन ५ गतेपछि पहिलो चरणमा सम्पूर्ण उद्योगी व्यवसायीहरूले बैंकिङ कारोबार बन्द गराउने बताए । उनले त्यसपछि पनि राज्यले उद्योगी व्यवसायीहरूको माग सम्बोधन नगरे सबै व्यवसायको तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिए । 

उनले भने,‘ फागुन ५ गतेपछि पनि व्यवसायीहरूका मागहरू सुनुवाइ भएनन् भने थप आन्दोलन गर्छौँ । जसमा फागुन पाँच गतेपछि सबै व्यवसायीहरूले बैंकिङ कारोबार बन्द गर्छौँ । उद्योग र व्यवसायमा भएका सम्पूर्ण तालाचाबी नेपाल सरकारलाई बुझाउँछौँ । त्यसपछि हामी फुकुवा हुन्छौँ र सरकारलाई राहदानी दिनुपर्छ । हामीलाई विदेशमा कामदारको रूपमा जानको लागि भिसा मिलाइए दिए हुन्छ । नेपालका उद्योग व्यापार गरेर गरिखाने अवस्था बनेन । बैङ्कहरूले सबैलाई सुकुम्वासी बनाउने अवस्था रहेको छ ।’

संयुक्त आन्दोलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,ढुवानी व्यवसायी महासंघ, ग्रिल तथा स्टिल व्यवसायी महासंघ,कपडा तथा सिलाई व्यवसायी महासंघ,होटल व्यवसायी महासंघ र मोबाइल व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघले साथ दिएको छ । भने महासंघमा आबद्ध ३८ वटा संघहरुले आन्दोलनमा सहभागिता जनाउने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप