सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावना कति ?

शनिबार, २७ फागुन २०७९, १२ : १९
शनिबार, २७ फागुन २०७९

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अहिले घरेलु मैदानमा जारी त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजमा बाँकी सबै खेल जित्दै एक दिवसीय मान्यतासँगै सोझै विश्वकप छनोटमा स्थान बनाउने अवसर छ । 

त्यसको लागि नेपाली टोली तयार पनि छ । घरेलु मैदानमा भएको सिरिजको पहिलो खेलमा सहज जित निकाल्दै नेपालले आफ्नो सुखद सुरुवात गरेको छ । नेपाली टोलीले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई ५२ रनले हराएको हो । 

पहिलो खेलमा सहज जित निकालेको नेपाल सिरिजमा रहेका बाँकी खेलमा पनि जित निकाल्दै सोझै विश्वकपमा छनोट हुनेसँगै एक दिवसीय मान्यता जोगाउने उपायमा लाग्नेछ । 

नेपालले अब सिरिजमा तीन खेल खेल्न बाँकी छ । जस अन्तर्गत नेपालले आइतबार युएईसँग खेल्दैछ । एक दिवसीय मान्यता जोगाउने दबाबमा रहेको युएईमाथि जित निकाल्न नेपाललाई सहज भने छैन । 

nepal4

पीएनजीसँग लगातार चौथो पटक हारेको यूएईलाई अहिले एक दिवसीय मान्यता जोगाउने चुनौती छ । अब बाँकी दुई खेलमा जित निकाल्न नसकेमा यूएईको एक दिवसीयमा मान्यता गुम्नेछ । 

यता नेपाललाई भने विश्वकपमा सोझै छनोट हुने दबाब छ । त्यसैले दुवै टोली सहज जितको अपेक्षासँगै मैदान उत्रनेछन् । नेपाललाई आईसीसी विश्वकप लिग–२ सिरिजमा शीर्ष ३ मा रहि सोझै विश्वकप छनोट खेल्ने मौका छ । नेपाल शीर्ष ३ मा पर्न सिरिजमा बाँकी रहेका सबै खेल जित्नु पर्ने दबाब छ । 

लिग–२ को शीर्ष तीन टोलीले जिम्बावेमा हुने आईसीसी एक दिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् । त्यसैले नेपालका लागि यो सिरिजका बाँकी खेलहरु महत्त्वपूर्ण छन् । 

नेपाल अहिले लिग–२ मा ३३ खेल खेलेर ३४ अङ्कसँगै तालिकाको पाँचौँ स्थानमा छ । नेपालले बाँकी तीन खेल जितेमा तालिकाको शीर्ष तीनमा उक्लनेछ । 

लिग–२ को च्याम्पियन बन्दै स्कटल्यान्ड विश्वकप छनोटमा स्थान बनाइ सकेको छ । स्कटल्यान्डले ३६ खेलमा ५० अङ्क जोड्यो । यता दोस्रो स्थानमा रहेको ओमानले पनि ३६ खेलमा ४४ अङ्क जोड्दै विश्वकप छनोटमा स्थान बनाइसकेको छ । 

nepal3

अब विश्वकप छनोटमा स्थान बनाउनको लागि तेस्रो स्थानको नामिबिया र पाँचौँ स्थानको नेपालबीच प्रतिस्पर्धा हुनेछ । नेपाली टोलीको नतिजाले नै नामिबियाको विश्वकप छनोटमा सोझै स्थान बनाउने या नबनाउने भन्ने कुराको टुङ्गो लाग्नेछ । 

नामिबिया ३६ खेलबाट ३९ अङ्क सहित तालिकाको तेस्रो स्थानमा छ । तीन खेल कम खेलेको नेपालको ३४ अङ्क छ । अब नेपालले तीन खेलमा जित निकालेमा तेस्रो स्थानमा आउनेछ । नेपालले तीन खेलमा जित निकाल्दा ३६ खेलबाट ४० अङ्क हुनेछ । नामिबिया चौथो स्थानमा आउँदै प्लेअफ खेल्नेछ । 

335119540_779483523102712_8257340919988320807_n

यता विश्वकप छनोटको होडबाट बाहिरिएको युएईले अब बाँकी तीन खेल जित्दा ३६ खेलबाट ३७ अङ्क हुनेछ । जसबाट युएईले एक दिवसीय मान्यता मात्र जोगाउनेछ । 

त्रिवि क्रिकेट मैदानमा चलिरहेको सिरिजको दोस्रो खेल नेपालले फागुन २८ मा युएईसँग खेल्नेछ । त्यस्तै तेस्रो खेल फागुन २९ मा पीएनजीसँग खेल्दा  लिग–२ को अन्तिम खेलमा चैत २ मा युएईसँग खेल्नेछ ।

335372713_157067730540642_4999125419163948021_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप