आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
होली

काठमाडौँका एसएसपी भन्छन्–‘जबरजस्ती लोला हान्ने र रंग दल्नेलाई पक्रिन्छौँ’

मापसे जाँचमा कडाई गरिने
सोमबार, २२ फागुन २०७९, ०८ : ०८
सोमबार, २२ फागुन २०७९

काठमाडौँ । काठमाडौँ उपत्यका सहित पहाडी जिल्लाहरूमा सोमबार होली मनाइँदै छ । उपत्यका र पहाडी जिल्लाहरूमा सार्वजनिक बिदा छ ।

काठमाडौँ प्रहरीले फागु पूर्णिमामा हुने भिडभाडपूर्ण कार्यक्रममा सुरक्षा दिने गरी सुरक्षा योजना लागु गरेको छ । होली खेल्ने नाममा जबरजस्ती लोला हान्न निषेध गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए ।

इच्छा विपरीत रंग दल्ने र लोला हानेर दुर्व्यवहार गरेको भेटिए पक्राउ गरिने एसएसपी कार्कीले बताए । उनले भने–‘इच्छा विपरीतको क्रियाकलाप बारे कसैले उजुरी गरेमा आरोपीलाई अभद्र व्यवहार मुद्दा चलाउँछौँ ।’ अबिर दल्ने कुरामा पनि जबरजस्ती गर्न नहुने कार्कीले बताए । होलीको नाममा जबरजस्ती लोला हान्नेलाई अभद्र व्यवहार  सम्बन्धी कसुरमा मुद्दा चलाउने अधिकार प्रहरीलाई छ । सो मुद्दामा १ वर्ष कैद र १० हजार सम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

काठमाडौँ जिल्लाका विभिन्न सार्वजनिक ठाउँमा होली खेल्ने कार्यक्रम आयोजना गरिएको छ । घोषित रूपमा डिजे मार्फत म्युजिक बजाउने कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले मादक पदार्थको विज्ञापन गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले संवेदनशील ठाउँमा डिजे नबजाउन भनेको छ । वसन्तपुर, माइतीघर र स्थानीय क्लबहरूले होली खेल्ने कार्यक्रम राखेका छन् । कतिपय सञ्चार गृहहरूले आफ्नो कार्यालयमा होली खेल्ने कार्यक्रम राखेका छन् ।

काठमाडौँमा आयोजित होलीका कार्यक्रममा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न करिब ५ हजार प्रहरी परिचालन गरिएको छ । लापरबाही तरिकाले चलाउने सवारी नियन्त्रण गर्न ट्राफिक प्रहरीसँगको समन्वयमा चेक प्वाइन्ट राखिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

‘होली सुरक्षामा ५ हजार प्रहरी परिचालन गरेका छौँ’ एसएसपी कार्की भन्छन्–‘हेलमेट नलगाउने र मापसे गरेर सवारी चलाएको भेटिए ट्राफिक नियम अनुसार कारबाही गर्छौँ ।’

होलीको खेल्न हिँड्दा मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिए त्यस्ता सवारीसाधन दिनभर होल्ड गर्ने र ट्राफिक नियम अनुसार कारबाही गरिने एसएसपी कार्कीले बताए ।

होलीमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने र तीव्र गतिमा सवारी चलाउनेहरू बढ्ने आँकलन गरेर चेकजाँचमा कडाइ गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप