बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

बैंकबाट ऋण लिएर नतिर्नेहरुको संख्या बढ्यो, लघुवित्तविरुद्धको आन्दोलन देशैभरि चर्काउने उद्घोष

मङ्गलबार, ०२ फागुन २०७९, १६ : ०८
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय कम्पनीहरूबाट ऋण लिएर नतिर्ने ऋणीहरूको संख्यामा तीव्र वृद्धि आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जाको दर (एनपीएल) २.६० प्रतिशत पुगेको हो । 

यसअघि असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जाको दर २.२९ प्रतिशत मात्र रहेको थियो । उसो त अघिल्लो आर्थिक वर्ष यसै अवधिमा १.८३ प्रतिशत हाराहारी मात्र रहेको खराब कर्जाको दर ८–१० महिनामा नै झण्डै दोब्बरले बढ्नुले वित्तीय क्षेत्रमा चिन्ता थपेको छ । 

खासगरी पछिल्लो समय बढेको विश्व आर्थिक मन्दीको असर नेपाली अर्थतन्त्रमा समेत पर्दा उपभोग्य बजार शिथिल भई व्यापार व्यवसाय, उद्योग कलकारखानाको उत्पादन घट्दा यसको असर बैंकको लगानीमा परेको हो । उत्पादन र बजार नै नहुँदा ऋणीहरुले बैंकको सावाँ ब्याज भुक्तानी (किस्ता) समेत चलाउन सकेका छैनन् । जसका कारण यता बैंकहरुको खराब कर्जाको दर अझ बढ्न पुगेको छ । 

कुन वित्त कम्पनीको खराब कर्जाको दर कति?

केन्द्रीय बैंकको रिपोर्ट अनुसार पुस मसान्तसम्म वाणिज्य बैंकहरुको खराब कर्जा दर (एनपीएल) २.४९ प्रतिशत पुगेको छ । यसअघि अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुको एनपीएल दर १.३६ प्रतिशत हाराहारी मात्र रहेको थियो ।

तर यता समीक्षा अवधिमा बैंकहरुको कर्जा लगानी भने २.८ प्रतिशतले बढेर ४२ खर्ब ८२ अर्ब रुपैयाँ माथि पुगेको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये १ खर्ब ६ अर्ब ५० करोड रुपैयाँ माथिको कर्जा खराब कर्जामा दर्ता भएका छन् । 

यस्तै, विकास बैंकहरुको खराब कर्जाको दर छ महिनामा बढेर २.८२ प्रतिशत पुगेको छ ।

अन्य वित्त कम्पनीहरुको एनपीएल दर साढे ५ प्रतिशतमाथि

केन्द्रीय बैंकका अनुसार अझ बढी खराब कर्जाको दर ग र घ वर्गका वित्त कम्पनीहरुमा झागिँदो छ । आर्थिक वर्षको छ महिनाको रिपोर्ट हेर्दा फाइनान्स तथा लघुवित्त कम्पनीहरुबाट ऋण लिने ऋणीहरूले ऋण नतिरिदिँदा यी कम्पनीको एनपीएल दर ५.७९ प्रतिशतमाथि पुगेको छ । अघिल्लो वर्षसम्म यस्ता कम्पनीको एनपीएल दर ४ प्रतिशत हाराहारी मात्र रहेको थियो । 

पुस मसान्तसम्म करिब साढे ५ खर्ब रुपैयाँ बराबरको कर्जा लागि गरेका वित्त कम्पनीहरूले ३० अर्ब रुपैयाँ माथिको कर्जा खराब कर्जामा फसाएका छन् । यसैको परिणाम स्वरूप पछिल्लो समय लघुवित्त र ऋणीहरुबीच ऋण तिर्ने र नतिर्ने सवालमा घम्साघम्सी परिरहेको छ । 

कर्जा लगानीको नाममा लघुवित्तहरूले गाउँगाउँमा सोझा किसानहरुलाई ऋणमा फसाएको र मोटो ब्याज असुल गरेको नाममा लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति नामक संगठन नै बनाएर ऋणीहरूले आन्दोलन गरिरहेका छन् । लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति, नेपालका अध्यक्ष मनिराज ज्ञवालीले लघुवित्तविरुद्धको आन्दोलनलाई थप सशक्त बनाइ देशैंभरि पु¥याउने उद्घोष गरेका छन् ।

यता लघुवित्तहरूले नियम संगत रुपमा नियामक राष्ट्र बैंकले तोकेको नियम नीतिमा रहेर कर्जा लगानी गरेको र ऋणीहरुलाई कुनै अप्ठ्यारो नपार्दा पनि ऋण नतिर्ने बरु आन्दोलनबाट टार्ने नीउ गरेको बताइरहेको छ । 

रातोपाटीसँग कुरा गर्दै नेपाल लघुवित्त वित्तीय संस्था संघका अध्यक्ष प्रकाशराज शर्माले आन्दोलनका नाममा केही गलत मनसाय बोकेकाहरुले ऋण नतिर्ने प्रपञ्च रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप