शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचन

रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन गराउन आन्तरिक तयारीमा जुटे विद्यार्थी संगठन

सोमबार, ०६ चैत २०७९, १३ : ०७
सोमबार, ०६ चैत २०७९

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन गराउन बाँकी रहेका कलेजहरूलाई चैत १२ गतेको अन्तिम म्याण्डेड दिएको छ । चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुने भएकाले त्यो अगावै स्ववियु निर्वाचन गराउन त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले निर्देशन गरेका हुन् । त्रिविका देशभरका ६२ वटा आंगिक मध्ये १७ क्याम्पसमा निर्वाचन रोकिएको थियो । काठमाडौं उपत्यकाका २२ वटा मध्ये ८ वटा आंगिक क्याम्पसमा निर्वाचन हुन बाँकी छ भने उपत्यका बाहिरका ४० वटा आंगिक मध्ये ९ वटामा निर्वाचन रोकिएको छ । 

उपत्यकाभित्रका आर्युवेद क्याम्पस, त्रिचन्द्र क्याम्पस, पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल कमर्स क्याम्पस मीन भवन, विश्वभाषा क्याम्पस र रत्नराज्यलक्ष्मी क्याम्पस निर्वाचन रोकिएको छ । 

त्यस्तै उपत्यका बाहिरका पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ, सिद्धनाथ साइन्स क्याम्पस लगायतमा निर्वाचन प्रक्रिया रोकिएको छ । 

यी क्याम्पसहरूमा अविलम्ब निर्वाचन गराउनको लागि विद्यार्थी संगठनहरू आन्तरिक तयारीमा जुटेका छन् । अधिकांश ठाउँमा आन्तरिक विवादका कारण निर्वाचन हुन सकेको नसकेको हो भने केहीमा अदालतको आदेशका कारण चुनाव रोकिएको छ । 

अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले रोकिएका क्याम्पसहरूमा चैत १० गतेभित्र नै चुनाव गराउने गरी छलफलमा जुटेको बताए । 

‘हाम्रो संगठनका अध्यक्ष ज्यूलाई अन्य संगठनका अध्यक्षहरूसँग कुरा गर्नुहोस् भनेका छौं । आज साँझसम्ममा केही न केही कुरा हुन्छ होला,’ उनले भने ।  

नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली लगायतसँग छलफल गरेर अगाडि बढ्ने तयारी भइरहेको उनले बताए । 

अन्य संगठनहरूले समेत बाँकी रहेका कलेजहरू निर्वाचन गराउनका लागि छलफल अगाडि बढाएका छन् । १० गतेभित्र चुनाव गर्न नसकिएको खण्डमा बाँकी रहेका कलेजहरूमा चुनाव हुन नसक्ने उनको भनाइ छ । 

उपत्यकाभित्र र बाहिरका क्याम्पसहरूमा देखिएका विवाद समाधानका लागि संगठनका शीर्ष नेताहरूबीच छलफल गरेपछि मात्र अगाडि बढ्न सकिने अवस्था छ । 

परीक्षा अगावै निर्वाचन गर्न सकिए मात्र हुने नत्र त्यसपछि बाँकी रहेको कलेजमा असम्भव जस्तै देखिएको उनको भनाइ छ । 

विद्यार्थी संगठनहरूले विवभन्न माग राखेर कलेजहरूमा तालाबन्दी गरेका छन् । उनीहरूको तालाबन्दीका कारण तोकिएको मितिमा निर्वाचन हुन सकेन । 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले विवाद देखिएका कलेजहरूको समस्या समाधान गराउन जिम्मेवारी विद्यार्थी संगठनहरूकै रहेको बताए । 

‘उनीहरू आपसमा मिलेर छलफल गरेर समस्या समाधान गरून भन्ने हाम्रो चाहना हो । समस्या पनि उनीहरूकै कारण भएको हो । समाधान पनि उनीरूबाटै हुनुपर्छ,’ अधिकारीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप