शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
फिल्मी सम्झौता

‘नेतालाई गाली गर्नै नपर्ने अवस्था कहाँ पो छ र ?’

मेरो फिल्म कान्स, ओस्कारमा पठाउनु छैन : दीपकराज गिरी
शनिबार, १३ फागुन २०७९, १२ : २१
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । गत वैशाखमा ‘कबड्डी ४’ पछि थुप्रै फिल्म रिलिज भए । यसमध्ये धेरैको लगानी बालुवामा पानी भयो । त्यसैले, यति बेला सबैको नजर फिल्म ‘छक्का पन्जा ४’ मा अडिएको छ । फिल्म प्रचारका लागि हालै सार्वजनिक भएको ‘छक्का पन्जा ४’ फिल्मको गीत र ट्रेलर अहिले चर्चामा छ । १९ फागुनमा रिलिज हुने दीपक–दीपा समूहले निर्माण गरेको यो फिल्मले दर्शकको मन जित्दै व्यवसायमा सुनामी ल्याउने अपेक्षा गरिएको छ । 

फिल्मको ट्रेलर समेटिएको राजा पात्रको राजनीतिक विषयवस्तुले फिल्म रिलिजपछि विवाद निम्त्याउने अनुमान पनि कतिपयले गरेका छन् । फिल्मको मुख्य राजा पात्रको भूमिकामा अभिनेता दीपकराज गिरी छन् । फिल्म रिलिज मिति नजिकिँदै गर्दा फिल्मको प्राविधिक कार्य, प्रचारप्रसार लगायतका काममा व्यस्त उनलाई अहिले सास फेर्ने फुर्सद छैन । 

प्रस्तुत छ, फिल्मका निर्मातासमेत रहेका गिरीसँग फिल्म ‘छक्का पन्जा ४’ को विषयवस्तुमा केन्द्रित रही रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशः

ट्रेलर हेर्दा फिल्म राजनीतिक विषयवस्तुमाथि बनेको अनुमान गर्न सकिन्छ, खासमा यसको विषयवस्तु के हो ?

– फिल्म राजनीतिबाट सुरु भएर राजनीतिमै सकिन्छ । राजनीति भन्नाले भयङ्कर ठूल्ठूला फिलोसपिकल कुरो केही छैन । हामीले हाम्रो समाज, देशमा देखेका, भोगेका विषय नै छन्, जुन दर्शकको नजरमा परेपनि नोटिस नभएको हुन सक्छ । फिल्ममा ती विषयवस्तु देख्दा दर्शकले यस्तो पनि थियो । र, हुँदो रहेछ भन्ने भान हुन्छ ।

फिल्मको ‘दर्शन सलाम’ गीत हिट भयो, ट्रेलरले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । यसबाट सुखद व्यावसायिक अनुमान लगाउन सकिन्छ त ?

– गीत र ट्रेलर सार्वजनिक अगाडि पनि ‘छक्का पन्जा ४’ प्रति दर्शकहरूको अपेक्षा राम्रो थियो । यो पुरानो माया र विश्वासले हो । करिब ४ वर्षपछि हामीले ‘छक्का पन्जा’ सिरिजको पछिल्लो सिक्वेल ल्याउँदैछौँ । त्यो कारणले पनि फिल्मप्रति  सबैको अपेक्षा धेरै छ । 

सार्वजनिक गीत र ट्रेलरले दर्शकमा विश्वास दिलायो । दर्शकले जुन प्रकारले गीत र ट्रेलर रुचाउनु भयो । त्यसले मनोबल बढेको छ । राम्रो कामका लागि प्रेरणा मिलेको छ । दर्शकको अपेक्षा हाम्रो फिल्मले पुरा गर्नेछ भन्ने मेरो विश्वास हो । 

फिल्मको ट्रेलर आएपछि केहीले राजा विरोधी भनेर पनि भने । म दल, राजा र अन्य कोहीसँग पनि बायस छैन । सबैसँग समभाव राख्छु । 

ट्रेलर सार्वजनिक भएपछि नेतालाई गाली गरेको र चरित्रमा औँला उठाएको कुरो सामाजिक सञ्जालमा व्यापक टिप्पणी आइरहेको छ नि ?

– ट्रेलरले फिल्मका केही कुरा झल्काउँछ । तर पूर्ण रूपमा फिल्म बुझाउँदैन । फिल्म कस्तो र के कुरोमा छ भन्ने त जान्नका लागि फिल्म रिलिज कुर्नैपर्छ । 

अर्को कुरो नेतालाई गाली गर्न नपर्ने अवस्था कहाँ छ र ? हाम्रो फिल्ममा व्यक्तिगत गालीगलौज कहिल्यै पनि हुँदैन । सामाजिक विषयमा फिल्म हुन्छ । हामीले नेताको विषय देखाए पनि गाली गरेका छैनौँ ।

किन निर्माणको लागि आवश्यक देख्नुभयो ‘छक्का पन्जा ४’ ?

– मलाई मानिसहरू ‘छक्का पन्जा’को सिरिज कतिसम्म आउँछ भन्ने प्रश्न सोध्छन् । उहाँहरूलाई मेरो जवाफ एउटै रहने गरेको छ, ‘छक्का पन्जा’को हरेक सिक्वेलले एउटै विषय लिएर कहिल्यै आउँदैन । 

फिल्मका कलाकार, पात्र दोहोरिएलान् । तर विषयवस्तु र घटनाक्रम सबै नयाँ हुन्छ । घटनाक्रम, परिवेश एउटै भएको भए गाह्रो हुन्थ्यो । हरेक फिल्ममा घटनाक्रम, परिवेश फरक फरक हुन्छ । राजा पात्रको ठाउँमा राजा पात्र होला तर घटनाक्रम र परिवेश राजा पात्रको फरक हुन्छ । 

पहिलो सिक्वेलमा राजा पात्र महिला प्रेमी थियो । दोस्रोमा प्रहरी, तेस्रोमा सामाजिक कार्यकर्ता र अहिलेको नेता भएर देखिएको छ ।

‘छक्का पन्जा’को सिरिजमा लगातार राजा पात्र रहँदै आएको छ । राजासँग तपाईंको विशेष लगाव छ कि क्या हो ?

– त्यस्तो केही होइन । फिल्मको ट्रेलर आएपछि केहीले राजा विरोधी भनेर पनि भने । म दल, राजा र अन्य कोहीसँग पनि वायस छैन । सबैसँग समभाव राख्छु । पूर्व राजाले राम्रो काम गरे राम्रो र नराम्रो गरे नराम्रो भन्छु । नेताहरूको पनि त्यस्तै हो । म सबैको कलाकार हो । 

फिल्म दर्शकका लागि निर्माण गर्ने हो । फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ, त्यो नै ठूलो कुरो हो । मलाई दर्शक भन्दा माथि उठ्नु छैन । 

सामाजिक सञ्जालमा तपाईँले बेला बेलामा गर्ने राजनीतिक टिप्पणीले निकै चर्चा पाउँछ । फिल्ममा पनि राजनीतिक विषय, फिल्ममा नौलोपन त छ ?

– फिल्म के हो र कस्तो छ, थाहा पाउन अव केही दिन कुरे पुग्छ । दर्शकहरूले पक्कै याद गरेको हुनुपर्छ कि हामीले हरेक पटक गहन र कठिन विषयमा फिल्म दिँदै आएका छौ । 

‘वडा नम्बर ६’ माओवादी जनयुद्धको विषय हाँस्यब्यङ्ग्यको रूपमा पस्किएका थियौ । सुरुको ‘छक्का पन्जा’ वैदेशिक रोजगारमा लुकेको कथा र पीडामा बनेको थियो । त्यसपछि पनि फरक फरक कथा पस्किँदै आएका छौँ । ‘छक्का पन्जा ४’ मा नौलोपन छ । 

दीपक–दीपाको फिल्मले दर्शकलाई मनोरञ्जन त दिन्छ तर त्यो भन्दा बढी अपेक्षा नगर्दा हुन्छ भन्छन् नि त ?

– फिल्म दर्शकका लागि निर्माण गर्ने हो । फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ, त्यो नै ठुलो कुरो हो । मलाई दर्शक भन्दा माथि उठ्नु छैन । मेरो फिल्म कान्स, ओस्कारमा पठाउनु छैन । फिल्ममार्फत् सबैलाई हलमा बोलाएर मनोरञ्जन दिलाउनु छ । घर घरमा पुर्‍याउनु छ ।

फिल्मको लक्ष्य सामाजिक परिवर्तन पनि हो ?

– त्यो त निश्चय नै हो । हामीले फिल्ममा समाजमा जे कुरोको आवश्यकता अनुभूत गर्दछौ । त्यो देखाउने हो ।

तपाईँ फिल्म लेखन, निर्देशन र अभिनय पनि गर्दै आउनु भएको छ । आफ्नो फिल्म किन आफै निर्देशन गर्नुहुन्न ?

–लेखन र अभिनय गरे पनि निर्देशकको जिम्मेवारी लिएर म टेक्निकल विषयमा अल्झिन चाहन्न ।

 ‘छक्का पन्जा ४’ अहिलेका युवा स्टार अनमोल केसीको फिल्म ‘छड्के २’ सँग भिड्दै छ । व्यावसायिक असर पर्छ कि ?

– हामी वर्षमा एक सयको हाराहारी फिल्म निर्माण गरिरहेका छौ । यो अवस्थामा मेरो फिल्म सिङ्गल रिलिज होस् भन्नु मूर्खता हो । वर्षमा जम्मा ५२ हप्ता हुन्छ । फिल्म एक सय भएपछि एक अर्कोसँग भिड्ने कुरो नौलो होइन । 

तर दर्शकको रुचि फरक फरक हुन्छ । हाम्रा फिल्म हेर्ने दर्शकले हामीसँग भिड्ने फिल्म पनि हेर्न सक्नु हुन्छ । हामीसँग भिड्ने फिल्म हेर्ने दर्शकले हाम्रो फिल्म पनि हेर्न सक्नु हुन्छ । त्यसैले, यस्ता कुरोमा म अहिले आफ्नो इनर्जी खर्च गर्दिन । म आफ्नो फिल्मबाहेक केही देख्दिन । मसँग जो जो आएपनि शुभकामना ।

तपाईँ सम्बद्ध फिल्म सधैँ टिमवर्कमै आउनुको कारण ?

– म अहिले जुन स्थानमा छु, त्यो टिमवर्कको नतिजा हो । त्यसैले पनि टिमवर्कमा बढी विश्वास लाग्छ । टिमवर्कमा भयो भने असम्भव काम पनि सम्भव बनाउन सकिन्छ भन्ने हिम्मत मिल्छ ।

तर टिम जोगाउन सजिलो छैन नि ?

– त्यो त हो, आफैले जन्माएको छोरा त भिन्न हुन्छ । तर टिमवर्क सधैँ रहोस् भनेर आफूले कोसिस भने गर्नुपर्छ । कामको कारणले जोडिएका कसैलाई रोक्न त सकिन्न । सकेसम्म मिलेर गरौँ, टिम नफुटौँ भन्ने रहन्छ ।

तपाईँले फिल्म ३/४ वर्षको अन्तरालमा ल्याउनुहुन्छ । दर्शकको चाहना वर्षमा एउटा आए हुन्थ्यो भन्ने छ नि ?

– त्यो दर्शकले हामीप्रति देखाएको विश्वास र माया हो । वर्षमा एउटा ल्याउनका लागि हामीलाई होमवर्क नपुग्ने रहेछ । छिट्टै आउँदा फिल्ममा कम्प्रोमाइज गर्नुपर्ने हुन सक्छ, राम्रो फिल्म बनाउन नसकिने अवस्था पनि बन्छ । राम्रो फिल्म दिनुपर्छ र त्यसका लागि समय त लाग्छ नै । म पहिले पहिले वर्षमा एउटा फिल्म खेल्थे । अहिले भने गाह्रो भयो ।

फेरि सानो पर्दामा फर्किन मन लागेको छैन ?

केही अगाडि टेलिभिजन कार्यक्रम ‘क्राइम पेट्रोल’मार्फत होस्ट बन्ने कुरो थियो । त्यो खर्चिलो कार्यक्रम भएकाले टेलिभिजनले प्रसारण गर्न सकेन । टेलिभिजन कार्यक्रमको होस्ट भएर वा इन्टरभ्यु कार्यक्रम लिएर आउने मन छ । अहिले भने फिल्ममै इन्जोय गरिरहेको छु ।

नेतालाई गाली गर्न नपर्ने अवस्था कहाँ छ र ? हाम्रो फिल्ममा व्यक्तिगत गालीगलौज कहिल्यै पनि हुँदैन । सामाजिक विषयमा फिल्म हुन्छ । हामीले नेताको विषय देखाए पनि गाली गरेका छैनौँ ।

तपाईँले ल्याउन लागेको हल कहाँ पुग्यो नि ?

– हलको काम युद्धस्तरमा छ । अहिले सबैतिर आर्थिक चपेटा छ । त्यसमा हामीले ल्याउन लागेको हल पनि पर्‍यो । त्यसले गर्दा भनेको समय ल्याउन सकिने अवस्था भएन । काम निरन्तर भएको छ । वैशाख सम्ममा उद्घाटन गर्ने योजना छ । 

अन्तमा, दर्शकलाई केही भन्नु छ कि ?

– फिल्म ‘छक्का पन्जा’ को केही सिरिज तपाईँहरूले हेरिदिनुभयो । हामीलाई राम्रो माया दिनुभयो । त्यो हिसाबले पनि हामीले ‘छक्का पन्जा ४’ तपाईँहरूको अनुरूप अझै राम्रो बनाउने कोसिस गरेका छौ । 

दीपकले फिल्म रमाइलो, राम्रो बनाउँछ भन्ने जुन विश्वास छ । त्यस्तो प्रतिक्रियाले खुसी लाग्छ । हामीप्रति दर्शकको जुन अपेक्षा छ, यस हिसाबले फिल्मका लागि सकेसम्म कम्प्रोमाइज गरेका छैनौँ । 

तैपनि म पनि मानिस हो । गल्ती भएको हुन सक्छ । फिल्म हेरेर सामाजिक सञ्जालमा कमी कमजोरी औँल्याउनुहोला, शिरोधार्य गरेर अर्को फिल्ममा सुधार्ने छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप