मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रहरीमा नागरिकता प्रकरण

डीआईजी ज्ञवालीको पनि नागरिकता विवरण शङ्कास्पद

अख्तियारले माग्यो प्रहरीका डीआईजीहरुको नागरिकता विवरण
आइतबार, १४ फागुन २०७९, २१ : २१
आइतबार, १४ फागुन २०७९

काठमाडौँ। नेपाल प्रहरीमा उमेर ढाँटेर जागिर खाएको विषय प्रमाणसहित सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगले छानबिनका लागि केही प्रहरी नायब महानिरीक्षक (डीआईजी) को शैक्षिक प्रमाणपत्र र नागरिकता विवरण मागेको छ। अख्तियारले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै केही डीआईजीको शङ्कास्पद शैक्षिक प्रमाण पत्र र नागरिकता विवरणको जानकारी माग गरेको हो ।

नागरिकतामा उमेर सच्याएको तथ्य सार्वजनिक भएसँगै डीआईजी अशोक सिंहले राजीनामा दिएपछि अन्य केही डीआईजीका समेत नागरिकता सच्चाइएको विवरण सार्वजनिक भएका थिए। 

नेपाल प्रहरीका डीआईजी श्यामलाल ज्ञवालीको नागरिकतामा उमेर सच्याएको विवरणसहितको उजुरी शनिबार मात्रै अख्तियारमा परेको छ। अख्तियारले सोमबार प्रहरी मुख्यालयसँग ज्ञवालीको नागरिकताको विवरण पठाउन पत्राचार गर्ने भएको स्रोतले जनायो। प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ज्ञवालीले दाजु ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक भएका बेला नागरिकताको कपी नै गायब गरेको उच्च स्रोत बताउँछ। अर्का डीआईजी एवं  कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालको नागरिकताबारे पनि अख्तियारमा उजुरी परेको थियो। तर, ढकालको नागरिकतामा उल्लेख भएको विवरण जिल्ला प्रशासन कार्यालयबाटै गल्ती लेखिएको देखिएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले सच्चाएको देखिन्छ। 

डीआईजी ज्ञवालीको नागरिकतामा जन्ममिति २०२४ चैत्र २१ गते रहेकाले उनको डीआईजी बढुवा नै बदर हुने देखिन्छ । नेपाल प्रहरीको सिटरोलमा ज्ञवालीको जन्ममिति २०२५ भदौ २६ गते छ । ज्ञवालीले उमेर ढाँटेर जागिर खाएको भन्दै अख्तियारमा उजुरी परेपछि यसको विस्तृत छानबिनका लागि प्रहरी मुख्यालयसँग जवाफ मागिने अख्तियार स्रोत बताउँछ। ज्ञवाली विरुद्ध परेको उजुरीमा सरकारी निकायलाई भ्रममा पारेर नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको वास्तविक उमेर भन्दा कम उमेर देखाएर जागिर खाइरहेको उल्लेख छ। उनले प्रहरी निरीक्षक पदमा योग्य हुन २० वर्ष पूरा भएको र २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था भए पनि नागरिकता अनुसार २५ वर्ष पूरा भइसके पनि आवेदन दिएर प्रहरी सेवामा प्रवेश गरेको उजुरीमा उल्लेख छ। 

अख्तियारले सुरक्षा निकायहरू प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीको अभिलेख पठाउन प्रहरी, सशस्त्र र विभागको मुख्यालयमा पत्राचार गरिसकेको जानकारी अख्तियार प्रमुख प्रेम कुमार राईले दिए। उनले भने,‘नागरिकतामा उमेर ढाँटेको र शैक्षिक प्रमाणपत्र नक्कलीबारे जोडिएका प्रहरी अधिकृतको मात्रै होइन, उच्च पदमा बसेका सुरक्षा निकाय प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको अभिलेख पठाउन सम्बन्धित कार्यालयमा पत्राचार भई सक्यो। विस्तृत छानबिन गर्छौँ।’ उनले ज्ञवालीको हकमा शनिबार मात्रै उजुरी परेकाले सोमबार प्रहरी मुख्यालयलाई पत्र पठाएर अभिलख पठाउन पत्राचार गरिने बताए। अख्तियार प्रमुख राईले रातोपाटीसँग भने,‘ सक्कली विवरण लुकाएर सार्वजनिक पदमा कसैले पनि जागिर खान पाउँदैन। आयोगले छानबिन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउँछ।’

मेरो नागरिकता ठिक छ : ज्ञवाली

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) श्यामलाल ज्ञवालीले आफ्नो नागरिकतामा शंका गर्नुपर्ने कुनै आधार नरहेको स्पष्ट पारेका छन्। 

ज्ञवालीको नागरिकता अभिलेख हेर्दा जिल्ला प्रशासन कार्यालय प्यूठानबाट २०४१ चैत २१ मा जारी भएको देखिन्छ । नागरिकता जन्ममिति उल्लेख नगरे पनि १७ वर्ष भनिएको छ । तर, प्रहरी मुख्यालयले राखेको रेकर्ड र सिटरोलमा ज्ञवालीको जन्ममिति २०४१ चैत २१र शैक्षिक योग्यतामा उल्लेख भएको जन्ममिति २०२५ भदौ २६ छ । यसरी नागरिकता र प्रहरी सिटरोलमा उल्लेख भएको नम्बर हेर्दा पाँच महिना पाँच दिन फरक परेको देखिन्छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञवालीले नागरिकतामा उल्लेख भएको उमेर र प्रहरी सेवा प्रवेश गर्दाको उमेर नमिलेको भन्दै शङ्कास्पद मानेर उनी विरुद्ध उजुरी परेको छ ।  उमेर सच्याएको भन्दै उनीविरुद्ध उजुरी परेको हो । सोमबार प्रहरी मुख्यालयसँग ज्ञवालीको नागरिकताको विवरण पठाउन आयोगले पत्राचार गरिसकेको छ । 

ज्ञवाली भन्छन्, ‘मेरो प्रहरीको सिटरोल र नागरिकतामा उल्लेख भएको जन्म मिति एउटै छ । छानबिनबाट देखिने पनि त्यही हो ।’ 

प्रहरी नियमावलीमा कुनै प्रमाण पत्रमा वर्षमात्रै उल्लेख भएको र अर्को प्रमाणपत्रमा पुरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लेखित जन्ममितिहरुको बीचमा एक वर्षभित्रको अन्तर देखिएमा पुरा खुलेको जन्ममितिको आधारमा जन्ममिति कायम गरिने उल्लेख छ । 

अख्तियारले नामै तोकेर उजुरी दिएका प्रहरी अधिकृतको हकमा उनीहरूको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रबारे विस्तृत छानबिन गर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप