बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेता चुनेको १७ महिनापछि कांग्रेसको नीति अधिवेशन

मङ्गलबार, १९ वैशाख २०८०, ०५ : ५४
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौं । २०७८ मंसिरमा पार्टीको १४औं महाधिवेशन गरेर नेतृत्व चुनेको दल नेपाली कांग्रेसले नेता चुनेको १७ महिनापछि नीति तय गर्ने अधिवेशनको तयारी गरेको छ । कांग्रेसको १४औं महाधिवेशनपछि पार्टी नेतृत्वमा शेरबहादुर देउवा चुनिएका थिए भने पदाधिकारी र केन्द्रीय सदस्यसमेत निर्वाचित भएका थिए ।

कांग्रेस विधानमा नेता चुन्ने महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीको नीति तय गर्न छुट्टै अधिवेशन डाक्ने व्यवस्था छ । तर, कांग्रेस नेतृत्वले विधानको व्यवस्थालाई वेवास्था गर्दै महाधिवेन सकिएको ६ महिनाभित्र गर्नुपर्ने नीति अधिवेशन १७ महिना बित्दासमेत गर्न सकेको छैन ।

सोही कारण कांग्रेसको मर्गचित्रसमेत अस्पष्ट रहँदै आइरहेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नीति अधिवेशन, भ्रातृ संगठनमा नेतृत्व र पूर्णता, पार्टीको संगठन सुदृढीकरण र रिक्त विभागलाई पूर्णता दिनेलगायतका विषयमा पार्टीभित्र अनौपचारिक रूपमै भए पनि गहन छलफल सुरु भइसकेको जानकारी दिए ।

‘नीति अधिवेशन, भ्रातृ संगठनमा नेतृत्व र पूर्णता, पार्टीको संगठन सुदृढीकरणलगायतका विषयमा गम्भीर र गहन रूपमा छलफल सुरु भइसकेको छ, भदौमा नीति अधिवेशन गर्नेगरी योजना बन्दै छ, आगामी केन्द्रीय समिति बैठकबाट सबै कुराको टुंगो लाग्छ,’ कांग्रेस महामन्त्री शर्माले राजधानीसँग भने । कांग्रेसले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि निर्वाचनको समीक्षा बैठकसमेत राखेको छैन ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षासमेत कांग्रेसले औपचारिक रूपमा बैठक डाकेर गर्न सकेको छैन । ‘लामो समययता पार्टीको केन्द्रीय समिति बस्न नसक्दा धेरै कुरामा अलमल भएका छन्, यही वैशाख अन्तिम साता केन्द्रीय समिति बैठक बोलाउनेगरी छलफल भइरहेको छ,’ कांग्रेस पार्टी कार्यालयका एक कर्मचारीले भने । यो समाचार राजधानी दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप