बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गा प्रसाईको दाबी : ओलीको सल्लाहमा ज्ञानेन्द्रलाई बोलाएँ, पारससँग फोनमा कुरा गराएँ

बिहीबार, २३ चैत २०७९, २२ : ४०
बिहीबार, २३ चैत २०७९

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) घोषित रूपमै नेपालमा संवैधानिक राजतन्त्र फर्काउने अभियानमा छ । राप्रपाको त्यो अभियान भन्दा आक्रामक ढङ्गले पछिल्लो समय दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान पनि राजा फर्काउन अभियानमा थपिएको छ । 

उनै प्रसाईले बुधबार झापाको दमकमा आयोजित कार्यक्रममा केही नयाँ र गम्भीर खुलासा गरेका छन् । उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि संवैधानिक राजतन्त्र ल्याउने पक्षमा रहेको दाबी गरेका हुन् । 

 प्रसाईले त्यति मात्रै भनेनन्, केपी शर्मा ओलीले आफू हिन्दु राष्ट्र  स्थापना र संघीयता खारेज गर्ने पक्षमा रहेको बताउने गरेको दाबी पनि गरे । ओलीसँगको सल्लाहमै झापाको मेची पुलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ल्याएर कार्यक्रम गरिएको पनि प्रसाईको दाबी  छ ।

उनले आफ्नै मोबाइलबाट ओली र पूर्वयुवराज पारस शाहको कुरा गराएको पनि जिकिर गरे । 

‘केपी ओलीज्यूकै सल्लाहमा मैले राजा ज्ञानेन्द्रलाई मेची पुलमा ल्याएको हो,आज मैले दमकमा आएर सत्य कुरा गर्नुपर्छ । मेरै फोनबाट पारस सरकारसँग कुरा भएको हो केपी ओलीज्यूको । त्यो पनि मैले सत्य बोल्नैपर्छ । म पनि आउँछु त्यहाँ भन्नुभएको थियो’, उनको भनाइ थियो । 

प्रसाईले अगाडि भने, ‘मैले पनि होला भन्ने लागेर राजालाई बोलाइहालेँ । राजा पनि आउने हुनुभयो । सबै गरेपछि अहिले राजा नल्याऊ न नाति भन्नुभयो । मेरो पनि इज्जतको कुरा हो नि । म पनि कुमाई परिवारकै मान्छे हो । आठराईको पानी खा'को । अनि फर्किने कुरा भएन । अहिले दमकमा आएर यो दुःखको कुरा भन्नु परेको छ । मेरा हजुरबुबालाई भन्नुपर्छ ।’

प्रसाईले मेची पुलमा पूर्व राजा आएकै दिन एमाले अध्यक्ष ओली पनि झापा आएको स्मरण गरे । ‘राजा मेची जाँदा हजुरबा पनि दमक त आउनु भएकै हो नि ! तर कसोकसो गर्दा उहाँ कार्यक्रममा आउनु भएन । त्यसपछि हिक्मत कार्की, थापा दाजुभाइले दुर्गा प्रसाईलाई कारबाही गर्नुपर्छ भनेर दबाब दिएछन् । त्यो थाहा पाउने वित्तिकै मैले हजुरबुबालाई तपाईको झोला चाहिँदैन भनेर केन्द्रीय सदस्य छोडेको हुँ,’ उनले भने ।

ओलीकै गृहनगरमा झन्डै १ घण्टा भाषण गरेका प्रसाईले ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेसका सभापति शेरबहादुर देउवालगायतको मात्रै आलोचना गरेनन्, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ‘दलाल’ भन्नसमेत भ्याए । उनले  गभर्नर अधिकारीकै कारण देश टाट पल्टिँदै गएको दाबी गरे । 

अर्को प्रसंगमा प्रसाईले प्रदेशको नाम किराँत–लिम्बुवान राज्य बीचमा मिलाएर खस राज्य बनाउँदा हुने पनि बताए । ‘मेरो त संघीयतै खारेज गर्नुपर्छ भन्ने हो । यदि सकिँदेन भने किराँत–लिम्बुवान राज्य बीचमा मिलाएर खस राज्य बनाउँदा हुँदैन ? सकेसम्म हामी मिलेर बाँच्न पाए भएन ?,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप