शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापतिबीच भेटवार्ता : राष्ट्रपतिबारे छलफल सकारात्मक

आइतबार, ०७ फागुन २०७९, २३ : ५५
आइतबार, ०७ फागुन २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति भएको बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो । करिब २ घण्टा भएको बैठकमा सभापति देउवाले राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्री दाहालसमक्ष आग्रह गरेका छन् ।

बैठकपछि रातोपाटीसँग कुराकानी गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘राष्ट्रपतिमा हामीले सहयोग माग्यौं । थप कुरा पनि हामीले राख्यौँ । उहाँले हाम्रो कुरालाई सकारात्मक रुपमा लिनुभएको छ । छलफल सकारात्मक रुपले अघि बढेको छ ।’

जवाफमा प्रधानमन्त्री दाहालले सोमबारको पार्टी पदाधिकारी बैठकमा यसबारे छलफल गरेर निर्णय दिने बताएका छन् । वरिष्ठ नेता पौडेलले भने,  ‘हामीले राखेका कुरा उहाँले भोलि आफ्नो पार्टीभित्र छलफल गर्नुहुन्छ । भोलि उहाँले बैठक छ भन्रुभएको छ । अझै केही दिन समय छ । उहाँले पार्टीभित्र छलफल गरेर निर्णय दिन्छु भन्नुभएको छ । भोलि उहाँको बैठकपछि पुनः छलफल  हुन्छ ।’

पौडेलले छलफल सकारात्मक भएको बताए । उनले भने, ‘कुराहरु राम्ररी अगाडि बढिरहेको छ । हामी माओवादीसँग सहकार्यका लागि तयार नै छौँ  । उहाँहरु पनि सकारात्मक बन्दै जानुभएको छ ।’  प्रधानमन्त्री दाहाललाई भेट्न कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए ।

२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन् ।  पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो । तर पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस भइरहेको छ । 

एमालेले पुस १० सहमति कार्यान्वयनका अडान लिएको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमति राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिइरहेको छ । यसले सत्ता गठबन्धनमा खटपट पैदा भएको छ । उक्त परिस्थितिमा कांग्रेस र माओवादीबीचको छलफलले राजनीतिले नयाँ कोर्स लिने आंकलन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप