शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
अवरुद्ध क्याम्पसमा स्ववियु निर्वाचन कहिले ?

विद्यार्थी संगठन स्वार्थ केन्द्रित राजनीतिमा, निरन्तरका बैठक निष्कर्षविहीन

तीन वटा विद्यार्थी संगठनका अध्यक्षले विज्ञप्ति निकाले भोलि नै निर्वाचन हुनसक्छः त्रिवि
बिहीबार, ०९ चैत २०७९, १४ : २६
बिहीबार, ०९ चैत २०७९

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका केही आंगिक क्याम्पसहरूमा चैत ५ गते स्ववियु निर्वाचन हुन सकेन । उपत्यकाका ७ वटा क्याम्पसमा चुनाव हुन नसकेको हो ।  त्यस्तै उपत्यकाका बाहिरका ९ वटा आंगिक क्याम्पसमा पनि चुनाव हुन सकेको छैन । तालाबन्दीका कारण ती क्याम्पसहरूमा निर्वाचन हुन नसकेको हो । 

निर्वाचन हुन नसकेका उपत्यकाका आंगिक क्याम्पसहरूमा आयुर्वेद क्याम्पस, त्रिचन्द्र क्याम्पस, पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल कमर्स क्याम्पस मीनभवन, विश्व भाषा क्याम्पस र रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस रहेका छन् ।  त्यस्तै उपत्यका बाहिर डोटीको डोटी क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, पोखरा क्याम्पस (वन), पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस, चितवनको वीरेन्द्र क्याम्पस, चितवन इन्जिनियरिङ क्याम्पस रामपुर, कृषि क्याम्पस रामपुर खैरानी र बागलुङको धवलागिरि क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ । 

तीमध्ये पोखराको पोखरा बन क्याम्पसमा चैत १२ गते, कीर्तिपुरमा रहेको आयुर्वेद क्याम्पस र कृषि क्याम्पस चितवनमा चैत १७ गते र धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा चैत १८ गते निर्वाचन हुनेछ । 

ती क्याम्पसहरूमा निर्वाचनको प्रक्रिया समेत अगाडि बढिसकेको छ । तीबाहेक पोखराको पृथ्वीनारायण क्याम्पस र नर्सिङ क्याम्पस क्याम्पसमा अदालतका कारण अनिश्चित बनेको छ । 

ती दुवै क्याम्पसहरूमा उच्च अदालतले तत्काल निर्वाचन प्रक्रिया स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ । यस अदालतको फैसला नहुँदासम्म निर्वाचन प्रक्रिया अगाडि बढ्ने सक्ने अवस्था छैन । 

ठाकुरराम बहुमुखी क्याम्पस, रामपुर कृषि क्याम्पस, धौलागिरि बहुमुखी क्याम्पस, डोटी बहुमुखी क्याम्पस, सिद्धनाथ विज्ञान क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्व भाषा क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा नेविसंघले ताला लगाएको छ ।

त्यस्तै वीरेन्द्र बहुमुखी क्याम्पस, चितवन इन्जिनियरिङ क्याम्पस र अमृत साइन्स क्याम्पसमा अखिल (क्रान्तिकारी) ले ताला लगाएको छ । त्यस्तै त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले र आरआरमा अनेरास्ववियूले ताला लगाएको छ ।  

नेपाल कमर्स क्याम्पस मीनभवनमा क्याम्पस प्रशासनको कारण निर्वाचन रोकिएको छ । क्याम्पस प्रशासनले निर्वाचन प्रक्रिया नै अगाडि बढाउन सकेको छैन । 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले तीन वटा विद्यार्थी संगठनका अध्यक्षले सहमति गरियो भनेर एक विज्ञप्ति निकाल्ने विक्तिकै निर्वाचन हुने बताए । 

‘नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्षहरूले एक विज्ञप्ति मात्र निकालिदिने हो भने भोलि नै निर्वाचन हुन्छ । अनेक माग राखेर तालाबन्दी गर्ने अनि निर्वाचन भएन भनेर हिँड्न पाइन्छ ?’ उनले प्रश्न गरे । 

उपत्यका बाहिरका क्याम्पसहरूमा त्यति धेरै समस्या देखिएको छैन । विद्यार्थी संगठनहरूले उपत्यकाभित्रका क्याम्पसलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । जसले गर्दा अनावश्यक मागहरू राखेर विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका हुन् । 

उनीहरूको माग भनेको फर्जी विद्यार्थी भर्ना गरिएको, कुनै एक संगठनको पक्षपोषण हुने गरी निर्वाचन अधिकृतले काम गरेको जस्तो आरोप लगाउँदै त्यसमा कारबाही हुनुपर्ने भन्ने छ । 

तर, भित्री कुरा हेर्दा सम्बन्धित क्याम्पसमा आफ्नो जनधार कमजोर देखिएपछि उनीहरूले निर्वाचन नहोस् भन्नका लागि तालाबन्दी गरेको देखिन्छ । त्यो कलेजमा अर्को विद्यार्थी संगठनले जित्ने आधार देखिएपछि वा अर्को संगठनको राम्रो जनधार देखिएपछि कमजोर जनधार देखिएको संगठनले तालाबन्दी गरेको देखिन्छ । 

संगठनबीचको छलफल निष्कर्षविहीन

स्थगित भएका कलेजहरूमा निर्वाचन गराउने विषयमा विद्यार्थी संगठनहरूबीच छलफल भइरहेको छ । तर, छलफलले सार्थकता पाउन सकेको छैन । 

हिजो नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनका नेताहरूले बागबजारमा रहेको हार्दिक होटेलमा छलफल गरेका थिए । तर, सबै संगठन आ–आफ्नै अडानका कारण कुनै निष्कर्ष निस्कन सकेन ।

आज पनि विद्यार्थी संगठनहरू बसेर छलफल गर्ने कार्यक्रम रहेको छ । अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको बताए । 

‘हाम्रा मागहरूलाई थाती राखेर बाँकी रहेका कलेजहरूमा निर्वाचन गराऊँ भनेर कुरा भयो । तर, सबैले आफ्नो अडान यथावत् राखेपछि कुनै निर्णय हुन सकेन,’ उनले भने । 

पार्टीका केन्द्रीय नेताहरूमार्फत पनि छलफल र सहमतिको विषयमा कुरा भइरहेको घर्तीको भनाइ छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले क्याम्पस कमिटीबाट सहमति भएको खण्डमा निर्वाचन गराउन कुनै समस्या नहुने बताए । ‘तल सहमति भएको छैन । क्याम्पस कमिटीमा सहमति भयो भने हामीलाई कुनै समस्या नै छैन । संगठनहरूबीच छलफल भइरहेको छ । केही न केही निकास निस्किन्छ होला,’ उनले भने । 

निर्वाचन हुन नसकेका क्याम्पसहरूलाई त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत १२ गतेभित्र निर्वाचन सम्पन्न गराउन निर्देशन दिइसकेको छ । सरोकारवाला पक्षसँगको आपसी समझदारी गरेर निर्वाचन गराउन क्याम्पसहरूलाई निर्देशन दिएको थियो । 

त्यस्तै त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले समेत निर्वाचन गराउन निर्देशन दिएका थिए । 

त्रिविको उक्त निर्देशन पश्चात् मंगलबार आरआर क्याम्पसले विद्यार्थी संगठनहरुलाई ताला खोलेर छलफलमा आउन अनुरोध गर्दै विज्ञप्ति जारी गरेको थियो । आरआरका प्राध्यापकहरूको समन्वयमा विद्यार्थी संगठनहरूसँग मंगलबार छलफल समेत भएको थियो । तर, निष्कर्षविहिन बनेको अनेरास्ववियु आरआरका नेता तथा स्ववियु सचिवका उम्मेदवार दिलिप खड्काले जानकारी दिए । 

आज पनि क्याम्पस प्रशासनले नै सबै विद्यार्थी संगठनहरूसँग छलफलको लागि बोलाएको छ । आरआरमा अनेरास्ववियू, नेविसंघ र अखिल क्रान्तिकारीले तालाबन्दी गरेका छन् । 

उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आएका छन् । त्यस्तै अमृत साइन्समा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । अमृतमा निर्वाचन गराउने वातावरण नभएको भन्दै निर्वाचन अधिकृतले राजीनामा दिएका थिए । त्यसपछि निर्वाचन समितिले पीताम्बर श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरेको थियो । तर, अखिल क्रान्तिकारीले विभिन्न माग राखेर निर्वाचन अधिकृतको कार्यालयसँगै प्रशासनमा समेत ताला लगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप