बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : अध्यादेश प्रतिस्थापन विधेयक बारेको विवाद सुल्झाउन पहल

शनिबार, १३ फागुन २०७९, १७ : ३४
शनिबार, १३ फागुन २०७९

मकवानपुर । बागमती प्रदेशसभाको बैठक शनिबार ४ बजे बस्ने भनिए पनि अझै बस्न सकेको छैन । दलहरुबीच दुई वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियाका बारेमा विवाद बढेपछि प्रदेशसभा बैठक प्रभावित भएको हो । सरकारले संसदीय समिति गठन गर्न चासो नदेखाइ दुई वटा अध्यादेशलाई समितिमा छलफल नै नगराएर सोझै हाउसबाट पारित गर्न खोजेको भन्दै दलहरुले विरोध गरेका हुन् ।

विवाद समाधानका लागि सभामुख भुवन पाठकले विशेष समिति गठन गरी ती दुई अध्यादेश प्रतिस्थापन गर्न बनेका विधेयकमा छलफल गराएर सदनमा लैजाने गरी सहमति जुटाउन पहल गरेका छन् । ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने गरी तत्काल विशेष समिति बनाउन लागिएको स्रोतको भनाइ छ ।

प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशको प्रतिस्थापन विधेयक प्रदेशसभामा ल्याएको हो । विधेयक पारित गर्नुअघि संसदीय समितिमा छलफल गर्नुपर्नेमा संसदीय समितिलाई नै पूर्णता दिन नसकेको सरकारले समिति छलेर अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्न खोजेको भन्दै विरोध भएको हो ।

विशेष समिति आजै गठन गरी अध्यादेश प्रतिस्थापन विधेयकमाथि छलफल गराउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप