शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

१७ करोडको कोकिन : जलनको उपचार खर्च पाउने लोभमा अफ्रिका यात्रा

तस्करीमा संलग्न दुई भारतीय महिला पक्राउ
बिहीबार, १६ चैत २०७९, १७ : १८
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । भारतको आसाम घर भएकी ५६ वर्षीया भनल्वामी फागुन १४ मा कोकिन सहित पक्राउ परिन् । अफ्रिकाबाट काठमाडौँ ल्याएको २ किलो ८८७ ग्राम कोकिन भारत लैजान लागेको अवस्थामा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी विकाश राज खनालले रातोपाटीलाई बताए ।

ब्यूरोले भनल्वामी र भारतको मोजोरम घर भएकी २९ वर्षीया ईस्थर ललिम्पुईलाई  पनि पक्राउ गरेको छ । उनीहरुले अफ्रिकाको गिनी र बेनिनबाट ल्याएको ७ किलो ८८७ ग्राम कोकिन बरामद गरिएको एसएसपी खनालले जानकारी दिए । बरामद कोकिनको बजार मूल्य १७ करोड ३ लाख ५९ हजार पर्ने आकलन गरिएको छ ।  

भनल्वामी खाना पकाउने ग्यास विस्फोट हुँदा घाइते भएकी थिइन् । अहिले उनको शरीरको जलन नियमित उपचार गर्नुपर्छ । डिभोर्सी उनका दुई जना बच्चा छन् । कोकिन कारोबारीले उनलाई प्रस्ताव गरे, ‘अफ्रिका गएर मैले भनेको सामान ल्याइदिनू, जलनको उपचार खर्च दिन्छु ।’

त्यसपछि भनल्वामी चैत २ मा इथियोपिया हुँदै अफ्रिका गइन् । अफ्रिकाको गिनीबाट कोकिन लिएर उनी मोरक्को र कतारको दोहा हुँदै काठमाडौँ आएकी हुन् । ठमेलस्थित एक होटलमा बसेर चैत १४ मा इन्डिगो एयरलाइन्स मार्फत दिल्ली उड्न लागेको अवस्थामा पक्राउ परिन् । प्रहरीसँग उनले भनेकी छन्, ‘पैसा खाँचो भएर अफ्रिका गएँ ।’

Narcotics 12.16 (2079) .. (1)

भारतको मोजरम घर भएकी इस्थर ललिम्पुई कपडा पसलमा काम गर्थिन् । कोकिन कारोबारीले उनलाई पश्चिम अफ्रिकन मुलुक बेनिनमा पुगेर सामान ल्याए १ लाख भारतीय रुपैयाँ दिने प्रस्ताव गरे । सो प्रस्ताव मानेर उनी चैत ८ मा भारतबाट बेनिन लागेकी थिइन् । बेनिनबाट मोरक्को र कतारको दोहा हुँदै उनी काठमाडौँ आइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिन लिएर ठमेल पुगेपछि उनलाई ब्युरोको टोलीले पक्राउ गरेको छ । ठमेलस्थित एउटा होटेलबाट उनलाई पक्राउ गरिएको एसएसपी खनालले बताए ।

१ सय ग्राम भन्दा धेरै कोकिन कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैद गर्ने कानुनी व्यवस्था छ । कानुन अनुसार उनीहरूलाई २५ लाखसम्म जरिवाना हुन्छ ।

आरोपीहरूले नेपालको बाटो किन प्रयोग गरे भन्नबोरे अनुसन्धान भइरहेको एसएसपी खनालले बताए । उनी भन्छन्, ‘दोहाबाट जाने विमानका यात्रुलाई दिल्लीमा विशेष निगरानी हुने कारणले पनि उनीहरू नेपालमा आएको हुनसक्छ ।’

आरोपीहरु यसअघि पनि नेपाल आएका थिए । उनीहरुले यसअघि घुम्न आएको प्रहरीलाई बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप