६१ दिनमा टुट्यो एमाले नेतृत्वको सात दलीय गठबन्धन, आजैबाट नयाँ बन्यो

काठमाडौँ । गत पुस १० गते बनेको सात दलीय सत्ता गठबन्धन औपचारिक रूपमै टुटेको छ ।
राष्ट्रपति निर्वाचनमा सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहितका सत्ता गठबन्धन दलले नै कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेसँगै एमाले नेतृत्वको गठबन्धन ६१ दिनमै टुट्न पुगेको हो । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, लोसपा, एकीकृत समाजवादी, जनमत,उन्मुक्ति लगायतका पार्टीबीच राष्ट्रपतिमा कांग्रेसलाई मत दिने निर्णय भएसँगै नयाँ राजनीतिक कोर्षको सुरुवात भएको हो ।
आठ दलीय बालुवाटार बैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न प्रस्ताव गर्दै पुस १० मा बनेको गठबन्धन टुटेको बताएका थिए ।
‘पुस १० को गठबन्धन टुटेको छ । अव नयाँ ढंगले अघि बढ्नुपर्छ’, प्रधानमन्त्री प्रचण्डले बैठकमा राखेको भनाइ उद्धृत गर्दै नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले भने, ‘नयाँ राजनीतिक यात्रा सुरु भएको छ, यसलाई अगाडि बढाऔँ । राष्ट्रिय स्वाधीनता तथा जनतालाई सेवा–सुविधा दिने कुरामा एकताबद्ध भएर जाऊँ । सत्ता समीकरणमा पनि एकताबद्ध भएर जाऊँ ।’
मंसिरमा सम्पन्न आम निर्वाचनपछि पुस १० मा नेकपा एमालेको नेतृत्वमा सात दलीय गठबन्धनमार्फत प्रचण्ड प्रधानमन्त्री बनेका थिए । उक्त गठबन्धनमा एमाले,माओवादी केन्द्र, जसपा, जनमत, नागरिक उन्मुक्ति राप्रपा र रास्वपा सहभागी थिए । यो गठबन्धनमा रहेकामध्ये जनता समाजवादी भने सरकारमा गएको थिएन । रास्वपा भने केही साता अघि सरकारबाट बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल
-
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने
-
कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्जन उजुरी
-
केरला आइपुग्यो मनसुनी वायु, कहिले आइपुग्छ नेपाल ?
-
मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा, तराईमा लू चल्ने
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर