शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लेकसाइडमा होली खेल्ने विदेशीको प्रतिक्रिया : नेपाली सहयोगी रहेछन्

सोमबार, २२ फागुन २०७९, २० : ३६
सोमबार, २२ फागुन २०७९

पोखरा । ‘खासमा मलाई भन्नुहुन्छ भने होली नेपालभन्दा भारतमा रमाइलो लाग्छ । किनभने नेपालमा यति धेरै मान्छेले यो पर्व मनाएको देख्दिनँ । भारतमा ठुलो सङ्ख्याले होली मनाउँछन् । होली हेर्ने र खोल्ने मानिसहरुको  जमात नै हुन्छ । धेरै मान्छेले होली मनाउँदा मलाई आनन्द आउँछ । तर, पनि मेरो श्रीमती र  मैले सल्लाह गर्यौँ, यसपटक नेपाल गएर होली मनाउनुपर्छ । त्यसैले आज यहाँ छौँ,’ सोमबार पोखरा लेकसाइडमा होली मनाइरहेका फ्रान्सेली मूलका अमेरिकी जोन लिगले भने ।

पटक पटक नेपाल आउनुमा नेपालीहरूले उनीहरूलाई देखाएको  आत्मीयता हो । अघिल्लो पटक नेपाल आउँदा उनीहरूलाई नेपालीहरूले गर्ने व्यवहार र नेपालीहरूको बोलीचाली मन परेको उनी बताउँछन् ।  ३ पटक पोखरा घुमिसकेका जोन प्रत्येक वर्ष जस्तो घुम्न निस्कन्छन् । तर, नेपाल नआएको ६ वर्ष भएको थियो । उनी प्राय भारत र नेपालका विभिन्न ठाउँहरू पुगेका छन् । प्राकृतिक सुन्दरताले नेपाल मन परे पनि होली भारतमा रमाइलो हुने बताए । यसअघि कास्की आसपासका हिमालको फेदसम्म पुगेको उनको जोडी यसपटक ट्रेकिङ जाने कि नजाने उनी दोधार देखिन्छन् । दोधारकै बीच फागु पूर्णिमा अर्थात् होली मनाउन आइतबार पोखरा आइपुगेका हुन् । 

pokhara-holi (4)

मौसमले साथ दिए कास्की आसपास घुम्ने योजना बनाएका जोनको घुम्ने ठाउँको फेहरिस्त लामो छ । जस मध्य सोमबार पोखरामा फागु पुर्णिमा मनाए । ‘पटक पटक नेपाल आएको छु । यहाँ आउनुको दुई चिज छन् । हिमाल र यहाँका मान्छेहरू । यहाँबाट देखिने प्राकृतिक सुन्दरताले म मोहित छु । अघिल्लो पटक र अहिले यहाँ धेरै परिवर्तन भएछ,’ उनले भने, ‘अहिले विकासले गति लिएछ । सरसफाइमा पोखराले अझ बढी ध्यान दिएछ । यसअघि आउँदा फेवातालमा जलकुम्भी भेटिन्थ्यो । तर, अहिले अझ, आनन्द आयो ।’ 

फेवातालको किनारामा फुड ट्याक व्यवस्थित नहुँदै आफू आएको उनले बताए । पोखरा आसपासमा धेरै घुम्न र भुलाउन सक्ने जिपलाइन, केबलकार र डाँडाहरूमा रेस्टुरेन्ट बनिसकेको उनले सुनाए । ‘आज होलीमा रमाइरहँदा मैले फिल नै गरेको छैन, म स्वदेशमा छु कि विदेशमा । यसले मलाई आनन्द बनाएको छ । नेपालीहरूको विदेशीहरूलाई गर्ने व्यवहार नै मलाई मनपर्छ,’ उनले भने । 

जोनका श्रीमान् श्रीमतीमात्र हैनन्, सोमबार पोखराको लेकसाइडमा होली मनाउन स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो थियो । रंगीविरंगी रङसँगै लाउड म्युजिकमा उनीहरू झुमेका थिए । सडकका पेटीमा एकआपसमा अबिर दल्दै रमाएका स्वदेशी—विदेशी पर्यटकले सोमबार गुलजार बनाए । स्कटल्यान्डबाट पहिलो पटक नेपाल आएकी ‘जोई’ पनि पोखराको सुन्दरतासँग मोहित भइन् । १८ वर्षीय जोई ३ साथीसँग नेपाल घुम्न आएकी हुन् ।

उनलाई यसअघि होली मनाएकी थिइन् । फोटामात्र देखेकी उनले पहिलो पटक रङसँग खुसी साटेकी हुन् । ‘यो पर्व नै रंगीचंगीहरुको पर्व रैछ । यहाँबाट देखिने सुन्दरता नै मलाई मन पर्यो । अझ यहाँबाट देखिने हिमाल, ताल अझ बढी आकर्षित लाग्यो,’ उनले भनिन् । 

pokhara-holi (11)

होलीको दृश्य र वरिपरिको वातावरण साँच्चै मनमोहक र रंगीन हुन्छ ।  होलीको मुख्य काम होलिका दहन नै हो । रङ खेल्ने, पिचकारी हानेर आपसी सद्भाव  बाँडेर होली मनाइन्छ । मिठो मसिनो खाने, आफन्तसँग खुसी साट्ने साथै सेतो टिसर्ट लगाएर होली खोल्ने गर्छन् ।  

रङहरूको पर्व होलीमा विदेशी पर्यटकहरू पनि रमाएका हुन् । रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) ले पोखरामा आयोजना गरेको होली महोत्सव कार्यक्रममा स्वदेशी तथा विदेशी पर्यटकहरू रमाए । लेकसाइडमा आयोजित कार्यक्रममा करिब ५/६ सय विदेशी पर्यटकहरू सहभागी रहेको रेबानले जनाएको छ । तर, सोचे जति पर्यटक यस पटक नभएको रेवन पोखराका कार्यसमिति सदस्य वीरेन्द्र शेरचनले बताए । उनका अनुसार लेकसाइडमा होली नियमित कार्यक्रम रहेको तर, सोचे अनुरूपको पर्यटन नआएको बताए । 

pokhara-holi (1)

कोरोना भाइरसपछि पोखरा जुरमुराइसकेको छैन अर्थात् पर्यटक प्राय शून्य छ । लामो समयदेखि पर्यटक नहुँदा कतिपय व्यवसायी पनि सङ्कटमा परेका छन् । सरकारको उदासीनताले महामारीका कारण थला परेको पर्यटन क्षेत्र लयमा फर्किन सकेको छैन । कोभिड–१९ महामारीले थला परेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने सरकारी योजना प्रभावकारी हुन नसक्दा पर्यटक विगतमा भन्दा घटेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

उनीहरूको अनुसार नेपाली पर्यटनको इतिहासमा यो वर्ष धेरै सङ्ख्यामा विदेशी पर्यटक घटेका छन् । त्यसको कारण भनेको सन् २०१९ को अन्त्यतिर चीनबाट सुरु भएको नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारी र हाल पोखरा-काठमाडौँको पृथ्वी हाइवे सहज नहुनु र पोखरा प्लेन दुर्घटना रहेको  पर्यटन व्यवसायीहरू सुनाउँछन् ।

pokhara-holi (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप