बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जनकपुरका मेयर साह यस वर्षका ‘महामूर्ख’ घोषित

मङ्गलबार, २३ फागुन २०७९, १९ : २६
मङ्गलबार, २३ फागुन २०७९

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह यस वर्षको ‘महामूर्ख’ घोषित भएका छन् । प्रत्येक वर्षझैँ यस वर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा मेयर साहलाई वर्षकै ‘महामूर्ख’ घोषित गरिएको हो ।

मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । यस क्रममा एक विशिष्ट व्यक्तित्वलाई ‘महामूर्ख’को उपाधि दिने गरिन्छ ।

मंगलबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा उनलाई मिथिला नाट्य कला परिषद्ले महामूर्ख घोषणा गरेको हो ।

त्यस्तै सम्मेलनले रत्नेश्वर लाल कर्णलाई डपौरशंख, हरि मण्डललाई वैशाख नन्दन, बिभा ठाकुरलाई गंधपसारैन, अरुण लाल कर्णलाई खबसुरता, संजय झालाई लोढाशंख घोषित गरेको छ ।

यसैगरी रेखा झालाई मनटुटिया, लालबाबु यादवलाई हराशंख, बलराम साहलाई बज्रसोटा, बिरेन्द्र रमणलाई शोटाचंद, किरण झा रश्मीलाई टुनमुसरी, डा. सोनु कुमार साहलाई बज्रकीट र ऋषि धमलालाई पटमूर्खको उपाधि प्रदान गरिएको छ ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधाममा हास्य व्यङ्ग्य सांस्कृतिक कार्यक्रमसहित महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।

२०६१ सालबाट जनकपुरधाममा बर्सेनि महामूर्ख सम्मेलन आयोजना हुँदै आएको छ । २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुरले पाएका थिए । यस्तै, २०६२ मा तत्कालीन नेकपा (एमाले) का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सीके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतोलाई यो उपाधि दिइएको थियो ।

यस्तै, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानीयालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

२०७३ मा सप्तरीको मलेठमा नेकपा (एमाले)ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो । २०७४ सालमा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र २०७५ मा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो ।

त्यस्तै २०७६ मा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवं २०७८ सालमा निवर्तमान मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष तथा अर्थविद डा भोगेन्द्र झालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप