शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

कोशी प्रदेश सरकार ‘सर्वदलीय’ बनाउन आह्वान, कति सम्भव ?

मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकार बनाउन गरेको आह्वानमा कांग्रेस र माओवादी सहमत
मङ्गलबार, ०५ वैशाख २०८०, १७ : ०१
मङ्गलबार, ०५ वैशाख २०८०

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएको एक सय दिन पुगेको छ । सय दिनका उपलब्धि सार्वजनिक गर्ने क्रममा मुख्यमन्त्री कार्कीले भने, ‘मेरो प्रयास अब सर्वदलीय सरकार बनाउन हुनेछ, सबै दललाई म आह्वान गर्न चाहन्छु ।’

कार्कीले कोशी प्रदेशमा प्राप्त जनमत र दलहरुको अवस्थाले गर्दा सोचेर कदम नचालेको खण्डमा मध्यावधिमा जानसक्ने संकेत पनि गरे । ‘यहाँको अवस्था एकदमै तरल छ, सहमतिमा नजाने हो भने प्रदेश मध्यावधिमा जानसक्ने खतरा पनि छ, त्यही भएको हुनाले संघमा के भयो, त्यता नगई यहाँ हामी सबै मिलेर प्रदेशलाई समृद्ध र विकसित बनाऔं,’ कार्कीले भने ।

कार्कीको सो भनाइ सकारात्मक रहेको नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताएका छन् । ‘प्रदेशको अवस्था जटिलतातिर गइरहेको मलाई पनि थाहा छ, यस्तै अवस्था हो भने मध्यावधिमा जाने, प्रदेश खारेज गर भन्नेहरुलाई बल पुग्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न,’ थापाले भने, ‘त्यही भएर उहाँले मनैदेखि यो कुरा भन्नुभएको हो भने दलहरुबीच छलफल गरौं र सहमतिमा जाऔं ।’

यद्यपि थापाले मुख्यमन्त्रीले कुन सन्दर्भमा सहमतिको कुरा गरेको हो भन्ने विषयमा अझै अध्ययन गर्नुपर्ने बताए ।

उता, माओवादी केन्द्रका सांसद राजेन्द्र कार्कीले पनि कोशी प्रदेशमा मध्यावधिमा लगेर प्रतिक्रान्तिको केन्द्र बनाउने प्रयास सुरु भइरहेको बेलामा मुख्यमन्त्रीबाट आएको यस्तो कुरा सकारात्मक रहेको प्रतिक्रिया दिए । ‘यो उहाँले भनेको कुरा एकदमै सकारात्मक छ, यहाँ विभिन्न खालका खेल भइरहेका छन्, प्रतिक्रान्तिका कदमहरु चालिएका छन्, पूर्वराजादेखि राप्रपाका गतिविधि र दुर्गा प्रसाईहरुले गरिरहेको कुरालाई हामीले गम्भीरतापूर्वक लिएर मिल्नुको विकल्प छैन,’ कार्कीले भने ।

दलहरूबीचको क्रस सम्वाद बाक्लिँदै

कोशी प्रदेश सरकार विस्तार गर्ने कि पुनर्गठन गर्ने भन्ने विषयमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुको क्रस सम्वाद बाक्लिँदै गएको छ । केही दिन अगाडि कोशी प्रदेशका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका संसदीय नेताहरुले शीर्ष नेतालाई भेटेर त्यसका लागि सहमति दिन माग गरेका थिए ।

शीर्ष नेताबाट ठोस जवाफ नआएपछि उनीहरुले प्रदेशस्तरमा नयाँ कोणबाट पनि छलफल चलाउन सुरु गरेका छन् । झण्डै एक हप्ता अगाडि कांग्रेसका नेता उद्धव थापा, माओवादीका इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका थिए । भेटका क्रममा आफूहरुले वर्तमान सरकारमा रहेको नेकपा माओवादी र जसपाका मन्त्रीले सरकार छोड्ने विषयमा कुराकानी गरेको नेकपा एकीकृत समाजवादीका नेता राईले पुष्टि गरेका थिए ।

‘सायद चार पाँच दिनभित्र नयाँ सरकार बनाउने प्रक्रियाको आरम्भ गर्छौं,’ भेटबारे पत्रकारलाई जानकारी दिँदै गत चैत ३० गते राईले भनेका थिए ।

अविश्वासको प्रस्तावबाट जाँदा भन्दा सरकार ढाल्न साविक मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुले राजीनामा दिने र दलले समर्थन फिर्ता लिँदा नै छिटो र सहज बाटो हुने भन्दै उनले यस विषयमा शीर्ष नेताहरुको सहमति माग गरेको बताए ।

राप्रपालाई पनि नयाँ सत्ता समीकरणमा ल्याउन पहल भइरहेको समेत उनले बताएका थिए । तर, नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा इतर पक्षले राप्रपाका सांसद भक्ति सिटौलालाई मुख्यमन्त्री बनाएर भए पनि एमाले नेतृत्वको सरकार ढाल्ने कसरत सुरु गरेपछि सहमतिको खेल सुरु भएको हो ।

‘राप्रपाका नेता भक्ति सिटौलाले मुख्यमन्त्री बन्ने लविङ तीब्र पारिरहेका छन्,’ उच्च स्रोतले भन्यो, ‘प्रतिक्रान्तिकारीहरुलाई प्रदेशको नेतृत्व दिनुभन्दा वर्तमान कार्की नेतृत्वकै सरकार टिकाएर जानु फाइदा देखिन्छ ।’

कोशी प्रदेशमा नेपाली कांग्रेसका २९, माओवादी (सभामुख सहित) १३, नेकपा एकीकृत समाजवादी ४ र जसपाका १ सांसद छन् । बहुमतका लागि कम्तीमा ४७ सांसद चाहिन्छ । चार दलका सांसद जोड्दा ठिक्क ४७ मात्रै पुग्छ ।

केही दिन अगाडिसम्म कांग्रेस र माओवादीका सांसदहरुले सभामुखले मत दिन पाउने बताउँदै आएका थिए । हाललाई उक्त कुरा गर्न उनीहरुले छोडेका छन् । स्रोतले दिएको जानकारी अनुसार माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग कोशी प्रदेशका नेताहरुले गरेको भेटको बेला सभामुखले भोट हाल्न नपाउने निष्कर्ष निस्किएको थियो ।

त्यसपछि सरकार नै गठन हुन नसक्ने र राप्रपाले आफैं मुख्यमन्त्रीमा पहल गर्न कोसिस गरेपछि संघकै गठबन्धनले कोशी प्रदेशमा सरकार बनाउने नदेखिएको एक नेता बताउँछन् ।

कांग्रेसकै हिमाल कार्की नेतृत्वको टोलीले शेरबहादुर देउवालाई भेटेर एमाले र कांग्रेसको सरकार बनाउने विकल्प दिएको पनि बताइएको छ । यद्यपि देउवाले उक्त प्रस्ताव अस्वीकार गरेको बताइन्छ । कतैबाट पनि कोशी प्रदेश सरकार नयाँ बन्न नसक्ने अवस्था सिर्जना हुँदै गर्दा मुख्यमन्त्री कार्कीले फालेको सर्वदलीय कार्ड नै अन्तिममा कामयावी हुनसक्ने कतिपय नेता दाबी गर्छन् ।

उता, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल केही दिन अगाडि विराटनगर आएका थिए । सो अवसरमा संघका गठबन्धन नेताहरुले भेट गरेर सरकारका बारेमा छलफल गरेका थिए । ‘भेटमा नेपालले जसरी भए पनि एमाले नेतृत्व परिवर्तन गर्न भनेका थिए,’ भेटमा सहभागी एक नेताले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप