मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
विदेश भ्रमण

कहाँ अल्झियो प्रधानमन्त्रीको भारत भ्रमण ?

सोमबार, २७ चैत २०७९, २३ : ३२
सोमबार, २७ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को पहिलो राजकीय विदेश भ्रमणका रूपमा भारत जाने तयारी तीव्र रूपमा हुँदैछ । 

अर्को छिमेकी देश चीनले बोआओ फोरम एसिया सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरेको थियो । बोआओ फोरममा प्रचण्डले सहभागी हुन नसक्ने जानकारी गराएपछि पहिलो विदेश भ्रमण भारत हुन लागेको हो ।

प्रधानमन्त्री प्रचण्ड वैशाख पहिलो साता भारत भ्रमण जाने तयारी गरेका थिए । तर सरकारले पूर्णता पाउन ढिला भएपछि विदेश भ्रमणको मिति अझै अन्योल रहेको छ । नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई नबुझाएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।  

‘प्रधानमन्त्रीज्यूको विदेश भ्रमण भारतै हुने हो । अहिलेसम्म कहिले जाने मिति फिक्स भने एको छैन,’ प्रधानमन्त्री सचिवालयको एक सदस्यले भने, ‘मन्त्रिपरिषद्ले पूर्णता पाएपछि दुई देशको आपसी समझदारीमा भारत भ्रमणको टुङ्गो लाग्छ ।’

प्रचण्डले गत ३१ असारमा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीको हैसियतमा भारतको औपचारिक भ्रमण गरेका थिए । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा गएका उनले नड्डासँगै भारतीय विदेशमन्त्री डा.एस जयशंकर, भारतीय विदेशसचिव विनयमोहन क्वात्रालगायतका अधिकारीसँग भेटवार्ता गरेका थिए । 

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण जाने भएपछि परराष्ट्र मन्त्रालयले तयारी थालिसकेको छ । प्रचण्डको भारत भ्रमणको अवसरमा उठाउने एजेन्डाका विषयमा परराष्ट्र मन्त्रालयले गृह कार्य गरिरहेको । 

‘प्रधानमन्त्री ज्यूको भारत भ्रमणको मिति फिक्स भएको छैन । त्यसैले कुन कुन एजेन्डामा केन्द्रित भई छलफल गर्ने भन्ने विषयमा मसिनो गरी गृह कार्य हुन पाएको छैन’ प्रधानमन्त्री सचिवालयका ती सदस्यले भने,‘परराष्ट्र मन्त्रालय केही विषयवस्तुमा केन्द्रित भई तयारी थालेको छ । अरू आवश्यक थप गरेर गृह कार्य गरिने छ ।’ 

प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएपछि ड्राफ्ट गरेर प्रधानमन्त्री कार्यालयले तयारी थाल्ने ती सचिवालय सदस्यले बताए । प्रचण्डको भारत भ्रमणमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा सहजीकरण, टिंकर नाका सञ्चालन, विद्युत् व्यापार लगायत विषयमा गृह कार्य थालिएको छ । 

नेपाल भारत सन्धि सम्झौता लगायत विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री प्रचण्डबीच छलफल हुने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप