बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

प्यारी हजुरआमा

शनिबार, ०६ फागुन २०७९, ०९ : १२
शनिबार, ०६ फागुन २०७९

हजुरको उज्यालो मुहार पनि अब त लाग्न थाल्यो धमिलो
यो जगतमा अब हुनुहुन्न भन्दा पनि हुन्छ मन अमिलो
हाम्रो लागि त कुनै दिन हजुर नै हुनुहुन्थ्यो संसार
आज कतै नभेटिनु हुँदा लाग्छ सबै अन्धकार ।

उठेदेखि रातीसम्म हाम्रै साथी हुनु हुन्थ्यो,
जति हल्ला मच्चाए नि हाँसी मात्र रहनुहुन्थ्यो
हजुरसँग हुर्किदा देखेको चन्द्रमा आज पनि देख्छु उस्तै
तर आज त्यही  चन्द्रमाभित्र हजुरलाई पाउँछु साँझमा दुरुस्तै ।

किनकि, मलाई हरेक अप्ठ्यारोमा हौसला दिनुहुने प्यारी हजुरमा
किन आज पाइन मैले हजुरलाई मेरो जीवन सजिएको बगैंचामा
गाउनु हुन्थ्यो हरेक साँझमा भजन अनि श्लोकवद्ध लयहरु
तिनै लयमा बिते हाम्रा बालापनका अभिनयहरु ।

आज पनि याद छ मलाई, हजुरले दिनु भएका कोसेलीहरु
आज तिनै कोसेलीको यादमा भिजेका छन् मेरा परेलीहरु

आमा काममा जाँदा हामीलाई भुलाउनु भयो स्नेही काखमा
आज पनि महसुस गर्न सक्छु, ममतारुपी हजुरलाई लाखमा ।

कलकल बग्ने पानीमा देख्छु अनि बलिरहेको दियोमा देख्छु,
हिमाल, हरिया पहाड, मन छुने उपन्यास सबैमा म भेट्छु,
किनकि, मेरो हरेक कोशिकामा बगेको छ, हजुरकै रगत
यादमा नै जाने भयो हजुरआमा यो जीवन फगत ।

शिरमा आशीर्वादको ताज पहिर्याई विलीन हुनु भयो यही माटोमा
दिनु भयो सुगन्ध फुल बनाई र आफू लाग्नु भयो स्वर्गको बाटोमा
दिनु भयो परिश्रम गरेर पनि नथाक्ने मन, हराउनु भयो पत्थर बनी
दिनु भयो विद्या आर्जन गर्ने शक्ति, आफू हराउनु भयो सरस्वती बनी ।

(हजुरआमा धनमाया सापकोटामा समर्पित) 
दोलखा, हालः भक्तपुर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशीला शर्मा
सुशीला शर्मा
लेखकबाट थप