शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

१६ वर्षसम्म पनि पूरा भएन प्याजमा अत्मनिर्भर हुने योजना

करिब डेढ करोडको बिउ आयात
बिहीबार, ०२ चैत २०७९, १४ : ४५
बिहीबार, ०२ चैत २०७९

 

डुक्पा छिरिङ मोक्तान

काठमाडौं । प्याज खेती गर्न ठुलो मेहनत गर्नु पर्दैन । घरको छतमा बोरा, गमला, ड्रम लगायत भाडामा सजिलैसँग प्याज खेती गर्न सकिन्छ । यद्यपि नेपालमा वार्षिक अर्बाैं रुपैयाँको प्याज आयात हुने गरेको छ । भारतले बेला बेलामा निर्यातमा रोक लगाउँदा नेपालमा प्याजको हाहाकार हुने गर्छ ।

नेपालमा प्याज खेतीको उपयुक्त मौसम कात्तिकदेखि वैशाखसम्म मानिन्छ । त्यसपछि साउनदेखि कात्तिकका बिचमा बेमौसमी सिजनमा पनि भारतका ८ देखि १२ राज्यका किसानले प्याज खेती गर्छन् । दैनिक भान्सामा पाक्ने तरकारीलाई स्वादिलो बनाउनका र सलादमा प्याजको बढी प्रयोग हुने गरेको छ । त्यसैले पनि प्याजको आयात र खपत बढ्दै गएको छ ।

केन्द्रीय भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो करिब साढे ६ वर्षमा सुकेको प्याज, हरियो प्याज र प्याजको बिउ गरी कुल २९ अर्ब ९३ करोड ८१ लाख ६१ हजार रुपैयाँको प्याज आयात भएको छ ।

चालु आर्थिक वर्षमा मात्रै तीन अर्ब ८० करोड ८२ लखको प्याज आयात भएको छ । सबैभन्दा बढी भारतबाट प्याज आयात हुन्छ भने त्यसपछि चाइना र अष्टे«लियाबाट आयात हुने गरेको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा चार अर्ब ८५ करोड ३७ लाख नौ हजार रुपैयाँको प्याज आयात भएको थियो भने आर्थिक वर्ष २०७८/०७९ सम्म आइपुग्दा ६ अर्ब ४५ करोड ५३ लाख ७५ हजार रुपैयाँको प्याज आयात भएको छ ।

 

tth

 

१६ वर्षमा पनि पूरा भएन प्याजमा आत्मनिर्भर कार्यक्रम

तराईदेखि मध्य पहाडसम्म प्याजको खेती गर्ने सम्भावना भए पनि किसानलाई सिँचाई, अनुदान कार्यक्रम सञ्चालन गर्न नसक्दा प्याजमा नेपाल आत्मनिर्भर हुन सकेको छैन । सरकारले आर्थिक वर्ष ०६३/०६४ मै पाँच वर्षसम्म प्याजमा आत्मनिर्भर हुने लक्ष्यसहित प्याज मिसन कार्यक्रम सञ्चालन गरेको थियो । तर १६ वर्ष बितिसक्दा पनि न नेपाल प्याजमा आत्मनिर्भर भयो, न उत्पादनको क्षेत्रफल नै बढाउन सक्यो । उल्टै आयातको परिमाण बढ्दै गएको छ ।

उत्पादन लिन लामो समय कुनुपर्ने र पहिलो तीन महिना निरन्तर सिँचाई सुविधा पु¥याउनुपर्ने कारण किसानहरू प्याजखेतीमा खासै आकर्षित हुन सकेका छैनन् । प्याज खेतीलाई प्रवर्द्धन गर्दै आएको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले हरेक वर्ष सानो स्केलमा प्याज खेती कार्यक्रम गर्दै आएको छ । केन्द्रका अनुसार नेपालमा करिब ६ लाख हेक्टर क्षेत्रफलमा प्याज खेतीको सम्भावना भए पनि अहिले ३० हजार हेक्टर क्षेत्रफलमा मात्र प्याज खेती हुने गरेको छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २० हजार तीन सय ५१ हेक्टर जमिनमा दुई लाख ८९ हजार मेट्रिन प्याज उत्पादन भएको थियो । सबैभन्दा बढी मधेस प्रदेशमा १० हजार नौ सय ३७ हेक्टर जमिनमा एक लाख ७१ जहार ६ मेट्रिक टन प्याज उत्पादन भएको थियो । काठमाडौंको कालीमाटीस्थित तरकारी बजारबाट मात्रै दैनिक ९० देखि १०० टन प्याज खपत हुने गरेको छ ।

नेपालमा प्रतिव्यक्ति वार्षिक १५.४६ केजी प्याज खपत हुने केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ । अहिले केन्द्रमार्फत देशभर करिब तीन हजार हेक्टर जमिनमा प्याज खेती हुँदा वार्षिक तीन लाख मेट्रिक टन उत्पादन हुन्छ ।

सरकारले प्याज खेतीमा सीमित स्थानीय तहमा मात्रमा अनुदान दिएकाले कार्यक्रम प्रभावकारी हुन सकेको छैन । केन्द्रले गत वर्ष तराईका १२ जिल्लाका १४ वटा स्थानीय तहमा प्याज खेतीमा अनुदान दिएको थियो । चालु आर्थिक वर्षमा पनि नेपालका विभिन्न १४ वटा स्थानीय तहमा प्याज खेती कार्यक्रम सुरु गरेको छ । तर, सरकारले कृषि क्षेत्रको बजेट रोक्का गरेकाले कार्यक्रम सञ्चालन हुन्छ कि हुँदैन भन्ने अन्योल छ । यी जिल्लामा केन्द्रले एक करोड ५१ लाख ३० हजार रुपैयाँ अनुदानमा प्याज खेती कार्यक्रम सञ्चालन गरेको छ ।

सुनसरीको हरिनगर गाउँपालिकामा १० लाख २० हजार, मोरङको धनपाल गाउँपालिका १० लाख, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा १० लाख, सिराहाको सिराहा नगरपालिकामा १० लाख, सर्लाहीको लालबन्दी नगरपालिकामा १० लाख, रौतहटको राजपुर नगरपालिकामा १० लाख, पर्साको बहुदरमाई नगरपालिका १० लाख, महोत्तरीको महोत्तरी गाउँपालिकामा एक लाख २० हजार, बाराको सुवर्ण गाउँपालिकामा एक लाख २० हजार, कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा १० लाख, अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा १० लाख, बाँकेको खजुरा गाउँपालिकामा १० लाखको प्याज उत्पादन कार्यक्रम सञ्चालन गरेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा १५ लाख ३० हजार, रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा १५ लाखको प्याजको बिउ उत्पादन कार्यक्रम सञ्चालित छ ।

स्थानीय तहमा जनशक्तिको कमीका कारण कार्यक्रम सञ्चालन गर्न गाह्रो भएको राष्ट्रिय आलु तथा मसलाबाली विकास केन्द्रका प्रवक्ता पदम प्रसाद अधिकारीले बताए । कार्यक्रम कसरी सञ्चालन गर्ने भनेर निर्देशिका ढिला आएकाले पनि समस्या भएको उनको भनाइ छ ।

अहिले झन् सरकारले बजेट नै कटौती गरिसकेकाले यस वर्ष प्याज खेती कार्यक्रम सञ्चालन हुने कि नहुने भन्ने अन्योल रहेको उनले बताए । आगामी वर्षमा कार्यक्रलाई थप प्रभावकारी बनाउनका लागि विभिन्न पालिकामा करारमा कृषि प्राविधिकहरु भर्ना र इन्टर्नमा विद्यार्थी भर्ना गर्न निर्देशिका तयार भएको उनले जानकारी दिए । त्यसले गर्दा प्राविधिक जनशक्तिको अभाव नहुने उनको भनाइ छ । उनले भने, ‘विस्तारै प्याजमा आत्मनिर्भर भइन्छ ।’

नेपालमा तीन वर्षदेखि प्याजको बिउ आयात हुने गरेको छ । विगत ४३ महिनामा ५.४ मेट्रिक टन बराबरको एक करोड ४२ लाख ९० जहार रुपैयाँको प्याजको बिउ आयात भएको छ । नेपालमा अर्जेन्टिना, चिल्ली, भारत र दक्षिण अफ्रिका लगायतका देशबाट प्याजको बिउ आयात हुने गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डुक्पा छिरिङ मोक्तान
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप