बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ७ जना कोरोना सङ्क्रमित

बुधबार, ०८ चैत २०७९, २१ : ०२
बुधबार, ०८ चैत २०७९

दिपायल । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले गौरीफन्टा नाकाबाट भित्रिनेहरूको नमूना परीक्षण गर्दा सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाएको छ । 

यो नाकाबाट पछिल्लो २४ घण्टामा तीनसय नागरिक भित्रिएकामा शङ्कास्पद एकसय १६ जनाको एन्टिजेन विधिबाट नमूना परीक्षण गरिएको जनाइएको छ । सुदूरपश्चिमका गौरीफन्टा नाकाबाट तीन सय, गड्डाचौकी नाकाबाट दुई सय २०, जुलाघाट नाकाबाट ५५ र पुलघाट (दार्चुला) नाकाबाट २५ नागरिक भित्रिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । नाकाबाट भित्रिनेमध्ये तीन सय ३३ को नमूना परीक्षण गरिएको थियो ।

सीमा नाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’ मार्फत नेपाल भित्रिनेहरूको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमूना जाँच गर्ने गरिएको छ । प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता शून्य रहेकोमा पछिल्ला केही दिनदेखि सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोनाको सङ्क्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ । 

निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले भारतमा कोरोनाको सङ्क्रमण दर बढेसँगै नेपालमा पनि सङ्क्रमण देखिन थालेको बताए । “सम्बन्धित स्थानीय निकायसँग समन्वय गरेर सङ्क्रमितलाई एक हप्तासम्म आइसोलेसनमा राख्न सल्लाह दिएर पठाउने गरेका छौँ”, उनले भने ।

रोगको रोकथामका लागि सबै जिल्लामा कोरोना भाइरस विरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्था मार्फत लगाउन थालिएको छ । सरकारले कोभिड—१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको तीन महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागिएको जनाएको छ ।

स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ५५ वर्षमाथिका सबै नागरिकलाई बुस्टर खोप लगाउन मिल्ने जनाइएको छ । कोरोनाको सङ्क्रमण भएकाहरूले सङ्क्रमणमुक्त भएको एक महिनापछि यो बुस्टर डोज लिन मिल्ने जनाइएको छ ।  

कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूरपश्चिममा ६ लाख ४१ हजार आठसय ४४ को नमूना परीक्षण भइसकेको छ । यीमध्ये ६१ हजार नौ सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप