शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
अर्थ

अब १० करोडसम्मको विदेशी लगानीका उद्योग अनलाइनबाटै दर्ता गर्न सकिने

बिहीबार, ०७ वैशाख २०८०, १७ : ३४
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । १० करोडसम्मको विदेशी लगानीका उद्योग अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ । उद्योग विभागले कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरू स्वचालित मार्ग (अटोमेटिक रुट) बाट प्रदान गर्न सक्ने व्यवस्था जनाएको हो ।  

चालू आव २०७९/०८० को बजेट वक्तव्यको बुँदा नं. ६६ मा रु. १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइने उल्लेख छ ।  यसअघि भौतिक फाइलमार्फत मात्र विदेशी लगानी स्वीकृत गर्ने गरिएको थियो ।

आगामी आर्थिक वर्ष २०७९ श्रावण १ गतेदेखि अनलाइन प्रणालीमार्फत विदेशी लगानी स्वीकृत गर्ने कार्य प्रारम्भ गरिएको विभागले जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै विभागले सम्पूर्ण सेवालाई अटोमेसन गर्नेगरी तयारी गरिरहेको जनाएको हो ।  

विभागले प्रशासनिक सुधार गर्न मानवीय संलग्नता विना स्वचालित प्रणालीबाट विदेशी लगानी स्वीकृत हुने व्यवस्था गर्ने जनाएको छ । यसका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ संशोधनको गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने तयारी भइरहेको विभागले जनाएको छ । 

यस्तै विभागले विदेशी लगानीकर्ताले शत प्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्तरुपमा लगानी गर्न चाहेमा स्वीकृतिको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतबाट हुने जनाएको छ । विभागका अनुसार २ करोडदेखि १० करोडसम्मका  परियोजनाका प्रस्तावित उद्योगहरूमा यस प्रणालीमार्फत् विदेशी लगानी गर्न सकिने छ । यो प्रणाली भारत, बङ्गलादेशलगायतमा पनि लागू भएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप