शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
बजार

खुम्चिँदै एलपी ग्यासको खपत, ९ महिनामा ८१ लाख किलो घट्यो आयात

शनिबार, १६ वैशाख २०८०, १३ : ३८
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनामा एलपी ग्यासको आयात ह्वात्तै घटेको छ । आगामी केही वर्षसम्म एलपी ग्यासको खपत निरन्तर बढ्ने आयल निगमको प्रक्षेपण विपरीत आयात खुम्चिएको हो ।

चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ८१ लाख किलो आयात घटेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको तुलनामा एलपी ग्यासको आयात ह्वात्तै घटेको हो । गत वर्षको ९ महिना अर्थात साउनदेखि चैतसम्ममा ३९ करोड ५७ लाख किलो एलपी ग्यास आयात भएको थियो ।

जबकि, चालू वर्षको सोही अवधिमा ३८ करोड ७६ लाख किलो एलपी ग्यास आयात भएको छ । खास गरी, पछिल्लो समय विद्युतीय सामाग्रीको उपभोग बढ्दै जाँदा एलपी ग्यासको खपत ओरालो गतिमा देखिएको छ ।

बिजुलीको उपलब्धता बढ्दै जाँदा उपभोक्ताहरूले पानी तताउन, चिया पकाउन, गिजर चलाउनका साथै खाना पकाउन समेत इन्डक्सन र इन्फ्रारेड चुलोको प्रयोग बढाउँदै लगेको छन् । यसको विपरीत एलपी ग्यासको मूल्य निरन्तर बढ्दै जाँदा समेत उपभोक्ताले सकेसम्म प्रयोग घटाउने योजना अघि सार्दा खपत घटेको निगमको भनाई छ ।

आयात ८१ लाख किलोले घटे पनि आयात मूल्य भने न्यून मात्रै घटेको छ । रुस–युक्रेन युद्धलाई कारण देखाउँदै उत्पादक राष्ट्रहरूले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएका छन् । जसकारण, गत वर्षको तुलनामा ८१ लाख किलोले आयात घट्दा पनि ४४ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ । जबकि, गत वर्ष ४५ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप