आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विश्व स्वास्थ्य सङ्गठनद्वारा भारतको अर्को एउटा खोकीको औषधीबारे चेतावनी जारी

बुधबार, १३ वैशाख २०८०, १६ : ३१
बुधबार, १३ वैशाख २०८०

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले भारतको अर्को एउटा खोकीको औषधीमाथि चेतावनी जारी गरेको छ । डब्ल्युएचओका अनुसार मार्सल आइल्याण्ड र माइक्रोनेशियामा भारतीय कम्पनीको खोकीको दूषित औषधीको एक खेप भेटिएको छ ।

डब्ल्युएचओले पन्जाबस्थित क्युपी फार्माकेम लिमिटेडको गुइफेनेसिन टिजी सिरपको परीक्षणको नमुनामा ‘डायथिलिन ग्लाइकल र एथिलिन ग्लाइकलको आवश्यकताभन्दा बढी मात्रा’ पाइएको जानकारी दिएको छ ।

यी दुवै तत्त्व मानिसका लागि विषालु हुन्छन् र यसको सेवन घातकसमेत हुनसक्ने बताइएको छ । यद्यपि, डब्ल्युएचओले यसको सेवनले कोही बिरामी भएका छन् कि छैनन् भनेर जानकारी भने दिएको छैन ।

यसअघि डब्ल्युएचओले भारतमा बनेको खोकीको औषधीलाई गाम्बिया र उज्बेकिस्तानमा बालबालिकाको मृत्युसँग जोडेको थियो ।

क्युपी फार्माकेमका प्रबन्ध निर्देशक सुधीर पाठकले बीबीसीसँगको कुराकानीमा कम्पनीले सबै आवश्यक नियामकसँग अनुमति लिएपछि कम्बोडियालाई १८,३४६ बोतलको ब्याच निर्यात गरेको जानकारी दिए ।

सुधीरले यो उत्पादन मार्सल आइल्याण्ड र माइक्रोनेशिया कसरी पुग्यो भन्नेबारे आफूलाई थाहा नभएको बताए । 

उनले भने, ‘हामीले यी बोतल प्रशान्त क्षेत्रमा पठाएका छैनौँ र यो सिरप त्यहाँ प्रयोग गर्नका लागि प्रमाणित थिएनन् । यी बोतल कुन परिस्थितिमा मार्सल द्वीप र माइक्रोनेशिया पुगे, हामीलाई थाहा छैन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप