सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
भन्सार विभागको तथ्यांक

प्रतिबन्ध खुलेको ४ महिनापछि वैदेशिक व्यापारले लय समात्दै

नेपालको कूल व्यापार घाटा रू १० खर्ब ८३ अर्ब
बुधबार, ०६ वैशाख २०८०, २२ : २४
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । आयात प्रतिबन्धले प्रभावित बनेको वैदेशिक व्यापार  लयमा फर्किन थालेको भन्सार विभागले जनाएको छ । सरकारले बढ्दो आयात नियन्त्रण गर्न र विदेशी मुद्राको सञ्चिति घटाउने लक्ष्यसहित २०७८ वैशाख १३ गतेदेखि आयात प्रतिबन्ध गरेको थियो ।

आयात प्रतिबन्धले राजश्व संकलनको लक्ष्य नै प्रभावित बनेपछि सरकारले २०७८  पुस महिनादेखि आयात प्रतिबन्ध खुलाएको थियो । आयात प्रतिबन्ध फुकुवा भएको ४ महिनापछि  वैदेशिक व्यापार लयमा फर्किन थालेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८–७९ को ९ महिनाको तथ्यांकअनुसार १२ खर्ब १ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । जबकि, गत आर्थिक वर्षको यही अवधिमा १४ खर्ब ६६ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।

पुसमा फुकुवा भएको आयात प्रतिबन्धको प्रभाव देखिएको चैत महिनामा मात्रै १ खर्ब ४३ अर्ब १२ करोड रुपैयाँको आयात भएको छ । आयात प्रतिबन्ध गर्ने सरकारको निर्णयसँगै नेपाल राष्ट्र बैंकले समेत एलसीमा गरेको कडाइ सहज बनाएको थियो ।

आयातकर्ताले उक्त सूचना पाउनसाथ विदेशबाट आयातको प्रक्रिया अघि बढाउँदा पनि नेपालमा सामान आइपुग्न कम्तीमा ३ महिना लाग्छ । वस्तु आयातका लागि बैङ्क ग्यारेन्टी (एलसी) खोलेको ३ महिनापछि भन्सार बिन्दुमा वस्तु आइपुग्ने गरेको भन्सार विभागका निर्देशक तथा प्रवक्ता पुण्यबहादुर खड्काले जानकारी दिए ।

सरकारको राजश्व लक्ष्य प्रभावित बनेर तलब नै खुवाउन समस्या पर्न थालेपछि प्रतिबन्ध लागेका सबै वस्तुको आयात खुलेको थियो । फागुन महिनासम्मको अवधिमा विदेशबाट १० खर्ब ५८ अर्ब ३८ करोडको वस्तु आयात भएको थियो । आयात प्रतिबन्ध फुकुवा गर्ने सरकारी निर्णयको प्रभाव देखिएको चैतमा सबैभन्दा धेरै आयात भएको हो । चैत महिनामा भएको आयात वर्षकै सबैभन्दा धेरै हो ।

यस्तै, चालू वर्षको यो अवधिमा नेपालबाट विदेशतर्फ १ खर्ब १८ अर्ब रुपैयाँ निर्यात भएको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २६.२४ प्रतिशतले कम हो । गत वर्षको ९ महिनाको अवधिमा नेपालबाट १ खर्ब ६० अर्ब रुपैयाँको वस्तु निर्यात भएको थियो ।

आयात बढेसँगै वैदेशिक व्यापार समेत बढ्न थालेको छ । ९ महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ छ । गत वर्षको यही अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ थियो । जुन, यो वर्षको तुलनामा १७ प्रतिशतले बढी थियो ।

आयातमा आधारित नेपालको अर्थतन्त्रमा यति बेला तलब खुवाउनै समस्या पर्न थालेको छ । चालू वर्षको यो अवधिमा सरकारको आम्दानी र खर्चको हिसाब खाता डेढ खर्बले घाटा छ । खास गरी, आयात प्रतिबन्धले आयात घटेसँगै राजश्व सङ्कलनको लक्ष्य प्रभावित बनेको थियो ।

सरकारले वैशाख १३ गतेदेखि डिजेल र पेट्रोलबाट चल्ने चार पाङ्ग्रे सवारी साधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, महँगा स्मार्टफोन, तास, विदेशी मदिरा, चुरोट, कुरकुरे/कुरमुरे/लेज र खेलौनाको आयात रोकेको थियो । यी वस्तु नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीमा पर्छन् । चालु आर्थिक वर्षमा डिजेल गाडीको आयात ९० प्रतिशतभन्दा धेरैले खुम्चिएको र यसबाट उठ्ने करसमेत ९० प्रतिशतभन्दा धेरैले खुम्चिएको अर्थ मन्त्रालयको तथ्याङ्क छ । यो सबै प्रतिबन्ध पुस महिनादेखि लागू हुने गरी हटाएको थियो ।

भारतसँग सबैभन्दा धेरै व्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा भारतसँग मात्र नेपालले रू छ खर्ब ७० अर्ब ७६ करोड बराबरको व्यापार घाटा व्यहोरेको छ ।  यो अवधिमा नेपालले भारतबाट रू सात खर्ब ५३ अर्ब ७५ करोड बराबरको वस्तु आयात गर्दा रू ८२ अर्ब ९८ करोड ५३ लाख बराबरको निर्यात गरेको देखिएको हो ।
     
 चीनसँग यही अवधिमा नेपालले रू एक खर्ब ६१ अर्ब ८१ करोड बराबरको व्यापार घाटा बेहोरेको छ । चैत मसान्तसम्ममा नेपालले चीनबाट रू एक खर्ब ६२ अर्ब ४४ करोड ८४ लाख बराबरको वस्तु आयात गर्दा रू ६३ करोड ६८ लाख बराबरको मात्रै निर्यात गरेको देखिएको हो ।

संयुक्त अरब इमिरेट्स (युएई) मा अवधिमा नेपालले युएईबाट रू २५ अर्ब ९१ करोड १२ लाख बराबरको वस्तु आयात गर्दा रू ४२ करोड ७० लाख बराबर मात्रै निर्यात गरेको छ । त्यस्तै चैत मसान्तसम्ममा नेपालले अमेरिकाबाट रू १४ अर्ब ४७ करोड ७५ लाख बराबरको वस्तु आयात गरेको छ भने रू १३ अर्ब ९० करोड ९५ लाख बराबरको निर्यात गरेको छ ।

९ महिना अवधिमा नेपालले सबैभन्दा धेरै रू एक खर्ब १२ अर्ब ४० करोड बराबरको डिजेल र रू ४९ अर्ब ७४ करोड ७२ लाख बराबरको पेट्रोल आयात गरेको छ । रू ४४ अर्ब ८४ करोड बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।

नेपालले बढी आयात गरेको वस्तुमा फलामजन्य वस्तु चौथो स्थानमा छ । चैत मसान्तसम्ममा रू ३० अर्ब ६३ करोड बराबरको फलामजन्य वस्तु आयात भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप