शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचन

त्रिवि केन्द्रीय क्याम्पसमा एक्लाएक्लै भिड्ने विद्यार्थीको चाहना, तालमेल गर्नुपर्ने संगठनको दबाब

बिहीबार, १८ फागुन २०७९, ०९ : ४३
बिहीबार, १८ फागुन २०७९

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्दैछ । त्यसका लागि विद्यार्थी संगठनहरूले तयारीलाई तीब्रता दिएका छन् । स्ववियु निर्वाचनमा सबैको ध्यान त्रिवि केन्द्रीय क्याम्पसमा छ । त्यहाँ विद्यार्थी संगठनहरूले माहोल आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् ।

निर्वाचनको तयारीकै क्रममा विद्यार्थीसँग छलफल गर्ने, अन्तरक्रिया गर्ने, आफ्ना एजेण्डाहरूबाट विद्यार्थीहरूलाई जानकारी गराउनेजस्ता क्रियाकलाप विद्यार्थी संगठनहरूले गरिरहेका छन् ।

त्रिविमा नेविसंघको कुनै पनि कमिटी छैन । यसअघि विभिन्न समूहमा रहेर आफूलाई आधिकारिक दाबी गर्दै आएका समूहहरू विघटन गरिएको थियो । त्यसपछि कुनै पनि कमिटी क्रियाशील छैन । स्ववियु निर्वाचनका लागि नेविसंघ केन्द्रीय कार्यालयले प्रतिनिधिको रूपमा पदम भट्टराईलाई खटाएको छ ।

नेविसंघबाट स्ववियु निर्वाचनका लागि टिकट पाउन विद्यार्थी नेताहरू दौडधुप गरिरहेका छन् । उनीहरूले पार्टी सभापति शेरबहादुर देउवासम्म कुरा पु¥याएर आफूलाई टिकटका दाबेदारका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

नेविसंघबाट विष्णु बडैला, मिलन बस्नेत, राजेश कुमार श्रेष्ठ, श्यामराज ओझा, अनुज कार्की, किशोर भण्डारी र पद्मा भुसाल प्रमुख दाबेदार मानिएका छन् । ती बाहेक अन्यले पनि आकांक्षा देखाएका छन् । तर, टिकटका लागि नेविसंघ केन्द्रीय कार्यालयले नै निर्णय गर्नेछ ।

त्यस्तै अनेरास्ववियुबाट पनि प्रशान्त भण्डारी, प्रकाश विष्ट, जनक कार्की, कृतिज्ञा गौतम, दिपक सिंह, सिद्धान्त भट्ट लगायतका विद्यार्थी नेताले दाबी प्रस्तुत गर्दै आएका छन् । अनेरास्ववियुको त्रिवि क्याम्पस कमिटीले निर्णय गरेर आफ्ना उम्मेदवारको टुंगो लगाउनेछ । त्यसमा कुनै सहमति हुन नसकेको खण्डमा अनेरास्ववियुको केन्द्रीय कार्यालयले उम्मेदवारको टुंगो लगाउनेछ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट पनि विद्यार्थी नेताहरूले दाबी प्रस्तुत गर्दै आएका छन् । अखिल क्रान्तिकारीका जिल्ला कमिटीका पदाधिकारीहरूबाट दाबी प्रस्तुत भइरहेको छ । जसमा उपाध्यक्ष विपिन विक, सह–सचिवहरू दिनेश ऐर र चन्दन सुनार छन् । ती बाहेक अन्यले पनि आकांक्षा देखाएका छन् ।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूबाट पनि अध्यक्षसहितका विद्यार्थी नेताहरू आकांक्षी देखिएका छन् । अनेरास्ववियू त्रिवि जिल्ला कमिटी समिर गौतमले स्वाभाविक रूपमा दाबी प्रस्तुत गरेका छन् । उनी बाहेक अन्य उम्मेदवारको विषयमा कमिटीको बैठक बसेर टुंगो लगाउनेछ ।

विद्यार्थी संगठनहरूले विद्यार्थीहरूलाई परिचयपत्र वितरण गर्ने, उनीहरूका समस्या टिपोट गर्ने जस्ता कामलाई तीब्रता दिन थालेका छन् । त्यस्तै तालमेल गरेर अगाडि बढ्ने विषयमा समेत परामर्श अगाडि बढाएका छन् ।

केन्द्रमा नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । त्यसका लागि कार्यदल नै गठन गरेका छन् । तर, नेविसंघ र अखिल क्रान्तिकारीका नेताहरू आफ्नो बलियो सम्भावना रहेकाले तालमेल नगर्न सुझाव दिइरहेका छन् ।

नेविसंघको नेता विष्णु बडैलाले लामो समयपछि हुन लागेको चुनावमा आकांक्षी धेरै देखिनु स्वाभाविक भएको बताए । त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको राम्रो पकड रहेकाले अन्य संगठनहरूसँग तालमेल गर्नुपर्ने आवश्यकता नै नरहेको उनको भनाइ छ ।

‘१४ वर्षपछि चुनाव हुन लागेको छ । तालमेल ग¥यो भने धेरै साथीहरूको असन्तुष्टी रहन्छ । त्यसैले तालमेल नगरी चुनाव लड्नुपर्छ भनेका छौं । हेरौँ के हुन्छ !’ बडैलाले भने । य

त्यस्तै अनेरास्ववियुका नेता जनक कार्कीले त्रिविमा आफ्नो संगठनको अवस्था बलियो रहेकाले चुनाव जित्नेमा ढुक्क रहेको दाबी गरे । विश्वविद्यालयमा देखिएका विद्यमान समस्या समाधानका लागि अनेरास्ववियुले पहल गर्ने र त्यसका लागि विद्यार्थीका समस्या नै आफ्ना एजेण्डा भएको उनको भनाइ छ ।

अखिल क्रान्तिकारीका सह–सचिव दिनेश ऐरले आफ्नो संगठन विद्यार्थीसँग जोडिएर सँगसँगै हिँडिरहेकाले आफ्नो जित सुनिश्चित रहेको बताए । पहिला एजेण्डा बनाएर विद्यार्थीमाझ जाने गरेको तर, अहिले आफूहरूले कक्षा–कक्षामा गएर विद्यार्थीसँग सुझाव मागेर एजेण्डा बनाउन लागेको बताए ।

‘प्रत्येक कक्षामा गएर विद्यार्थीका समस्या के छन् ? उनीहरूले दिने सुझाव के छन् ? उनीहरूसँग नै मागेर अगाडि बढिरहेका छौं । विद्यार्थी समस्या नै हाम्रा एजेण्डा हुनेछन्,’ ऐरले भने ।

अनेरास्ववियूका त्रिवि जिल्ला अध्यक्ष समिर गौतमले त्रिविमा विगतदेखि नै विद्यमान समस्या उठान गरेर विद्यार्थीमाझ जाने बताए । ‘हाम्रा छुट्टै खालका कुनै पनि एजेण्डा हुँदैनन् । विद्यार्थीहरूले वर्षौँदेखि भोग्दै आएका समस्या, विश्वविद्यालयमा देखिएका विद्यमान समस्या नै हाम्रा समस्या हुन् । त्यही विषय हाम्रा एजेण्डा बन्नेछन् र विद्यार्थीमाझ तिनै एजेण्डा लिएर जान्छौं,’ गौतमले भने ।

अन्य विद्यार्थी संगठनहरूसँग तालमेल गरेर निर्वाचन लड्ने विषयमा केन्द्रीय कमिटीको निर्णयको आधारमा अगाडि बढिने उनको भनाइ छ ।  

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले छुट्टाछुट्टै रूपमा चुनाव लड्न खोजिरहेका छन् । केन्द्रीयस्तरमा बिहीबार भएको छलफलअनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेपाल समाजवादीका विद्यार्थी संगठन मिलेर स्ववियु चुनावमा जाने समझदारी भएको छ । तर त्रिविमा के हुने भन्नेबारे अन्योल कायमै छ । यद्यपि हाल कार्यदल  गठन गरेर गृहकार्य भइरहेको छ ।

५ हजारभन्दा बढी विद्यार्थी रहेको त्रिवि केन्द्रीय क्याम्पसमा विद्यार्थीहरूले सबै कुरामा सक्षम रहेको नेतृत्व चयन गर्नुपर्ने हुन्छ । त्यसका लागि विद्यार्थीहरूले उनीहरूका एजेण्डा, विगतमा गर्दै आएका राजनीतिक गतिविधि, नेतृत्व गर्न सक्षम व्यक्ति आदि कुरामा ध्यान दिनुपर्ने हुन्छ । वर्षौँदेखिका विद्यमान समस्या समाधान गर्न सक्षम नेतृत्व चयन गर्न सकेको खण्डमा विश्वविद्यालयसँग त्यही आधारमा प्रस्तुत हुने र समस्या समाधान गर्न सकिने विद्यार्थीहरूको बुझाई छ ।

आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक क्याम्पसमा निर्वाचन हुन गइरहेको छ । त्यस्तै सम्बन्धनप्राप्त एक हजार ४० क्याम्पसमा पनि निर्वाचन गराउन भनिएको छ । त्यसका लागि त्रिविले कार्यतालिका सार्वजनिक गरिसकेको छ । जुन कार्यतालिका फागुन १९ गतेदेखि लागू हुनेछ ।

कार्यतालिकाअनुसार फागुन १९ गते विद्यार्थी संघ÷संगठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । त्यस्तै, चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित हुन सकेको छैन । त्यसपछि २०७३ चैत १५ गते केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्रिविले अहिले सबै क्याम्पसमा निर्वाचन गराउने गरी तयारी अगाडि बढाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप