मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

निरीक्षणपछि प्रधानमन्त्रीले भने – द्रुतमार्गको निर्माण कार्य द्रुतगतिमा भइरहेको पायौँ

मङ्गलबार, ०५ वैशाख २०८०, १४ : ११
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ-निजगढ द्रुतमार्गको निर्माण कार्य द्रुतगतिले अगाडि बढिरहेको बताएका छन् ।

काठमाडौँ-निजगढ द्रुत मार्गको निरीक्षणपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले काम राम्रै भएको महसुस भएको बताए । उनले भने, ‘हामी निरीक्षणमा आएका छौँ । प्रत्यक्ष हेर्दा काम राम्रै भएको महसुस ग-यौँ। टनेलभित्र गएर पनि  हे-यौँ । ठुलो टनेलहरू बन्दै छन् । हिजो मात्र काठमाडौँमा ब्रिफिङ भएको थियो । कोभिडका कारण दुई ढाइ वर्ष काम खेर गएको छ । त्यसलाई मेन्टेन गर्न केही समस्या भएकै हो । अब द्रुतमार्ग अब द्रुतगतिमै निर्माण हुने प्रक्रियामा रहेको हामीले महसुस गरेका छौँ ।’ 

द्रुतमार्गसँग सम्बन्धित कतिपय निर्णयहरू आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुने प्रधानमन्त्री प्रचण्डले बताए । उनले द्रुतमार्गका निम्ति जरुरी पर्ने ऐलानी जग्गा सँग सम्बन्धित र अन्य कुरामा निर्णय गरेर सरकारले सहजीकरण गर्ने बताए ।

‘फास्ट ट्र्याक निर्माणको जिम्मा कसलाई दिने भन्ने देशमा ठुलो बहस थियो । त्यति बेला पनि म प्रधानमन्त्रीको जिम्मेवारीमा थिएँ । मैले राष्ट्रको भावना, जनताको चाहना र मनोविज्ञानको कदर गर्दै नेपाली सेनालाई दिने निर्णय गरेको थिएँ । यसको शिलान्यास पनि निजगढमा मैले नै गरेको थिएँ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

आज निर्माण प्रक्रियाले तीव्रता लिँदै गर्दा यसको अवलोकन गर्दा गर्वको महसुस भएको प्रधानमन्त्री प्रचण्डले बताए । ‘फास्ट ट्र्याकले तीव्र गतिमा निर्माण हुँदै गर्दा हामी सबै उपप्रधान तथा रक्षा मन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री लगायतको सिङ्गो टिमलाई गर्वको महसुस भएको छ । काम द्रुत गतिमा भइरहेको  देख्यौँ । नेपाली सेना र निर्माण कम्पनीलाई धन्यवाद भन्न चाहन्छौँ,’ उनले भने । 

७२ किलोमिटर लम्बाइको काठमाडौँ-निजगढ द्रुतमार्गमा अहिले ४६ किलोमिटरमा ठेक्का लागेर काम भइरहेको छ । ४६ किलोमिटरमा पनि ३७ किलोमिटरमा काम चलिरहेको छ । १३ किलोमिटर बाटोको डिजाइन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप