बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीको अत्तरियामा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

मङ्गलबार, २८ चैत २०७९, २० : ०४
मङ्गलबार, २८ चैत २०७९

कैलाली । कैलालीको अत्तरियास्थित मालाखेती अस्पतालका चिकित्सकको लापरबाहीले नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयवासीले गरेको प्रदर्शनपछि आज अत्तरिया क्षेत्र तनावग्रस्त रह्यो ।

मृतक पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र लापरबाही गर्ने चिकित्सक र स्टाफ नर्समाथि कारबाहीको माग गर्दै गरिएको प्रदर्शनका क्रममा मंगलबार पूर्वपश्चिम राजमार्गको अत्तरिया सडकखण्ड अवरुद्ध पार्ने प्रयास गरिएपछि प्रहरीले बल प्रयोग गरी सडक सञ्चालनमा ल्याएको थियो । 

यस क्रममा प्रहरी टोलीमाथि ढुङ्गामुढा प्रहार भएपछि स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गर्नुका साथै केही राउण्ड अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

प्रसूति सेवाका लागि मालाखेती अस्पताल पुगेकी गोदावरी नगरपालिका–२ की २८ वर्षीया लक्ष्मी भट्टराईको नवजात शिशुसहित आइतबार मृत्यु भएको थियो । घटनालगत्तैबाट स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् । मृतक लक्ष्मी र नवजात शिशुको शव आज दोस्रो दिनसम्म उठेको छैन । पीडित पक्ष, अस्पताल प्रशासन र गोदावरी नगरपालिकाबीच समस्या समाधानका लागि छलफल जारी रहेको छ ।

अस्पतालसँग यसअघि आइतबार पनि भएको छलफल पछि पनि आफ्ना माग पूरा नगरेकाले पीडित पक्षले शव उठाउन मानेको छैन । छलफलका क्रममा छानबिन समिति गठन गर्ने भए पनि समिति गठन गर्न पहल नभएको भन्दै पीडित पक्षले शव उठाउन नमानेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप