मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अष्टलक्ष्मीले जित्ने सम्भावना छ, सबै कुरा भन्दा भत्किन्छ : अध्यक्ष ओली

मङ्गलबार, ३० फागुन २०७९, १७ : ३०
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना रहेको बताएका छन् । 

मंगलबार शाक्यलाई जिताउन आयोजित प्रशिक्षण कार्यक्रमलाई बोल्दै अध्यक्ष ओलीले १० दलको गठबन्धनले महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग नै गरिसकेको बताए । उनले भने, ‘कमरेड अष्टलक्ष्मी शाक्यलाई पार्टीले उपराष्ट्रपतिको उम्मेदवारका रूपमा उठाएको छ । ३ गते मतदान हुँदैछ । हामीले जित्ने सम्भावना छ । केही कारणहरू छन्, अहिले सबै कारणहरूको चर्चा गर्नुहुँदैन भत्किन सक्छ । सम्भावनाको खोजी अन्तिम बेलासम्म गर्ने हो ।’ 

उनले १० दलीय गठबन्धनभित्र अनेक प्रकारका समस्याहरू रहेको पनि बताए । ‘१० वटा टाउको एकै ठाउँमा रावणको हुन्छ । १० टाउके रावण । अहिलेको रावण पनि फेरि महिलाका हक अधिकार हरण गर्न लागेको देखेको छु’, ओलीले संविधानमा राष्ट्रपति उपराष्ट्रपतिबारे स्पष्ट फरक लिङ्ग हुनुपर्ने भने पनि सत्ता गठबन्धनले त्यसलाई अस्वीकार गरेको बताए । 

अध्यक्ष ओलीले नेकपा एमाले मुलुकमा सबल राष्ट्रिय शक्ति निर्माण गर्न लागे पनि विरोधीहरू त्यसलाई असफल पार्न लागिरहेको बताए । ‘हामीभित्र कुनै प्रकारका समस्या छैनन् । यसै त हामी एउटा गठबन्धनसँग या हाम्रो विपक्षी शक्तिसँग चुनाव लडिरहेका छौ । अहिलेको राष्ट्रिय राजनीति हामी एकातिर अरू अर्कोतिर भएको छ’, अध्यक्ष ओलीले यसलाई नराम्रो मान्नुपर्ने कुनै कारण नभएको बताए । ‘बहुदलीय व्यवस्थामा दशथरी दशतिर फर्किनुभन्दा दशथरी एकै ठाउँमा जम्मा भएका छन् त्यो राम्रो हो । यद्यपि एक्ला एक्लै लड्दा परिणाम बेग्लै हुन्थ्यो । तर दीर्घकालीन हिसाबले भन्ने हो भने दुई दुई विचार, उद्देश्य र पक्षको बिचमा प्रतिस्पर्धा भइरहेको छ’, ओलीको भनाइ छ ।  

‘हामी एउटा सबल राष्ट्रिय शक्ति निर्माण गर्न चाहान्छौँ, अरू थरीहरू सबल राष्ट्रिय शक्ति निर्माणको प्रयासमा गम्भीर बाधा व्यवधान पुर्याउन र त्यसलाई असफल पार्न चाहन्छन् । अहिलेको राष्ट्रिय राजनीतिको चुरो त्यति हो । सबल राष्ट्रिय शक्ति निर्माण हुन नदिनेका पछाडि को होला ?’, ओलीले प्रश्न गर्दै कुन प्रवृत्तिले काम गरेको छ भन्ने कुरा सहजै अनुमान गर्न सकिने बताए । उनले निजी स्वार्थ पुरा गर्न आफूलाई डाक बढाबढमा राखिदिने प्रवृत्ति र निजी संर्कीण स्वार्थका लागि दीर्घकालीन स्वार्थ समाप्त पार्ने प्रयासहरू भइरहेको बताए । 

‘एक जना आफूलाई कम्युनिस्ट भन्ने नेताले के भने भने प्रचण्डले मलाई प्रस्ताव गर्नुभएको थियो तर मैले मान्दै मानिन, राष्ट्रपति कांग्रेस नै हुनुपर्छ भनेर भनेँ । त्यो मेरो भनाई होइन । मति त्यो छ । राष्ट्रिय शक्ति निर्माण गर्नेसँग वैरभाव छ’, ओलीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप