शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
स्ववियु चुनाव

अखिल क्रान्तिकारीको साथले दैलेखमा नेविसंघको ‘क्लिन स्विप’

सोमबार, ०६ चैत २०७९, ०९ : ५०
सोमबार, ०६ चैत २०७९

सुर्खेत । आइतबार दैलेखका ३ वटा क्याम्पसहरूमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्वविय) निर्वाचनमा नेपाली कांग्रेसनिकट नेविसंघले जित हात पारेको छ । बलियो शक्तिको रूपमा रहेको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वविय भने यो पटक बढारिएको छ । 

आइतबार दैलेख क्षेत्र नम्बर २ अन्तर्गतका दुल्लूको दोणाञ्चल क्याम्पस, चामुण्डाको चामुण्डा कलेज र पश्चिम क्षेत्रमा रहेको आठबिस शिक्षा क्याम्पसमा स्वविय निर्वाचन भएको थियो । ती क्याम्पसहरूमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारी र नेविसंघबीच तालमेल भएको थियो भने एमाले निकट अनेरास्ववियुले आफु अनुकूल अनेरास्ववियु (एस) र नेमकिपा निकट विद्यार्थी संगठनसँग तालमेल गरेको थियो । यद्यपि एमाले निकट अनेरास्ववियुले तिनवटै क्याम्पसमा पराजय भोग्नुपर्‍यो ।  

चामुण्डा कलेजमा नेविसंघका सुनिल कुमार शाही स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सुन्दर शाहीलाई ८ मतान्तरले पराजित गरे । निर्वाचित शाहीले १२९ मत प्राप्त गर्दा पराजित शाहीले १२१ मत प्राप्त गरे । यहाँ अनेरास्ववियुले नेमकिपा निकट विद्यार्थी नेपाल क्रान्तिकारी विद्यार्थी संघसँग तालमेल गरेको थियो । 

यस्तै सोही विद्यार्थी संघसँग तालमेल गरेको आठबिस शिक्षा क्याम्पसमा पनि अनेरास्ववियु झिनो मतान्तरले पराजित भएको छ । यस्तै द्रोणाञ्चल बहुमुखी क्याम्पस दुल्लुमा नेविसंघका प्रकाश थापा विजयी भएका छन् । उनले अनेरास्ववियुका मदन थापालाई १३ मतान्तरले पराजित गरे । यहाँ अनेरास्ववियु– अनेरास्ववियू (एस) तथा नेविसंघ –अखिल क्रान्तिकारीबीच तालमेल थियो । यसअघि यो क्याम्पसमा अनेरास्ववियुले नेतृत्व गरेको थियो । 

एमालेको बलियो गढ मानिने दैलेखका तीनवटै क्याम्पसमा एमाले बढारिनुको पछाडि नेविसंघलाई अखिल क्रान्तिकारीको साथ रहेको एमाले नेताहरूको बुझाइ छ । यद्यपि समानुपातिकमा अनेरास्ववियु नै बलियो रहेको उनीहरूको दाबी छ ।  क्षेत्र नम्बर १ का नारायण क्याम्पस र कोटदेवल क्याम्पस अवलपराजुलमा निर्वाचन हुन सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप