सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

कान्छो राजनीतिक दलको सफलता हामीले उठाएको मुद्दाको परिणाम हो : राजेन्द्र लिङ्देन

'हामी तटस्थ बस्ने हो भने कोशी प्रदेशमा मध्यावधि निर्वाचन हुन्छ'
शुक्रबार, १५ वैशाख २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन हालै सम्पन्न उपनिर्वाचनमा आफ्नो पार्टीले अत्यन्त न्यून मत पाए पनि ‘सकारात्मक’ रुपमै आफूले लिएको बताउँछन् । उनी आफ्नो पार्टीका उम्मेदवारले मत पाउन नसके पनि राप्रपाले उठाएकै एजेण्डाको पक्षमा मतदाताले मत प्रकट गरेको तर्क गर्दछन् ।

राप्रपाको आगामी यात्रा चुनौतीपूर्ण रहे पनि तिनै चुनौतीका बीच अवसरहरु पनि रहेको भन्दै उनले पार्टीको भविष्यमा कुनै किसिमको संकट नआउने दाबी गर्दछन् । उपनिर्वाचन, समयसामयिक राजनीतिक अवस्था र राप्रपाको आगामी यात्राका विषयमा केन्द्रित रहेर रातोपाटी टीभीका लागि रोहित दाहालले अध्यक्ष लिङ्देनसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–  

उपचुनाव भर्खरै सम्पन्न भयो, जमानत जफतमात्र होइन कि तीन वटा निर्वाचन क्षेत्रमा ७१२ मतमात्र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले प्राप्त गरे । यस्तो लज्जास्पद पराजय किन भोग्यो राप्रपाले ?

प्रारम्भदेखि नै यो चुनावलाई खासै महत्त्व दिएका थिएनौँ । पहिलो निर्वाचनमा पनि त्यहाँ हाम्रो राम्रो उपस्थिति थिएन । समीक्षा गर्दाखेरी यो गणितले, निर्वाचनमा आउने परिणामले खास सङ्घीय संरचनामा फरक पनि पार्दैन । त्यसैले यसलाई महत्त्व दिइराख्नु पर्दैन भन्ने ढङ्गले नै स्थानीय स्तरमा हामीले उम्मेदवारहरू उठाउन भनेर जिल्लाहरूलाई जिम्मा दिएका थियौँ । राम्रो परिणाम आएन ।

तर यसलाई नै राष्ट्रिय प्रजातन्त्र पार्टीको लोकप्रियता घट्यो अथवा बर्बाद भयो भन्ने हिसाबले लिएका छैनौँ । 

तर राष्ट्रिय प्रजातन्त्र पार्टीको जुन खालको लहर देखिन्थ्यो अलि अगाडिको निर्वाचनमा, खासगरी करिब डेढ वर्ष अघि तपाईं नेतृत्वमा आएपछि आम पार्टी कार्यकर्ताहरूमा पार्टी बन्छ भन्ने एक खालको रक्त सञ्चार भएको थियो, आशा धेरै मानिसले गरेका थिए तर त्यो निराशामा परिणत भयो भन्ने कुरा छ नि ?

यो परिणामले निरास हुनुपर्ने केही कुरा छैन । यो परिणामलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । राप्रपाले हाम्रो महाधिवेशनताका नेतृत्व परिवर्तनको जुन मुद्दा उठायौँ मात्र होइन, व्यवहारमा पनि परिणत गर्‍यौँ । अहिलेकै राजनीतिक दलहरू र अहिलेकै नेताहरूबाट र अहिलेकै व्यवस्थाबाट देशको अवस्थामा परिवर्तन हुँदैन भनेर उठायौँ । व्यावहारिक रूपमा हामीले नेतृत्व परिवर्तन गर्‍यौँ । अपेक्षाकृत परिणाम ल्याउन नसके पनि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उल्लेख्य मतपरिणाममा वृद्धि गर्‍यौँ । अहिले सबभन्दा कान्छो राजनीतिक दलले जुन सफलता प्राप्त गर्‍यो, त्यो त्यसैको परिणाम हो ।

त्यो परिणाम हाम्रै दलमा हामीले परिणत गर्न सकेनौँ । त्यो दुःखको कुरा हो । हामीले जे मुद्दा उठायौँ, त्यसैको परिणाम स्वरूप अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले यो मतपरिणाम प्राप्त गरेको छ । तर हामीले जनतालाई के बुझाउन सकेनौँ भने अहिलेको जेठोदेखि कान्छो राजनीतिक दलहरू सबै एउटै वैचारिक धारमा छन् । उनीहरू यही व्यवस्थाबाट जनताको र देशको अवस्थामा सुधार गर्न सकिन्छ भन्ने पक्षमा छन् ।

हामीले जे मुद्दा उठायौँ, त्यसैको परिणाम स्वरूप अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले यो मतपरिणाम प्राप्त गरेको छ । तर हामीले जनतालाई के बुझाउन सकेनौँ भने अहिलेको जेठोदेखि कान्छो राजनीतिक दलहरू सबै एउटै वैचारिक धारमा छन् । उनीहरू यही व्यवस्थाबाट जनताको र देशको अवस्थामा सुधार गर्न सकिन्छ भन्ने पक्षमा छन् ।

हामी यो अवस्था आउनुमा स्वाभाविक रूपले पार्टीहरू दोषी छन्, नेतृत्व दोषी छन् तर त्योभन्दा बढी उनीहरूले ल्याएको प्रणाली दोषी छ भन्छौँ । जबसम्म हामीले प्रणालीमा परिवर्तन गर्न सक्दैनौँ, सुधार गर्न सक्दैनौँ, नेतृत्व परिवर्तनले मात्रै तात्विक अन्तर पर्दैन । पार्टी परिवर्तनले मात्रै अन्तर पर्दैन, सामान्य फरक पर्न सक्ला । त्यसकारण मूल रूपमा यो प्रणाली नै परिवर्तन जरुरी छ ।

तपाईंको पार्टीले जुन खालको नीति, विचार, कार्यदिशा लिएर हिँडेको छ, त्यो त मुद्दाको हिसाबले पार्टीलाई भोट आउने हो नि त ? तर ती मुद्दा त जनताले सबै अस्वीकार गरेको अवस्था रहेको उपचुनावले देखाएन ?

यो गलत हो । अहिलेको चुनावमा मानिसले मुद्दालाई अथवा एउटा कुनै पार्टीले लिएको मुद्दालाई भोट हालेको भए त फेरि बारा–२ मा किन अलग परिणाम आयो ? त्यसकारण व्यक्ति, व्यक्तिको लोकप्रियताले पनि काउन्ट गरेको छ । मुद्दाकै कुरा गर्दा राप्रपाले उठाएकै मुद्दाले जितेको छ । भलै राप्रपाले जितेन, भलै हामीले त्यसलाई मतमा परिणत गर्न सकेनौँ । तर राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापना, सङ्घीयताको खारेजी मात्रै हाम्रो मुद्दा होइन । हामीले नेपालमा सबैभन्दा ठूलो सुशासन, विकास, सेवा प्रवाह जस्ता विषयलाई राष्ट्रियताको मुद्दालाई जोड रूपमा उठाएका छौँ । अहिले त्यसैको धरातलमा टेकेर अरुले पनि राजनीति गरिरहेका छन् । अहिले सुशासनका पक्षमा, विकासको पक्षमा, सेवा प्रवाहका पक्षमा पुराना दलहरूलाई पन्छाएर नयाँ दलले जिते पनि त्यो हाम्रै मुद्दा लिएर जितेका छन् । त्यसको जगमा हामी छौँ ।

rajendra linden (4)

यसको मतलब राजसंस्थाको पुनर्स्थापना, धर्म निरपेक्षता खारेजी, सङ्घीयता खारेजी, सुशासन र सेवा प्रवाह जस्ता यति राम्रा मुद्दा हुँदाहुँदै जनताले तपाईहरुलाई किन विश्वास नगर्नुको कारण भनेकै यी कुरा तपाईंको नेतृत्वले ल्याउन सक्दैन भनेर नै हो भन्ने बुझ्दा हुन्छ ?    

त्यो गलत हुन्छ । हामीले ठीक ढङ्गले बुझाउन सकेनौँ । हामीले ठीक ढङ्गले लान सकेनौँ । यो मुद्दा हामीले उठायौँ र जनतालाई जागृत गरायौँ ।

अहिलेको समस्या भनेको यो देशका पार्टीहरू हुन् । यो देशका नेताहरू हुन्, जसले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको आफूलाई संस्थापक मान्छन् । मूलतः भन्ने हो भने प्रचण्डपथ हो भनेर हामीले उजागर गर्न सक्यौँ । तर त्यो पक्षमा गएको मतलाई हाम्रो पार्टीको मतमा परिणत गर्न सकेनौँ ।  त्यसका लागि हाम्रा सङ्गठन, संरचनाका केही त्रुटिहरू होलान् । हाम्रा आफ्नै केही कमी कमजोरी होलान् । अन्ततोगत्वा वैचारिक रूपले र व्यावहारिक हिसाबले जुन हिसाबले राष्ट्रिय प्रजातन्त्र पार्टी खरो उत्रिँदै आएको छ, यो जनमत फेरि प्राप्त गर्न सक्छौँ ।

जनमत नआउनेमा अलिकति पनि चिन्ता छैन त अध्यक्षज्यू ?

कतिपय सन्दर्भमा मत आएन भन्ने लाग्छ । हिजो ७ सिटमा प्रत्यक्ष जितिराख्दा त्यही सीमा जोडिएको अर्को निर्वाचन क्षेत्रमा हामीले ३०औँ हजार मत ल्याएर जित्दाखेरी पनि त्यहाँ त्यस्तै मत आएको थियो । त्यसैले यो उपनिर्वाचनमा जो पपुलर छ उसैमा मत केन्द्रित हुने हो । त्यसमा साह्रै ठूलो टिप्पणी नै गर्नुपर्ने, चिन्ता गर्नुपर्ने मलाई लाग्दैन । कि परम्परागत राजनीतिक दलहरूले नै चुनाव जितेका थिए, उनीहरूको मत बढेको थियो भने  चिन्ता लिनुपर्थ्यो ।

हामीले वैकल्पिक विचारको कुरा उठाइराखेका छौँ । त्यसतर्फ जनता आकर्षित भएनन् कि भन्ने लाग्थ्यो । तर जनताले विकल्पका पक्षमा मतदान गरेका छन् । यो हाम्रा लागि खुसीकै विषय हुनेछ ।

उपनिर्वाचनको जित हारले सङ्ख्यामा कुनै असर गर्दैन तर त्यसलाई धेरैले सन्देशका रूपमा लिएका छन् । तर तपाईंमाथि जिम्मेवार नेताहरूले नै यो परिणामलाई लिएर प्रश्न उठाउन थालेका छन् नि ?

यो परिणामप्रति हामी साह्रै अनभिज्ञ वा कल्पना गरेको अवस्थामा छैनौँ । हामीबीच कुनै आशङ्का र द्विविधाहरू छैन ।

तपाईंकै पार्टीका केन्द्रीय नेताहरूले सत्ताको खेलमा लागेको, विवादित व्यक्तिलाई मन्त्री बनाएको, आर्थिक चलखेलसम्म भएको जस्ता कुराहरू बाहिर आउँदा पार्टीलाई ठूलो घाटा लाग्यो भनेका छन् नि ?

कति साथीहरू सत्ताको आकाङ्क्षी थिए होलान् । किनभने सरकारमा जाने भनेको सरकारको सर्वसम्मत निर्णय हो । कति साथीहरूले सरकारमा जान नपाएर गलत व्याख्या गरे । विरोधीहरूले भन्दा आफैँले चाहिँ बढी विरोध गरेर अहिले गल्ती भयो भन्नेमा पुगेका होलान् तर संस्थागत रूपमा समस्या छैन । सरकारमा गएर कतिपय साथीहरूलाई बुझाउन सकेनौँ होला, त्यो बेग्लै कुरा हो । तर सरकारमा गएर कुनै खालको गलत काम गरेको छैन । बाटोबाट टिपेर मन्त्री बनाएका छैनौँ । केही दिनअघि जनताले भारी मतले जिताएका मानिसहरूलाई हामीले सरकारमा लगेका हौँ । प्रत्यक्ष रूपमा निर्वाचितहरूलाई सरकारमा पठाएका हौँ । कुनै पनि निकायमा भ्रष्टाचार अभियोग लागेकाहरूलाई लगेका छैनौँ ।

कुनै समयमा कसैले औँला ठड्यायो होला, त्यो त कसैले प्रमाणित गरेर भोलि दण्डित गर्‍यो भने पार्टीबाटै निष्काशित गरौँला । तर कसैले पैसा लिएर मन्त्री बनायो, पीपीएमा एक अर्ब पैसा लियो भनिदियो भने त्यसको के अर्थ हुन्छ ? मैले यस काममा एक कपमात्र कसैको खाएको रहेछु भनेर कसैले प्रमाणित गरिदिन्छ भने त्यसको नोकर बस्छु, टुँडिखेलमा गएर झुन्डिन तयार छु भनेको छु । यस्ता कुराको कुनै तुक छैन ।

कसैले पैसा लिएर मन्त्री बनायो, पीपीएमा एक अर्ब पैसा लियो भनिदियो भने त्यसको के अर्थ हुन्छ ? मैले यस काममा एक कपमात्र कसैको खाएको रहेछु भनेर कसैले प्रमाणित गरिदिन्छ भने त्यसको नोकर बस्छु, टुँडिखेलमा गएर झुन्डिन तयार छु भनेको छु । यस्ता कुराको कुनै तुक छैन ।

भनेपछि सत्तामा जान, सरकारमा जानु ठीक थियो भन्ने तपाईंको निष्कर्ष हो ?

त्यसबेलाको सन्दर्भमा हामी पार्टीले निर्णय गरेर गएका हौँ । त्यो निर्णयमा सत्ता साझेदार दलहरू टिकेर बसेका थिए भने ठीक थियो । यसको असाध्यै ऐतिहासिक महत्त्व छ, जुनबेला हामीले सरकार निर्माण गर्‍यौँ । इतिहासमा यसको समीक्षा हुनेछ ।

२०६२–६३ को राजनीतिक परिवर्तनपछि नेपालको सरकार निर्माण गर्ने क्रममा कुनै विदेशीहरूको प्रायोजनबिना निर्माण भएको थियो । तत्कालै त्यो कुनै प्रकारको चलखेल र दबाब थियो भन्ने कुरा सबै देखिएको छ । हामीले अनुचित देख्यौँ र हट्यौँ । जतिदिन बस्यौँ, इमानदारितापूर्वक देश र जनताका पक्षमा काम गर्‍यौँ । हामीले जिम्मेवारी लिएका मन्त्रालयहरूमा कुनै अनियमितताका काम भएनन् । काम भएन भनेर त्यहाँ सुतेर पनि बसेनौँ । ऐतिहासिक काम गरेर आएका छौँ ।

तपाईंहरूको पार्टीको सङ्घीयताको खारेजी गर्ने नीति छ, अर्कोतिर प्रदेशमा मन्त्री बनाइदिनुभयो । यो त अलि विरोधाभाष भयो, पार्टीको नीति विरोधी कुरा भयो भन्ने पनि छ नि ?

यी सबै चिजले यो उपनिर्वाचनमा कुनै भूमिका खेलेको छैन । हामी यो कुरामा प्रारम्भदेखि नै स्पष्ट छौँ । हामीले अहिलेसम्म यो संविधानसँग सहकार्य गरिरहेका छौँ । फरक मत त अहिलेको निर्वाचन प्रणालीसँगै छौँ । सङ्घीय सरकार र सङ्घीय संसद्मा पनि नहुनु पर्थ्यो । किनभने यो निर्वाचन प्रणाली नै गलत छ । यो प्रणाली भएसम्म कुनै राजनीतिक दलको बहुमत पनि आउँदैन, स्थिरता पनि हुँदैन । यति धेरै जनप्रतिनिधि यो देशले धान्न पनि सक्दैन । यही नै कालान्तरमा समस्याको कारक बन्छ भनेर फरक मत राखेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, राष्ट्रप्रमुखमा चाहिँ राजा रहनुपर्छ । पूर्ण समानुपातिक सांसद हुनुपर्छ, सांसदले मन्त्री हुन नपाउने व्यवस्था हुनुपर्छ भन्ने फरक मत छ ।

त्यो फरक मत राखेको कारणले हो भने त यहाँ पनि हामी सहभागी नहुनु पर्थ्यो । तर जबसम्म हामीले संविधानमा परिवर्तन गर्न सक्दैनौँ, तबसम्म यो संविधानसँग सहकार्य गर्छौं भनेका छौँ । हामी प्रदेशमा पनि सहभागी भएका छौँ । प्रदेश निर्वाचनमा भाग लिएका छौँ । प्रदेश निर्वाचनमा भाग नलिनेबित्तिकै प्रदेश खारेज गर्न सक्ने अवस्था आयो भने राप्रपाले निर्वाचनमा भाग लिँदैन । यसका लागि पार्टी जहिले पनि तयार छ ।

rajendra linden (2)

तर हामीले भाग नलिने, अर्कोले निर्वाचन जित्ने, हाम्रा शुभेच्छुकले नै अरु पार्टीलाई भोट हाल्नुपर्ने परिस्थिति निर्माण भयो भने रणनीतिक र साङ्गठनिक हिसाबले पार्टीलाई फाइदा हुँदैन । त्यही भएर हामीले प्रदेश निर्वाचनमा भाग लियौँ, त्यसपछि प्रदेश सरकारमा सहभागी भयौँ । योभन्दा अगाडि कमसे कम हामी सहभागी सरकारमा मितव्ययिता हुनुपर्छ, संविधानले निर्दिष्ट गरेका सीमाभन्दा बेसी मन्त्रालयको सङ्ख्या हुनुहुँदैन भनेर कोशी प्रदेशमा मन्त्रालयको सङ्ख्या ८ मा झार्न लगायौँ । बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या झार्न लगायौँ । सातै प्रदेशमा अनियन्त्रित ढङ्गले दलहरूले भागबण्डा र खुसी प्रयोजनका लागि कार्यकर्ता व्यवस्थापन गर्ने उद्देश्यका साथ बढाइएको मन्त्रालयको सङ्ख्या घटाउन लगाएका छौँ । तर यी सब चिज फरक ढङ्गले बुझाउन नसक्दा कहीँ कहीँ भ्रमहरू उत्पन्न भएका छन् । समयक्रममा यो सबै ठीक हुन्छ ।

सङ्घीयताको विरोध या खारेज गर्ने, प्रदेश सरकारमा पनि सहभागी हुने कार्य त गर्नु भयो तर जहाँ एमालेका मुख्यमन्त्री छन्, त्यहाँ समर्थन फिर्ता लिनुभएन, जहाँ एमालेको नेतृत्व छैन, त्यहाँ भटाभट समर्थन फिर्ता लिइदिनुभयो ? एमालेकै भाइजस्तो, भोलि एमालेमै विलय हुने जस्तो काम भयो भन्ने पनि छ नि ?

मानिसले आआफ्नो स्वार्थअनुसार व्याख्या गर्छन् । एमालेसँग सहकार्य गर्दा केपी ओलीलाई राजावादी कित्तामा गयो भने, प्रचण्ड हाम्रो समर्थनमा प्रधानमन्त्री हुन तयार हुँदा उनी राजावादी कित्तामा गए भन्ने व्याख्या भए । भन्नेहरूलाई भन्न दिनुपर्छ ।

तर सहकार्य गरेको कुरा तथ्य भए पनि यसको अर्थ कसैको भाइ पार्टी हुने वा अर्काको कित्तामा गयो भन्ने कुरा होइन । केही निश्चित सर्तका आधारमा सहकार्य गरिएका कुराहरू हुन् ।

खासगरी चारवटा राजनीतिक पार्टीहरू एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले राष्ट्रियता, राष्ट्रिय एकता, विकास, सुशासन र सेवा प्रवाहजस्ता विषयहरूमा एक ठाउँ बसेर काम गरौँ । नेपालको निर्णायकत्व नेपाली जनताको हातमै छ भन्ने प्रमाणित गरौँ । पाँच वर्ष एउटा स्थिर सरकार दिऔँ । कुनै पनि वैदेशिक हस्तक्षेप अस्वीकार गर्दछौँ । र हाम्रो यो सहकार्यले कुनै मित्र राष्ट्रलाई असर पनि पर्दैन, दुःख पनि हुँदैन भन्ने कुरा प्रमाणित गरौँ । सरकार निर्माण र विघटनका क्रममा हुने वैदेशिक हस्तक्षेप पूर्ण रूपमा विस्थपित गरौँ भनेर सहकार्य प्रारम्भ गरेका थियौँ । तर त्यसबाट प्रचण्ड हट्नुभयो । उहाँले कित्ता परिवर्तन गर्नु भयो, हामीले पनि अब निरन्तरता नदिने भनेर हामी सरकारबाट हट्यौँ ।

तर एमालेका सरकार जो प्रदेशहरूमा थिए त्यहाँबाट हट्नु पर्ने कुनै कारण थिएन । तत्काललाई स्वाभाविक रूपले जाओस्, अहिले हतार नगरौँ भनेर राख्यौँ । टेक्निकल मात्र हो, कुनै दाइ पार्टी र भाइ पार्टीको कुरा पनि होइन । एमालेले गर्दा त्यो सहकार्य भत्किएको पनि होइन, त्यसकारण किन हतार गर्ने भनेर सामान्य समझदारीका आधारमा राखेको कुरा मात्र हो ।

एमालेका सरकार जो प्रदेशहरूमा थिए त्यहाँबाट हट्नु पर्ने कुनै कारण थिएन । तत्काललाई स्वाभाविक रूपले जाओस्, अहिले हतार नगरौँ भनेर राख्यौँ । टेक्निकल मात्र हो, कुनै दाइ पार्टी र भाइ पार्टीको कुरा पनि होइन । एमालेले गर्दा त्यो सहकार्य भत्किएको पनि होइन, त्यसकारण किन हतार गर्ने भनेर सामान्य समझदारीका आधारमा राखेको कुरा मात्र हो ।

त्यसो भए कोशी प्रदेशमा ?

कोशी प्रदेशमा छुट्टै छ । अहिले सभामुख बाहेक ४६–४६ हुनसक्ने अवस्था छ । कसैको बहुमत नपुग्ने अवस्था छ । हामीले समर्थन फिर्ता गर्नेबित्तिकै सरकार ढल्छ । हामी तटस्थ बस्ने हो भने प्रदेशको मध्यावधि निर्वाचन हुन्छ । अन्तिमसम्म हाम्रो प्रयत्न रहने छ, हाम्रो कारणले मध्यावधि नहोस् । हामी छलफल गरिरहेका छौँ ।

हामीले जब १३ वटा मन्त्रालयबाट ८ वटा मन्त्रालयमा झार्न सरकारलाई दबाब दियौँ । यसको अर्थ खर्च कम होस् भन्ने हो । प्रदेश खारेज गरेर देशको खर्च बचाउन नसके पनि त्यहीँ बसेर कति योगदान गर्न सकिन्छ भनेर गरिरहेका छाँै ।

कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्णय नगरिदिँदाखेरी अन्योल भयो भन्ने छ नि ?

अहिले सरकार नछोड्ने त हाम्रो निर्णय छ र बसिरहेका छौँ । हामीले छोड्यौँ भने त तुरुन्तै मध्यावधि भइहाल्छ ।

अर्को तपाईंले कांग्रेस, एमाले, माओवादी पार्टीको विकल्पको रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी हो भन्दै पनि आउनु भएको छ, त्यो त सकियो, त्यो त राष्ट्रिय प्रजातन्त्र पार्टीमा गयो अब राष्ट्रिय प्रजातन्त्र पार्टी रहने कि नरहने भन्ने स्थितिमा पुग्यो भन्ने मानिसहरूको प्रश्नमा के भन्नुहुन्छ ?

यो भयंकर गलत अवधारणा हो । नेपालको अहिलेको राजनीतिमा दुई वटा धार क्रियाशील छ । एउटा अहिलेकै व्यवस्था वा भनौं गणतन्त्र,  धर्मनिरपेक्षता, संघीयता र यसले तय गरेका मार्गचित्रबाटै देश अगाडि लान सकिन्छ भन्ने कित्ता । जसमा जेठो राजनीतिक दलदेखि सबभन्दा कान्छो राजनीति दलसम्म त्यही विचार र त्यही लाइन छ । व्यक्ति परिवर्तनबाट,  पार्टी परिवर्तनबाट यो सब चिज ठिक गर्न सकिन्छ । व्यक्ति ठिक नभएर वा पार्टी ठिक नभएर भन्ने हो ।

अर्काेतर्फ एउटा विचार जो राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधित्व गर्छ । त्यो विचार भनेको अहिलेको विद्यमान मुख्य राजनीतिक दलहरु भनेर जसले आफूलाई भन्छ, त्यो राजनीतिक दल, नेताहरु सब दुषित छन् । देशको, जनताको यो अवस्थामा आउनमा र उनीहरुले ल्याएको प्रणालीमा दुषित छन् । जबसम्म यो प्रणालीमा सुधार र परिवर्तन गरिँदैन, तबसम्म व्यक्ति या पार्टी परिवर्तनले तात्विक अन्तर बढ्दैन । सामान्य फरक पर्न सक्ला तर, तात्विक फरक पर्दैन । त्यो हाम्रो कित्ता हो ।

त्यस कारण मलाई लाग्छ कि ढिलोचाँडो राष्ट्रिय प्रजातन्त्र पार्टी यो देशको मुख्य विकल्प हो । अहिलेको प्रणालीले अवलम्बन गरेका संवैधानिक अङ्गहरुको नियुक्ति प्रणाली हेर्नुस्, अहिलेको भागबन्डाबाट न्यायाधीश नियुक्ति हुने, पार्टीको भागबन्डाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पदाधिकारी नियुक्ति हुने, अन्य संवैधानिक अङ्गहरुमा नियुक्ति हुने अनि कसरी देश बन्न सक्छ ? एउटा मान्छे परिर्वतन भएर के गर्ने ? मानौं, राष्ट्रिय प्रजातन्त्र पार्टीले नै यदि बहुमत प्राप्त गर्‍यो भने यो प्रणालीमा परिर्वतन नगर्दासम्म त प्रधानन्यायाधीश नियुक्त गर्दा उसले उसको पार्टी खोज्ने भयो नि त । होइन ? कांग्रेसले त्यही गरिदियो, एमाले, माओवादीले गरे होला । फेरि राप्रपाले गर्छ । त्यसकारण यो समस्याको समाधान भनेको युग प्रणालीमा परिवर्तन हो । र यो प्रणालीमा परिवर्तन नगरेसम्म व्यक्ति परिवर्तनले तात्विक फरक पर्दैन । खाली के हो भने यो जनता विकल्पमा तयार छ तर, विकल्प को हो भन्ने कुराको ठम्याइमा पुग्न नसकेको हो भन्ने मलाई लाग्छ ।

अब, आगामी दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले नै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बढी क्षति पुर्‍याउन सक्छ कि भन्ने आकलन छ । त्यसपछि कांग्रेस, एमाले, माओवादीसँग त तपाईहरुले जुध्नुपर्ने छँदैछ । त्यसमाथि बालेनहरु, हर्कहरु पनि छँदै छन् । अब ती सबै चुनौतीलाई राप्रपाले कसरी थेग्ला र ?

राष्ट्रिय प्रजातन्त्र पार्टी पक्कै पनि यी सबै कुराहरुलाई ध्यानमा राखेर अगाडि बढ्छ । हामीले यो महिनाभित्र केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छौं । देशभरि प्रदेशस्तरीय बैठकहरु धमाधम गरिराखेका छौं । जनवर्गीय संगठनहरुको महाधिवेशन अगाडि बढाइराखेका छौं र अहिले हामी आफै पनि आगामी कार्यदिशाको बारेमा छलफल गरेर योजनाहरु बनाइराखेका छौं । यो सबै हाम्रो चुनौती हो । म फेरि पनि भन्छु, यो एउटा कित्ता हो । विकल्प खोज्ने जनता तावाबाट उम्केको माछा ढुङ्ग्रोमा परेको जस्तो । तावाबाट उम्केको माछा फेरि ढुङ्ग्रोमा पर्छ कि र देशचाहिँ फेरि पछाडि पर्छ कि भन्ने चिन्ताले हामीले हामी ग्रस्त छौं । र हामी जनताले बुझ्ने गरी हाम्रो संगठन, संरचनामा रहेका केही त्रुटि, कमी कमजोरीहरु सच्याएर आगाडि जान्छौं । विकल्पको खोजीमा रहेका जनतालाई राप्रपाले नेतृत्व दिन्छ । यसमा कुनै सन्देह रहँदैन ।

तपाईहरुले उठाएको मुल मुद्दा हिन्दु राष्ट्र, राजसंस्था, संघीयता खारेजीको कुरा छ, त्यो मुद्दा एकातिर तर जनताले चाहिँ विकास र समृद्धि खोजेको जस्तो गरेपछि तपाईहरुको एजेन्डा एकातिर अनि जनताले खोजेकोचाहिँ अर्कोतिर भएन र ? यसले राष्ट्रिय प्रजातन्त्र पार्टी अप्ठ्यारोमा पर्छ कि भन्ने छ नि ?

त्यसमा राप्रापा र नेतृत्व स्पष्ट छ । राजसंस्था, हिन्दु राष्ट्र हाम्रो सैद्धान्तिक आधार हो । यो मुद्दामा आकर्षण रहेन भन्ने कुरा होइन । यसमा पनि आकर्षण बढिराखेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मुल आधार त्यो हो । र त्यो सँगसँगै आज फेरि पनि म दोहोर्‍याएर भन्छु– सुशासन र विकासको मुद्दा सबभन्दा सशक्त रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको हो । त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी दृढ छ । हामीले ४० दिन सरकारमा बस्दाखेरी पनि एक दिन शपथ ग्रहणको र एक दिन राजीनामाको समेत जोडेका छौं । कयौं शनिबार गयो होला, कयौं सभा समारोह गयो होला, २० दिन हामीले चाहिँ काम गर्ने मौका पायौँ होला तर, पनि २० दिनमा मात्रै पनि कति धेरै काम गर्न सकिन्छ र सुशासन के हो भन्ने कुरा हामीले हाम्रो मन्त्रालयहरुमा देखाएर हिँडेका छौं ।

राजसंस्था, हिन्दु राष्ट्र हाम्रो सैद्धान्तिक आधार हो । यो मुद्दामा आकर्षण रहेन भन्ने कुरा होइन । यसमा पनि आकर्षण बढिराखेको छ ।

त्यसैले सुशासनको मुद्दा, विकासको मुद्दा, सेवा प्रवाहको मुद्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख मुद्दा हो । मानिसहरुलाई के भ्रम पर्‍यो भने यो राजंसस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापनको मुद्दामा मात्रै राप्रपा छ, यो सुशासन, विकाससँग सम्बन्धित छैन भन्ने एउटा भाष्य निर्माण गरेको छ । तर, त्यसलाई पनि हामीले बुझाउन सकेनौं । राजसंस्था, हिन्दु राष्ट्र आउने बित्तिकै देशमा कायापलट हुन्छ भन्ने होइन । राजसंस्था र हिन्दु राष्ट्र देशको स्थायित्वको आधार हो । त्यसको जगमा सुशासन, विकास जस्ता विषयहरु हामीले अगाडि बढाएका छौं ।

भनेपछि संघीयता खारेजी, राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र बनाउने एजेण्डालाई पछाडितिर धकेलेर सुशासन, विकास र समृद्धिजस्ता एजेण्डालाई जोड दिएर राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि बढ्छ ?

दुई वटा चिज सँगै लैजाने हो । जनताले नरुचाएको भए कसरी एक सिटबाट १४ सिट भयो ? राप्रपालाई मत दिने बाहेक पनि नेपालमा राजसंस्था चाहिन्छ, हिन्दुराष्ट्र चाहिन्छ, संघीयता चाहिँदैन भन्ने मानिसहरुको ठुलो पंक्ति छ । कहिलेकाहीँ पानीका फोका असाध्यै सुन्दर लाग्छन्, पानीका फोकाहरु जब बग्दै आउँछन्, हेरी राखौँ, टिपेर गोजीमा राखौँ झै लाग्छ तर, हेर्दाहेर्दै बिलाएर जान्छ । यस्तो कुराहरुमा म कुनै टिप्पणी गर्न चाहन्न । तर हामीलाई मत दिनेबाहेकमा पनि त्यस्ता मान्छे धेरै हुनुहुन्छ जो हाम्रो एजेण्डासँग सहमत हुनुहुन्छ । उहाँहरुलाई पनि हाम्रो पंक्तिमा ल्याउन सकिन्छ ।

आज एउटा ट्विट हेरेको थिएँ, एक जना सिनियर एमाले कार्यकर्ताको । उहाँले म एमाले हो, संघीयता खारेज हुनुपर्छ । धर्मनिरपेक्षता खारेज हुनुपर्छ र पृथ्वी नारायण शाहलाई संविधानको प्रस्तावनमा लेखिनु पर्छ भन्ने कुरामा आफू निरन्तर रहेको लेख्नुभएको थियो । त्यो भावनालाई पनि हामीले समेट्न सकेका छैनौं । यस्ता कयौं व्यक्ति हुनुहुन्छ ।

त्यस कारण यो मुद्दाको पक्षमा नेपालको राजनीतिमा कोही छ भने त्यो राष्ट्रिय प्रजातन्त्र पार्टीमात्र छ । प्रदेश खारेज हुनुपर्छ । यो नेपालले धान्न सक्दैन । स्पष्ट विचारका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अरु कुन पार्टीले बोलेको छ ? अब चित्रबहादुर केसीले कहिले काहीँमात्र भन्नु हुन्छ । त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीको भविष्यमा कुनै शंका छैन । तर, हामीले हाम्रो कार्यशैली, रणनीति परिवर्तन गर्नुपर्छ । हामीमै पहिला परिवर्तन हुनु जरुरी छ । परम्परागत ढङ्गले हामीले पार्टी चलाइराखेका छौं । जुन ढङ्गको हाम्रो नेतृत्व, संगठन संरचना छ, त्यसमा परिवर्तन गर्न जरुरी छ ।

म भन्न चाहन्छुु, यो उपनिर्वाचनमा आएको एउटा मतपरिमाणले कोही निराश हुनु पर्दैन । केही हौसिनु पनि पर्दैन । यस प्रकारको परिमाण ०६४ सालमा माओवादीले पनि ल्याएको थियो । माओवादी देशको पहिलो पार्टी हुन्छ भनेर ०६४ सालको निर्वाचमा कसैले कल्पना गरेको पनि थिएन । तर, पहिलो पार्टी बन्यो । कसले भोट दियो भन्नेसम्म पनि थाहा भएन । त्यसरी आयो । बाबुराम भटराईले सर्वाधिक मन्तारका साथ चुनाव जित्नु भयो । उहाँले पाएको मत प्रतिशतमात्रै हिसाव गर्ने हो भने उहाँले झरेको मतको ८३ प्रतिशत मत प्राप्त गर्नुभयो । अहिले त्यो रेकर्ड कसैले पनि काट्न सकेको छैन । उहाँ अर्थमन्त्री हुनुभयो, प्रधानमन्त्री हुनुभयो । त्योभन्दा पनि माओवादीको अध्यक्ष प्रचण्ड तेस्रो चोटी प्रधानमन्त्री हुनुभएको छ । तर, माओवादीको अवस्था के छ ? त्यस कारण म फेरि पनि भन्छु, यी परिणामबाट अहिले हामी होसियार हुनु पर्छ तर आत्तिहाल्नु पर्ने छैन ।

rajendra linden (1)

रास्वपालाई उपचुनावमा आएको यो मत परिमाणप्रति तपाईहरुको प्रतिक्रिया के छ ? 

मैले यसलाई सकारात्मक रुपमा लिएको छु । चुनौती त हाम्रो लागि तमाम रुपमा छँदै छन् । हामीले अघिल्लो निर्वाचनमा नै धेरै मत प्राप्त गर्नुपर्ने थियो । गणितको हिसाबले १४ गुणा ल्यायो भन्ने कुरा त छँदैछ, त्यो भनेको पनि धेरै हो । अरु सब राजनीतिक दलहरु तल झरेको बेला हामीले मात्र यो प्रकारको बृद्धि गर्‍यौँ । त्यसमा कुनै शिर निहुराइ हाल्नुपर्ने, हिँड्दा वा बोल्दा डराउनुपर्ने छैन । हामीले त्यतिमात्र मत प्राप्त गर्ने होइन, त्यतिमा मात्र हामी खुसी हुनुपर्ने छैन । र अहिले म के भन्छु भने चुनौती थुप्रै छन् । हामीले मिलाएर लानुपर्ने थुप्रै कुरा छन् । हामी मिलाएर लान्छौं । यो मत परिमाणलाई मैले किन सकारात्मक रुपमा लिन्छु भन्दा जनताले कमसे कम विकल्प खोज्न थालेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले समय अनुसार आफ्नो एजेण्डा राम्रोसँग बुझाउन सकेन, संगठन, संरचनाहरु परिवर्तन गरिँदैन भने यस्तो हुन पनि सक्छ । यस कुरामा हामी सचेत छौं । हामी नेतृत्वको हिसावले पूर्ण रुपले के विश्वस्त छौं भने त्यस्तो हुन दिँदैनौं ।

जनताले विकल्प खोज्दा खोज्दै अब आउने चुनावमा त तपाईहरुको पनि विकल्प खोज्लान् नि ?

राष्ट्रिय प्रजातन्त्र पार्टीले समय अनुसार आफ्नो एजेण्डा राम्रोसँग बुझाउन सकेन, संगठन, संरचनाहरु परिवर्तन गरिँदैन भने यस्तो हुन पनि सक्छ । यस कुरामा हामी सचेत छौं । हामी नेतृत्वको हिसावले पूर्ण रुपले के विश्वस्त छौं भने त्यस्तो हुन दिँदैनौं ।

तपाई कै प्रदेशको नामकरण (कोशी) को विषयलाई लिएर आन्दोलन भइराखेको छ । पहिचानवादी मान्छेहरुले आन्दोलन गरिराखेका छन् । के भन्न चाहनुहुन्छ ?

यसमा मेरो कुनै टिप्पणी छैन । खाली के मात्रै हो भने हामी प्रदेश संरचनाको विपक्षमा छौं । हामीले प्रारम्भदेखि भन्दै आएका छौं, यो प्रदेश  आर्थिक रुपले त नेपालजस्तो देशका लागि गह्रौँ हुन्छ नै, कालान्तरमा  यसको कारण अर्थतन्त्र पनि घुँडा टेक्नु पर्ने हुन्छ । यो प्रदेश हाम्रो जातीय द्वन्द्वको कारण हुन सक्छ, विखण्डनको कारण हुन सक्छ भनेर हामीले सुरुदेखि नै भनेका थियौँ । कोशी प्रदेशमा अहिले त्यो देखिएको छ, अरु प्रदेशमा धन्न यस्तो भएन ।

प्रदेशको नाम के हुने, कसो हुने भन्ने कुरामा हाम्रो कुनै आपत्ति छैन । मैले सरोकारवाला साथीहरुलाई पनि भनेको छु– जसले जात अनुसार राज्य दिन्छु भनेर लिम्बुलाई लिम्बुवान, राईलाई खम्बुवान, मगरलाई मगरात, तामाङलाई तामसालिङ, गुरुङलाई तमुवान, खस क्षेत्रीहरुलाई खसान, अब मधेशलाई मधेश, जसलाई जे भेटियो त्यही दिन्छु भनेर भन्नेहरुले नै सरकारको नेतृत्व गरिराखेका छन् । उनीहरुको भावना हो त्यो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया