शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा आत्मघाती आक्रमण : ९ जना प्रहरीको मृत्यु, १६ घाइते

सोमबार, २२ फागुन २०७९, १९ : २६
सोमबार, २२ फागुन २०७९

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रमा आत्मघाती आक्रमणमा परी नौ प्रहरी अधिकारीको मृत्यु भएको छ । घटनामा अन्य १६ जना घाइते भएका छन् ।

बलुचिस्तानको क्वेटाबाट करिब १२० किलोमिटर दक्षिणपूर्वमा पर्ने कछी जिल्लाको मुख्य सहर धदार नजिकै भएको उक्त घटनाको तत्काल कसैले जिम्मा लिएको छैन ।

सम्पत्तिको ठूलो हिस्साको माग गर्दै लडाकूहरूले वर्षौंदेखि गरेको विद्रोह र पाकिस्तान तालिबान (टीटीपी) को आक्रमणसँग बलुचिस्तानमा पाकिस्तानको सुरक्षा फौजले जुधिरहेको छ । 

वरिष्ठ प्रहरी अधिकारी अब्दुल है आमिरले एएफपीसँग भने, “आत्मघाती आक्रमणकारी मोटरसाइकलमा सवार थिए र ट्रकलाई पछाडिबाट ठक्कर दिएका थिए ।”

आक्रमणका कारण प्रहरीको ट्रक सडकमै उल्टो पल्टिएको र त्यसको झ्यालहरू फुटेको सामाजिक सञ्जालमार्फत बाहिरिएका तस्बिरहरूमा देखिएको छ । 

काछी जिल्लाका प्रहरी प्रमुख महमुद नोटेजाईले एएफपीलाई बताएअनुसार अधिकारीहरू एक हप्ता लामो एक प्रदर्शनीमा सुरक्षाका लागि खटिएका र आक्रमणका समय उनीहरू आफ्नो कार्यालयमा फर्किरहेका थिए । 

प्रधानमन्त्री शहबाज सरिफले आफ्नो कार्यालयद्वारा जारी विज्ञप्तिमा भनेका छन्, “बलुचिस्तानमा आतङ्कवाद देशलाई अस्थिर बनाउने घृणित कार्यसूचीको एक हिस्सा हो ।” 

पाकिस्तानले अतिव्यापी राजनीतिक, आर्थिक र वातावरणीय संकटको सामना गर्नुका साथै बिग्रँदो सुरक्षा स्थितिको सामना गरिरहेको छ । 

सन् २०२१ को अगष्टमा अफगान तालिबानले काबुल कब्जा गरेयता पाकिस्तानमा आक्रमणका घटना बढ्दै गएका छन्, जसले सीमाक्षेत्रमा रहेका लडाकू समूहलाई बढवा दिइरहेको छ ।

गत महिना टीटीपीको आत्मघाती टोलीले कराँचीको बन्दरगाह सहरस्थित प्रहरी परिसरमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको थियो । उत्तरपश्चिमी सहर पेशावरको एक प्रहरी मस्जिदमा भएको बम विस्फोटमा ८० भन्दा बढी अधिकारीको मृत्यु भएको केही हप्तापछि यो घटना भएको हो ।

इस्लामाबादको सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका विश्लेषक इम्तियाज गुलले भने, “फरक विचारधारात्मक, जातीय र राजनीतिक दृष्टिकोणका बावजुद सबै (लडाकू समूह) एउटै उद्देश्यमा बाँधिएका छन् र उनीहरूको उद्देश्य सुरक्षा बलमाथि प्रहार गर्नु र पाकिस्तानमा डर र अनिश्चितताको भावना जगाउनु रहेको छ ।”

अफगानिस्तान र इरान दुवैसँग सीमा जोडिएको बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो, कम जनसङ्ख्या भएको र गरिब प्रान्त हो । प्रचुर मात्रामा प्राकृतिक स्रोत साधन भएको यो सहरमा लामो समयदेखि स्थानीयले आफ्नो सम्पत्तिको उचित हिस्सा नपाएको भन्दै आक्रोश व्यक्त गर्दै आएका छन् । (रासस/एएफपी)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप