शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीहरुको आन्तरिक झगडाले त्रिचन्द्र र अमृत साइन्स क्याम्पसको स्ववियु चुनाव अन्योल

बिहीबार, ०२ चैत २०७९, १४ : २७
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । त्रिचन्द्र क्याम्पस र अमृत साइन्स क्याम्पसको स्ववियु चुनाव अन्योल देखिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा चैत ५ गते स्ववियु चुनाव तोकिएपनि विद्यार्थी संगठनको आन्तरिक झगडाले चुनाव अन्योल भएको हो ।

अमृत साइन्स क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गत फागुन २८ गते ताला लगाएपछि चुनाव अन्योल भएको छ । एमाले निकट अनेरास्ववियुका उम्मेदवार कमलराज जोशी, स्ववियु सदस्य पंकज पाण्डे, गोपालजंग शाही र दिनेश सिंग्देललाई फौजदारी अभियोग लागेकाले उम्मेदवारी खोरेजी गर्न अखिल क्रान्तिकारीले माग गरेको थियो ।

तर, क्याम्पस निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार खारेज नगरेर कायमै राखेपछि अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो । लगत्तै अनेरास्ववियुले अखिल क्रान्तिकारीलाई काउन्टर दिँदै क्याम्पस प्रमुखलाई स्ववियु अध्यक्षको उम्मेदवार ६ फिट उचाइ भएको हुनुपर्ने माग राखेको छ । अखिल क्रान्तिकारीले अनावश्यक माग राखेको भन्दै त्यसलाई काउन्टर दिन स्वविय  अध्यक्ष ६ फिटको स्ववियु अध्यक्ष हुनुपर्ने माग राखेको हो ।

फौजदारी अभियोग लागेकालाई कुनै हालतमा उम्मेदवार बनाउन नहुने अखिल क्रान्तिकारीका अमृत साइन्स क्याम्पसका अध्यक्ष दीपेन्द्र भण्डारीले दाबी गरे । ‘फौजदारी अभियोग लागेका गुण्डागर्दी अराजकलाई उम्मेदवार बनाउन मिल्दैन । विद्यार्थी संख्या भन्दा मतदाता नामावली संख्या बढी बनाएको छ । ट्रान्सक्रिप्ट नआउने विद्यार्थीलाई उम्मेदवार बनायो । यो विश्वविद्यालयको निर्देशिकामा पनि मिल्दैन ’ भण्डारीले भने, ‘यी माग पुरा नहुँदासम्म तालाबन्दी खोल्दैनौं । चुनावको प्रक्रिया अघि बढ्दैन ।’ 

तर, अनेरास्ववियु अमृत साइन्स क्याम्पसका स्ववियु उम्मेदवार कमलराज जोशीले फौजदारी अभियोग लागेको व्यक्ति उम्मेदवार बन्न कसैले नरोक्ने जिकिर गरे । ‘मलाई क्याम्पसको आन्तरिक झगडामा फसाएर मुद्दा लगायो । अहिले भनिँदै छ उम्मेदवार बन्न पाइँदैन’ जोशीले भने, ‘निर्वाचन अधिकृतको कार्यालय मिल्छ भन्दै छ । विश्वविद्यालयदेखि कानुनका जानकारहरूले मिल्छ भन्दै छन् । उहाँहरू मिल्दैन भनेर अवरोध गर्दै हुनुहुन्छ ?’ चुनावमा पराजित हुने भयले तालाबन्दी गरेर चुनाव रोक्न लागेको हुन सक्ने जोशीले बताए । ‘अहिले क्रान्तिकारीमा स्ववियुको अध्यक्षमा ३ जना उम्मेदवार छन् । चुनाव जित्ने अवस्था छैन । हामीलाई लगाएको आरोप पुष्टि गर्न नसकेपछि विज्ञप्ति च्यातेर फाल्नुभयो’ जोशीले भने, ‘अहिले आएर उम्मेदवार आदी इत्यादि आरोप लगाएर ताला लगाउनु भयो । अब छिटो भन्दा छिटो ताला खोलेर चुनावी प्रक्रियामा जानुपर्छ ।’ विद्यार्थी संगठनहरुले अनावश्यक रूपमा झगडा गरेर अध्ययन गर्ने वातावरण समेत बिगारेको भन्दै जोशीले चिन्ता व्यक्त गरे ।  

यस्तै त्रिचन्द्र क्याम्पसमा समेत स्ववियु चुनाव हुने नहुनेमा अन्योल देखिएको छ । विद्यार्थी संगठनका नेताहरु समेत चुनावमा हुनेमा ढुक्क देखिएका छैनन् । त्रिचन्द्रमा चुनाव हुने छाँटकाँट नदेखिएपछि विद्यार्थी नेताहरु समेत भोट मागेका छैनन् । तर, गत बुधबार त्रिचन्द्र स्ववियु निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि विद्यार्थी संगठनका नेताहरुलाई आशा पलाएको छ । आज (बिहीबार) बेलुकादेखि १३ गतेसम्म मतदान गर्ने भन्दै नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ ।  यसअघि समेत चुनावी कार्यतालिका सार्वजनिक गरिएपनि स्थगित भएकाले चुनावमा हुनेमा ढुक्क स्थिति देखिएको छैन । 

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् त्रिचन्द्र क्याम्पसका पूर्व नेता रामचन्द्र भट्टले नेपाल विद्यार्थी संघकै कारण चुनाव नहुने स्थितिमा पुगेको आरोप लगाए । ‘यो क्याम्पसमा अहिलेसम्म नेविसंघ बाहेक अरु विद्यार्थी संगठनले चुनाव जितेका छैनन् । उनीहरु आफूहरु बाहेक अरुले चुनाव नजितोस् भन्ने चाहन्छन्’ भट्टले भने,‘अनेक बहाना बनाएर तोडफोड गर्ने चुनाव रोक्ने बहाना बनाउँछन् ।’ २०७३ सालको स्ववियु चुनाव समेत नेविसंघकै कारण हुन नसकेको भट्टले बताए । तर, नेपाल विद्यार्थी संघका त्रिचन्द्र क्याम्पसका नेता सुजित खड्काले चुनाव गराउन दबाब दिन तोडफोड गरेको जिकिर गरे । ‘हामीले चुनाव गराउन प्रेसर दिई राखेका छौं । त्यहीँ दबाब स्वरुप क्याम्पस प्रमुख सहित अरुको कार्यकक्षमा तोडफोड भयो’ खड्काले भने,‘तर, क्याम्पस प्रमुख र निर्वाचन प्रमुख चुनाव नगराएर भागेकाले समस्या भयो । उहाँहरुको खोजी गरेर चुनाव गराउने वातावरण बनाउनुपर्छ ।’

त्रिचन्द्र क्याम्पस प्रमुख प्रा।डा सुनिल अधिकारी र निर्वाचन अधिकृत राजेन्द्र गौतम चुनाव गराउन नसकिने भन्दै क्याम्पसमै आउन छोडेका छन् ।  उनीहरुले क्याम्पसमा आउने वातावरण नभएको भन्दै आफ्नो कार्यकक्षमा समेत आउन आट गरेका छैनन् । 

स्ववियु चुनाव गर्न माग गर्दै अनेरास्ववियु र अखिल क्रान्तिकारीले विज्ञप्ति जारे गरेपनि चुनाव काम भने अगाडि बढेको छैन । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप