बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

बुधबार, १७ फागुन २०७९, २० : ४०
बुधबार, १७ फागुन २०७९

पोखरा । गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार बसेको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सम्बोधनपछि १० मिनेट सभा स्थगित भएको थियो ।

यसपछि आजै बसेको १७ औं बैठकमा सरकारले विजनेश दिन नसक्दा सभा अनिश्चितकालका लागि स्थगित भएको हो । सभामुख कृष्ण धितालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जनाए ।

प्रदेशसभाबाट फागुन १४ गते दुई वटा प्रतिस्थापन विधेयक पारित भएको थियो । ‘गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिस्थापन विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिस्थापन विधेयक’ पारित भएको थियो । उक्त विधेयक फागुन ८ गते आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले प्रदेशसभामा प्रस्तुत गरेका थिए । फागुन १० गते सामान्य छलफल र फागुन १४ गते दफावार छलफलपछि ती विधेयक पारित भयो । बुधबार भने प्रदेश प्रमुख गुरुङले सम्बोधन गरेपछि सभा अनिश्चितकालका लागि स्थगित भएको हो ।

सरकारले न्यूनतम साझा कार्यक्रम अगाडि बढाउँछ : प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संघीय शासन प्रणाली लागुपछि यो कार्यकालमा सांसदहरुका सामु सुशासन, विकास र समृद्धिको जिम्मेवारी रहेको बताए । प्रदेशसभामा सम्बोधन गर्दै उनले विगत पाँच वर्षमा गण्डकी सरकारले विकास र समृद्धिका लागि सकारात्मक प्रयास गरे पनि पूरा हुन नसकेको बताए ।

‘सुशासन, विकास र समृद्धि सम्पूर्ण जनताको साझा विषय हो । यसै तथ्यलाई मध्यनजर गरी यस अगाडिका सरकारहरुले अगाडि बढाएका आयोजना तथा कार्यक्रमहरु सम्पन्न गर्ने कार्यलाई समेत प्राथमिकता दिनुपर्छ,’ सभालाई सम्बोधन गर्दै गुरुङले भने ।

जनतालाई समयमै सुलभ तरिकाले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु गण्डकी प्रदेश सरकारको प्राथमिकताको भएको उनको भनाइ छ । उनले सरकारले स्वास्थ्य क्षेत्रमा प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक रणनीति अपनाउनेमा विश्वास गरे । प्रदेश मातहतका अस्पतालहरुको स्तरोन्नति गरी अस्पतालको सेवा प्रवाह गर्ने क्षमतामा यो सरकारको ध्यान जाने उनको भनाइ छ ।

‘कडा रोग लागेका बिरामीहरुले आर्थिक अभावमा उपचार सेवा नपाउने अवस्था अन्त्य गर्दै सबै नागरिकलाई नियमित रुपमा स्वास्थ्य जाँच गर्न प्रोत्साहन गर्नुपर्छ,’ प्रमुख गुरुङले भने, ‘घर÷घरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरी ज्येष्ठ नागरिक, गर्भवती महिला र अपांगता भएका व्यक्तिहरुको घरमै स्वास्थ्य जाँच गर्ने व्यवस्थामा यो सरकार केन्द्रित हुन्छ भन्ने मलाई लागेको छ ।’

प्रदेश प्रमुख गुरुङले सबै घरधुरीमा विद्युत सेवा विस्तार गरी ‘उज्यालो गण्डकी प्रदेश’ कार्यक्रमलाई पूर्णता दिने पनि बताएका हुन् । प्रदेश समृद्धिमा टेवा पुयाउने गरी बहुउद्देश्यीय प्रकारका जलविद्युत आयोजना सञ्चालनमा प्राथमिकता दिई काम गर्ने उनले सुनाए ।

सरकारलाई प्रदेशमा चल्ने सवारीमा विद्युतीय प्रयोगलाई बढावा दिन विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने कार्यलाई तीव्रता दिने उनले बताए । सरकारले पहिलो कार्यकालमा सुरु गरेको ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिई अधुरा खानेपानी आयोजनाको निर्माण सम्पन्न गर्ने र सम्पन्न भएका आयोजनाको दिगो व्यवस्थापन गर्ने उनको विश्वास छ ।

गण्डकी प्रदेश पर्यटनको प्रचूर सम्भावना भएको प्रदेश हो । दिगो पर्यटन विकासबाट उत्पादन र रोजगारी वृद्धि गरी प्रदेशको अर्थतन्त्र सुदृढ गर्ने लक्ष्यलाई सफलीभूत पार्न प्रदेश सरकार प्रतिबद्ध भएपछि यसलाई मुर्त रुप दिन प्रदेशलाई ‘पर्यटकीय राजधानी’ घोषणा प्रदेश सरकार गर्ने गुरुङले सुनाए ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सम्पर्क बढाइ व्यस्त विमानस्थलका रुपमा विकास गर्न र यसबाट गण्डकी प्रदेशले अधिकतम आर्थिक लाभ लिने वातावरण सिर्जना सरकारले गर्छ । यसका लागि आकर्षक पर्यटकीय सम्पदाहरु रहेका, प्रदेशका मुख्य पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्नेछ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप