बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

मन्त्री छनोटका लागि शेखर–गगन समूहको बैठक बालुवाटारमा

बिहीबार, ३० चैत २०७९, १० : २८
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । आफ्नो समूहका मन्त्रीको नाम टुंग्याउन कांग्रेसको शेखर कोइराला–गगन थापा समूहको बैठक बसिरहेको छ । नेता शेखर कोइरालाको सम्पर्क कार्यालय, बालुवाटारमा बिहानदेखि बैठक चलिरहेको छ ।

तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने शेखर–गगन समूहको तयारी छ । कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुन बाँकी छ । 

चैत १७ मा मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन् ।

देउवाले सोही दिन शेखर कोइरालाको मनसाय बुझेर उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए । तर, गुरुङ र लिम्बुलाई मात्र मन्त्री बनाउने देउवाको सङ्केत पाएपछि महामन्त्री गगन थापासहितका नेताले ३ मन्त्रालय नलिई सरकारमा जान नहुने अडान राखे ।

शेखर–गगन समूहले तीन मन्त्री पाउनुपर्ने अडान राखेर नाम नदिएपछि देउवाले आफू पक्षीय २ जनाको शपथ पनि रोकिदिएका थिए । अहिले प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छ  । 

जसपाको भागमा परेको वन तथा वातावरण र जनमतका अब्दुल खानले राजीनामा दिएपछि खानेपानी मन्त्रालय पनि नेतृत्वविहीन अवस्थामा छ । यता शेखर–गगन समूहले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपाउने अडान लिएपछि कांग्रेस सभापति देउवा पनि दबाबमा छन् । आफ्नो पक्षबाट नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने देउवाको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप