सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६ फाइनल

यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजा

आइतबार, ०३ साउन २०८३, १८ : १९
आइतबार, ०३ साउन २०८३

सारांश

  • विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीच सोमबार राति प्रतिस्पर्धा हुनेछ ।
  • फाइनलको नतिजा मुख्य व्यक्तिगत प्रतिस्पर्धा, दुई फरक फुटबल दर्शनको भिडन्त, मेस्सीको जादु, मिडफिल्डको निर्णायक युद्ध र पुस्ता हस्तान्तरण जस्ता पाँच प्रमुख पक्षले निर्धारण गर्नेछ ।
  • यो फाइनल विश्वकप उपाधिका लागि मात्र नभई विश्व फुटबलको एक युग समाप्त भई अर्को युग सुरु हुने ऐतिहासिक क्षण पनि बन्न सक्छ ।

एजेन्सी । युरोपियन च्याम्पियन स्पेन र वर्तमान विश्वविजेता अर्जेन्टिना सोमबार राति हुने फिफा विश्वकप २०२६ को फाइनलमा आमनेसामने हुँदैछन् । कोपा अमेरिका विजेता अलबिसेलेटे आफ्नो जर्सीमा चौथो तारा थप्ने लक्ष्यमा छ भने ला रोजा दोस्रो पटक विश्वकप जित्ने अभियानका साथ मैदान उत्रनेछ । 

यि टोलीबिचको फाइनलको नतिजा निर्धारण गर्न सक्ने पाँच प्रमुख पक्ष यस्ता छन्ः 

१. मुख्य व्यक्तिगत प्रतिस्पर्धा

स्पेनका युवा स्टार लामिन यामाल र अर्जेन्टिनाका लेफ्ट–ब्याक निकोलास टालियाफिकोबिचको प्रतिस्पर्धा खेलको महत्त्वपूर्ण आकर्षण बन्न सक्छ । चोटका कारण प्रतियोगिताको सुरुआत अपेक्षाकृत सुस्त रहे पनि यामाल अहिले उत्कृष्ट लयमा फर्कँदै छन् । 

अर्कोतर्फ, स्पेनका डिफेन्डर एमेरिक लापोर्टे र पाउ कुबार्सीले लियोनेल मेस्सीलाई रोक्ने कठिन जिम्मेवारी पाउनेछन् । पछिल्ला खेलहरूमा मेस्सी मार्किङबाट उम्किन बारम्बार मिडफिल्डतर्फ झर्ने शैली अपनाइरहेका छन्, जसले उनलाई नियन्त्रण गर्न अझ कठिन बनाएको छ ।

यस्तै, स्पेनका पाँच गोलसहितका शीर्ष गोलकर्ता मिकेल ओयारजाबालको सामना अर्जेन्टिनाका केन्द्रीय डिफेन्डर क्रिस्टियन रोमेरो र लिसान्द्रो मार्टिनेजसँग हुनेछ । 

२. दुई फरक फुटबल दर्शनको भिडन्त

फाइनल दुई फरक खेल शैलीबिचको संघर्ष पनि हुनेछ । स्पेनले बलमाथिको नियन्त्रण, अनुशासित रक्षापङ्क्ति र बल गुमाएलगत्तै आक्रामक प्रेसिङ गर्दै विपक्षीलाई दबाबमा राख्ने शैलीबाट फाइनल यात्रा तय गरेको छ । प्रतियोगिताभर उसले केवल एक गोल मात्र बेहोरेको छ । सेमिफाइनलमा फ्रान्सलाई हराउँदा किलियन एमबाप्पेलाई गोल गर्ने अवसरसमेत नदिनु यसको उत्कृष्ट उदाहरण थियो । 

यसको विपरीत, अर्जेन्टिनाले तीव्र आक्रमण, प्रतिआक्रमण र दबाबका क्षणमा पनि आत्मविश्वास कायम राख्दै सफलता हासिल गरेको छ । प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने टोली बनेको अर्जेन्टिनाले सात गोल पनि खाएको छ । अतिरिक्त समयमा पुगेका दुई कठिन खेल र पछिल्लो समयमा पुनरागमन गर्दै जित निकालेको अनुभवका कारण टोलीको मनोबल पनि उच्च देखिएको छ । 

३. मेस्सीको जादु

प्रतियोगिताको अन्तिम चरणमा मेस्सीको भूमिका गोलकर्ता भन्दा पनि मुख्य अवसर सिर्जना गर्ने खेलाडीका रूपमा बढी देखिएको छ । इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा उनले अर्जेन्टिनाका दुवै गोलका लागि अवसर सिर्जना गरेका थिए भने अन्तिम १६ मा इजिप्टविरुद्धको पुनरागमन जितमा पनि उनको योगदान निर्णायक थियो । 

स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेका लागि सबैभन्दा ठूलो चुनौती मेस्सीलाई खाली स्थान नदिनु नै हुनेछ । स्पेनको सघन रक्षात्मक संरचना र तीव्र प्रेसिङले मेस्सीलाई सहज हुने क्षेत्रमा ‘निशेधाज्ञा’ लगाउन सक्षम मानिन्छ । 

अर्कोतर्फ, अर्जेन्टिनाले स्पेनको प्रेसिङलाई माथिसम्म तानेर पछाडिको खाली स्थानमा आफ्ना तीव्र गतिका विंगर र आक्रमणकारीलाई प्रयोग गर्ने रणनीति अपनाउन सक्छ । 

४. मिडफिल्डको निर्णायक युद्ध

फाइनलको सबैभन्दा महत्त्वपूर्ण प्रतिस्पर्धा मिडफिल्डमा हुन सक्छ । स्पेनका रोड्रीले अर्जेन्टिनाका एन्जो फर्नान्डेज र एलेक्सिस म्याक एलिस्टरको प्रभाव कम गर्ने जिम्मेवारी पाउनेछन् । खेलको गति नियन्त्रण गर्ने, बल पुनः प्राप्त गर्ने र छिटो पास वितरण गर्ने रोड्रीको क्षमताले स्पेनलाई प्रतियोगिताभर मजबुत बनाएको छ । 

त्यसैगरि, अर्जेन्टिनाका फर्नान्डेजले अन्तिम तेस्रो भागमा लगातार प्रभाव पारेका छन् भने म्याक एलिस्टर गोल गर्ने उच्च क्षमताका साथ आक्रमणमा सक्रिय छन् । उनीहरूलाई रोड्रिगो डे पाउल र लिएन्ड्रो पारेडेसको शारीरिक क्षमताले साथ दिएको छ । यसको विपरीत स्पेनका रोड्री र फाबियान रुइज प्राविधिक रूपमा निकै सशक्त खेलाडी हुन् । 

५. एउटा पुस्ताबाट अर्को पुस्तामा नेतृत्व हस्तान्तरण

यो फाइनलको सबैभन्दा भावनात्मक पक्ष ३९ वर्षीय लियोनेल मेस्सी र १९ वर्षीय लामिन यामालबिचको पहिलो अन्तर्राष्ट्रिय भेट हुनेछ । बाल्यकालमा मेस्सीले शिशु यामाललाई काखमा लिएको तस्वीर केही वर्षअघि भाइरल बनेपछि यी दुईबिच विशेष सम्बन्धको चर्चा हुँदै आएको छ । 

यदि स्पेनले उपाधि जित्यो भने यसलाई फुटबलमा नयाँ पुस्ताको उदय र मेस्सीबाट यामालतर्फ विश्व फुटबलको नेतृत्व हस्तान्तरण भएको क्षणका रूपमा पनि हेरिनेछ । ह्यामस्ट्रिङ चोटका कारण प्रतियोगिताको सुरुआत कठिन बने पनि यामाल नकआउट चरणमा उत्कृष्ट लयमा फर्किएका छन् । सेमिफाइनलमा फ्रान्सविरुद्ध उनले पेनाल्टी जिताएर खेलको दिशा बदलेका थिए । र, यामाल अहिले स्पेनका सबैभन्दा खतरनाक आक्रमणकारीमध्ये एक बनेका छन् । 

त्यसैले सोमबारको फाइनल केवल विश्वकपको उपाधिका लागि मात्र होइन, विश्व फुटबलको एउटा युग समाप्त हुँदै अर्को युग सुरु हुने ऐतिहासिक क्षणका रूपमा पनि स्मरणीय बन्न सक्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप