आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चालाई पहिलो १ वर्ष नुन–चिनी नदिनुहोस् : मन पर्ने खानेकुराले दाँत, आँखा, हड्डी, आन्द्रा बिगार्दै छ

सोमबार, १८ वैशाख २०८०, १४ : ३३
सोमबार, १८ वैशाख २०८०

घरमा बच्चाको जन्मदिन मनाउन आमा–बुवाले उनीहरूका लागि के काट्छन् वा बच्चा र उनका साथीहरूलाई चकलेट–टफी–चिप्स बाँड्छन् । 

तर कहिल्यै सोच्नुभएको छ ? चकलेट, टफी, केक, आइसक्रिम र आवश्यकताभन्दा बढी चिप्स–दालमोठले कतै भविष्यमा बच्चालाई मधुमेह वा हाइपर टेन्सनका बिरामी त बनाइरहेको छैन ?

बच्चाको चिनी र नुन खाने बानीमा सुरुवाती समयदेखि नै ध्यान दिनुपर्छ । आजकाल कम्पनीले बच्चाहरूलाई ध्यानमा राखेर पाकेटका खानेकुरा बेचिरहेका छन् । यस्ता खानेकुरालाई विज्ञापनमार्फत बच्चाहरूको मन मस्तिष्कमा बसाइन्छ ।

भारतमा प्रति १०० ग्राम बर्न भिटामा ३७.४ ग्राम चिनी भएको विषयमा नोटिस जारी गरेको छ । चिनीको यति मात्रा बच्चाको स्वास्थ्यका लागि निकै खतरनाक भएको भन्दै भारतको राष्ट्रिय बाल अधिकार संरक्षणले यसका लागि चेतावनी जारी गरेको हो ।

बच्चालाई के–कस्ता खानेकुरा धेरै मन पर्छ । पहिला यसबारे जानकारी लिऔँ ।

बच्चालाई मन पर्ने खानेकुराका हानी

– चकलेट

सुगर, क्याफिन र फ्याट असाध्यै धेरै

– ललिपप, जेली र टफी

दाँत किरा लाग्ने खतरा

– केक, बिस्कुट र डोनट्स

मोटोपना निम्त्याउँछ, दाँत बिगार्छ

– जेरी, लालमोहन, रसबरी, मालपुवा

फ्याट र सुगर बढाउँछ

स्रोत : बेबी सेन्टर डट इन

एक वर्षसम्मको बच्चालाई नुन वा चिनी दिनु हुँदैन

दिल्ली एम्सका बाल रोग विशेषज्ञ डा. अन्तरिक्ष कुमारले बच्चालाई एक वर्षसम्म चिनी र नुन दिनै नहुने बताएका छन् । उनका अनुसार बच्चाको आन्द्रा निकै कोमल हुने भएकोले नुन–चिनीले उनीहरूलाई अपचको समस्या वा आन्द्रामा समेत समस्या हुनसक्छ ।

कहिलेकाहीँ एक वर्षसम्मका बच्चालाई बढी नुन खुवाउँदा ज्यानै जाने जोखिमसमेत निम्तिन सक्छ । बालबालिकालाई फलफूल दिन सकिन्छ जसले उनीहरूको शरीरले पर्याप्त मात्रामा सुगर पाउन सकोस् । त्यसैले उनीहरूलाई चिनी हालिएका खानेकुरा दिनु हुँदैन । 

एक दिनमा कति नुन–चिनी खाने ?

नुन

१ देखि तीन वर्षका बच्चाका लागि दैनिक दुई ग्राम

४ देखि ६ वर्षका बच्चाका लागि दैनिक तीन ग्राम

७ देखि १० वर्षका बच्चाका लागि दैनिक पाँच ग्राम

वयस्कका लागि दैनिक ५–६ ग्राम

चिनी

४ देखि ६ वर्षका बच्चाका लागि दैनिक २० ग्राम

७ देखि १० वर्षका बच्चाका लागि दैनिक २० देखि २५ ग्राम

वयस्कका लागि दैनिक ३० ग्राम

स्रोत : नेशनल हेल्थ सर्भिस (एनएचएस) युके

बच्चाले किन चिनी कम खानुपर्छ ?

एम्स दिल्लीमा मेडिसिन विभागका डा. रविकान्त चतुर्वेदी चिनीका कारण बच्चाको शरीरमा भएको प्रोटिन राम्रोसँग पच्ने नसक्ने बताउँछन् । यसले रगतको नसा र छालाको तन्तुको लचिलोपन नष्ट गराउँछ र बाल्यकालदेखि नै दाँत गल्ने, हड्डी र आँखा कमजोर हुने र मोटोपनाजस्तो समस्या सुरु हुने गर्छ ।

डा. रविकान्त चतुर्वेदी भन्छन्, ‘तीन वर्षभन्दा माथिका बच्चालाई सन्तुलित मात्रामा चिनी–नुन दिनुभयो भने बच्चा फुर्तिलो बन्छ र उनीहरूको उचाइ पनि बढ्छ । यसका लागि अभिभावकले आफ्नो खानपिनमा पनि ध्यान दिन आवश्यक छ किनभने बच्चाले ठुलालाई हेरेर नै खान–पिउन सिक्छन् ।’

बच्चाले चिनीबाट ऊर्जा पाउँछन्, पोषण होइन

भारतको राँचीस्थित मेडिका अस्पतालमा कार्यरत पोषणविद् विजयश्री प्रसादले चिनीमा ‘नेकेड क्यालोरी’ हुने बताएकी छिन् । उनी भन्छिन्, ‘यसले ऊर्जा त मिल्छ तर पोषण पाइँदैन ।’

उनका अनुसार बच्चाका लागि यसको विकल्प गुड वा खैरो चिनी (ब्राउन सुगर) हुनसक्छ जसमा एन्टिअक्सिडेन्ट गुण र पोषक तत्त्व हुन्छन् ।

गुडमा क्रोमियम, म्याग्नेसियम, म्यागनिज र जिङ्कजस्ता खनिज हुन्छन् । यस्तै, खैरो चिनीमा क्लोरिन, आइरन, पोटासियम र सोडियम हुन्छ । तर यो पनि बच्चालाई एक वर्षभन्दा अघि र आवश्यकताभन्दा बढी दिनु हुँदैन ।

पोषणविद् विजयश्री भन्छिन्, ‘एक वर्षसम्मका बच्चालाई चिनी र नुनबाट टाढै राख्नुहोस् । यो उमेरमा बच्चालाई गुलियो ख्वाउन थालियो भने बच्चालाई गुलियोको लत लाग्न सक्छ ।’

सन्तुलित नुन–चिनी खाने बानी पार्न पहिलो पाँच वर्ष निकै महत्त्वपूर्ण

दिल्ली–एनसीआरकी पोषणविद् अंशु चौहानका अनुसार पाँच वर्षसम्मका बालबालिकालाई अभिभावकले आफ्नो निगरानीमा सन्तुलित खानपिनको बानी बसाल्न सक्छन् । उनी भन्छिन्, ‘यही समय निकै महत्त्वपूर्ण हुन्छ किनभने यो समय पछि बच्चाले घर बाहिर पनि खान थाल्छन् । स्कुलमा खाजा बाँडेर खान्छन् र प्याकेटका खाना पनि खान थाल्छन् । त्यसैले यो उमेरभन्दा अघि नै उनीहरूलाई कम चिनी र कम नुन खाने बानी पार्न सक्नुपर्छ ।’

पोषणविद् अंशु चौहान भन्छिन्, ‘सुरुको वर्षमा बच्चामा जुन बानी हुन्छ, त्यसले उनीहरूको स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका निभाउँछ । जङ्क फुड र परिवारको जीवनशैलीका कारण बच्चामा धेरै चिनी र नुन खाने बानी बसेको हुनसक्छ । बच्चालाई कोल्ड ड्रिङ्क, चिप्स र फास्ट फुडबाट टाढै राख्नुहोस् ।

धेरै चिनी र नुन खाँदा बच्चाको आँखा र पाचनमा असर

अमेरिकन हार्ट असोसियसनका अनुसार ४ देखि ६ वर्षका बच्चाले एक दिनमा १९ ग्रामभन्दा बढी चिनी खानु हुँदैन । बच्चाले योभन्दा बढी चिनी वा नुन खाए उनीहरूको आँखा खराब हुनसक्छ र मिर्गौलामा असर पर्छ ।

यसबाहेक धेरै चिनी वा नुन भएका खानेकुराले बच्चामा पाचन र दमको समस्या हुन थाल्छ ।

नुन र चिनीको मुटुसँग सम्बन्ध, एरिथ्रिटोलका कारण रगत जम्छ

घरमा खानाको स्वाद बढाउने नुन र चिनीको सम्बन्ध हाम्रो मुटुसँग पनि छ । क्लिवल्याण्ड क्लिनिक लर्नर रिसर्च इन्स्टिच्युटले बेलायत र युरोपमा लगभग चार हजार व्यक्तिमा स्विटनरको असर देख्यो । स्विटनरमा हुने एरिथ्रिटोलले तुरुन्त असर देखाउँछ । रगतमा यसको असर बढ्दा रगत जम्ने र मुटुको समस्याको जोखिम बढ्छ । 

एरिथ्रिटोल एक प्रकारको सुगर कम्पाउन्ड हो जुन चिनीजस्तै हुन्छ । यो चकलेट, आइसक्रिम, बेकरी उत्पादन, चुइङ्गम र कन्फेक्सनरीमा चिनीको साटो प्रयोग हुन्छ । त्यसैले कम उमेरका बालबालिकालाई यी उत्पादनबाट टाढै राख्नुहोस् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप