शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहसँग सहकार्य गर्दै निकुञ्जले काम गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

बिहीबार, १८ फागुन २०७९, २० : ०३
बिहीबार, १८ फागुन २०७९

हेटौँडा  । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले स्थानीय तहसँग मिलेर राष्ट्रिय निकुञ्जले काम गर्नु जरुरी रहेको बताएका छन् । उनले स्थानीय तहसँगको सहकार्य गर्दै निकुञ्जले संरक्षण लगायतका काम गर्न सुझाव दिएका हुन् ।

जिल्ला समन्वय समिति मकवानपुर एवम् डिभिजन वन कार्यालय मकवानपुर र राप्तीले बिहीबार हेटौंडामा आयोजना गरेको मानव वन्यजन्तु द्वन्द्व एवम् वन डँढेलो न्यूनीकरणसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले निकुञ्ज र सर्वसाधारणको बीचमा राम्रो सम्बन्ध हुन नसक्नु दुःखद् भएको बताए । निकुञ्जका कर्मचारीले जनप्रतिनिधिको अनुरोधलाई अटेर गर्ने गरेको गुनासो आएको भन्दै उनले स्थानीय तहसँग समन्वय गरी काम गर्न निकुञ्जका कर्मचारीहरुलाई अनुरोध गरे ।

‘वन्यजन्तुले बाँच्नको निम्ति संघर्ष गर्ने क्रममा मानिससँग द्वन्द्व भएको पाइएको छ । वन्यजन्तुलाई लघार्न खोज्दा थप दुर्घटना भएको देखिन्छ’, उनले भने, ‘विनाकारण जनावरले मान्छे मारिहाल्दैन । जनावरलाई निकास दिन जरुरी छ । वन फँडानी, आहाराको अभाव लगायतका कारणले वन्यजन्तु बाँच्नकै लागि गाउँवस्तीमा छिर्ने गरेको छ । वन्यजन्तुको संरक्षण गर्दै मानवीय क्षति रोक्नतर्फ लाग्नुपर्छ ।’ मुख्यमन्त्री जम्कट्टेलले गर्मी मौसम बढेसँगै डँडेलोको समस्या सुरु हुने भएकाले यसका लागि जनचेतना आवश्यक रहेको बताए ।

२३ वर्षमा हात्तीको आक्रमणबाट ३२२ जनाको मृत्यु
विगत २३ वर्षको अवधिमा नेपालमा हात्तीको आक्रमणबाट ३२२ जनाको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अशोक रामका अनुसार हात्तीको आक्रमणबाट २३ वर्षको अवधिमा ३२२ जनाले ज्यान गुमाएका हुन् । हात्तीले विशेषगरी अशोक कात्तिक महिनामा बढी मानिस मारेको उनले दावी गरे । यस्तै २० वर्षको अवधिमा ४७ वटा हात्ती मारिएको उनले जानकारी दिए ।

समान स्रोतको प्रयोगका कारण वन्यजन्तु र मानिसको बीचमा द्वन्द्व बढेको उनको भनाई थियो । पछिल्लो समय मकवानपुर लगायतका स्थानमा हात्तीको आक्रमणबाट मानिसको मृत्यु भएको प्रसंगमा उनले हात्तीलाई जिस्काएको र खेदेको कारण दुःखद् घटना भएको प्रतिक्रिया दिए । झापाबाट ५ वटा हात्ती आएकोमा दुईवटा फर्केको र तीनवटा भने मकवानपुर, पर्सा, सिन्धुली लगायतको क्षेत्रमा रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप