बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
अपराध

रुँदै पर्यटक प्रहरीको सम्पर्कमा पुगेपछि खुल्यो युगाण्डाकी युवतीको ‘यौनधन्दा’

आइतबार, २१ फागुन २०७९, १३ : १४
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । युगाण्डा घर भएकी २५ वर्षीया रिवाना (नाम परिवर्तन) माघ १४ मा नेपाल आइन् । काठमाडौँ आउने र एक महिनापछि फर्किने खर्च नेपालमै रहेकी युगाण्डीयन महिला इम्याकुलेट नवसुमा ‘नतासा’ ले व्यहोर्ने सम्झौता भएको थियो ।

युगाण्डामा रेजिना नाम गरेकी महिलाले नतासा र पीडितको बीचमा चिनजान गराएकी थिइन् । त्यसपछि उनीहरुबीच सामाजिक सञ्जालमा कुरा भइरहन्थ्यो । एक दिन नतासाले सोधिन्–‘एक महिनाको लागि नेपाल आऊ, क्लिनर र वेटरको काम लगाइदिन्छु ।’

रिवाना सामान्य लेखपढ गरेकी छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी अधिकारीहरूलाई उनले बताए अनुसार ६ कक्षासम्म पढेकी रिवानाको आर्थिक अवस्था नाजुक छ । उनका बुवा अर्को विवाह गरेर बसेका छन् । रिवाना आमासँग बस्छिन्, आमा किसान हुन् ।

युगाण्डामै बस्ने रेजिना र काठमाडौँमा बसिरहेकी नतासाले योजनाबद्ध रूपमा रिवानालाई काठमाडौँ बोलाएर यौनधन्दामा लगाएको थाहा भएको छ । युगाण्डाका नागरिक १ महिनाको पर्यटक भिसामा नेपाल आउने गर्छन् । पर्यटक भिसामा आएकी नतासा ठमेल स्थित होटल जर्नी होम प्रालिमा बस्थिन् । पीडित युवतीलाई पनि उनले त्यही होटलमा राखेर वेश्यावृत्ति गर्न गर्न बाध्य बनाइन् ।

२०२२ डिसेम्बर ८ मा नेपाल आएकी नतासा भिसा नवीकरण गरेर बसिरहेकी थिइन् । आफू पनि ठमेलमा यौनकर्म गरेर बस्ने नतासाले पीडित युवतीलाई पनि यौनधन्दा गर्न बाध्य बनाएको अनुसन्धानबाट थाहा भएको मानव बेचबिखन ब्युरोका एसएसपी जीवन श्रेष्ठले बताए ।

‘क्लिनर र वेटरको काम लगाइदिन्छु भनेर बोलाए पनि ठमेलमा यौनकर्म गर्न बाध्य बनाएको देखिन्छ’ एसएसपी श्रेष्ठले भने–‘आरोपीलाई हामीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’

फागुन १५ मा मानव बेचबिखन ब्युरोले नतासालाई ठमेलबाट पक्राउ गरेको थियो । पीडित युवतीलाई नतासाले दैनिक ५ जनासँग यौनसम्पर्क गर्न बाध्य बनाउने गरेको पीडितले प्रहरीलाई बताएकी छन् । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार पीडितसँग यौन सम्पर्क गर्ने ग्राहकसँग नतासाले ४ देखी ७ हजार सम्म असुल्ने गरेकी थिइन् ।

पीडितसँग आरोपीलाई चिनजान गराउने रेजिना पनि काठमाडौँ आएर युगाण्डा फर्केको थाहा भएको छ । ठमेलमा युगाण्डीयन युवतीसँग वेश्यागमन गर्ने ग्राहकहरू नेपाली र भारतीय नागरिक हुने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।  

रुँदै पर्यटक प्रहरीको सम्पर्कमा

एक महिनाको भिसामा नेपाल आएकी पीडित महिलासँग २८ फेब्रुअरीमा नेपालबाट फर्किने टिकट थियो । काठमाडौँमा ल्याउनेहरूले नै बनाइदिएको टिकटलाई उनले दुई दिनअघि फर्किने गरी सारेकी थिइन् ।  

बिरामी भएपछि पीडित चाँडै युगाण्डा फर्किन खोजिन्  । तर, आरोपी उनलाई काठमाडौँमै राखेर यौन धन्दामा लगाउन चाहन्थिन् । फागुन १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा पीडितको टिकट क्यान्सिल भैसकेको थियो । त्यसपछि उनी रुँदै पर्यटक प्रहरीकहाँ पुगिन् । पर्यटक प्रहरीले मानव बेचबिखन ब्युरोलाई घटनाबारे जानकारी गराएपछि नतासा पक्राउ परेकी हुन् ।

नतासा पीडितलाई अरू केही दिन काठमाडौँमै राखेर यौनधन्दामा लगाउन चाहन्थिन् । तर, पीडित चाँडै घर फर्किन खोजेपछि उनीहरुबीच विवाद भयो ।  

नेपाल आउन र फर्किन १५ सय डलर लाग्ने र सो पैसा कमाएर तिर्ने शर्तमा नतसाले पीडितलाई काठमाडौँ ल्याएकी थिइन् । तर, ६ सय डलर मात्रै कमाइ भएको भन्दै नतासाले उनलाई अरू थप दिन काठमाडौँमा राख्न खोजेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

नतासा हेयर ड्रेसर हुन् । पीडित युवतीलाई यौन सम्पर्क गराउन नतासाले ग्राहक खोजेर ल्याउँथिन् । ग्राहक नभेटेको दिन पीडितलाई लिएर उनी ठमेलका डिस्को र डान्समा जान्थिन् र त्यहाँ भेटिने पुरुषलाई लिएर होटलमा आउँथिन् ।

ठमेलमा युगाण्डाका अरू ३ जना महिला वेश्यावृत्तिमा संलग्न रहेको थाहा भएको छ । ती ३ जना कसरी वेश्यावृत्तिमा संलग्न भए भन्नेबारे मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको छ । नतासाले ती ३ महिला आफैँ काठमाडौँ आएको प्रहरीलाई बताएकी छिन् । १० कक्षासम्म पढेकी नतासाले ठमेलमा यौनधन्दा गरेर कत्ति पैसा कमाइन् भन्नेबारे पनि ब्युरोका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप