शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फ्रेण्ड्स चर्च ब्वाइजसँग स्तब्ध

बुधबार, २० वैशाख २०८०, २० : १२
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । सुरुवाती अग्रतालाई उल्टाउँदै स्टार खेलाडीले भरिएको चर्च ब्वाइज युनाईटेड राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधवार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जारी लिगको दोस्रो स्थानमा उक्लिएको हो । 

निकै रोमाञ्चक बनेको खेलमा फ्रेण्ड्सले १४ औँ मिनेटमा अग्रता लिएको पनि अन्तिम तीन मिनेट सम्म  सम्हालिएको प्रदर्शन गर्न नसक्दा चर्च ब्वाइजलाई नतिजा सुम्पिएको हो । यससँगै फ्रेण्ड्सले दोस्रो राउन्डमा हारबाट लिगको आरम्भ गरेको छ भने चर्च ब्वाइजले जितबाट शुरु गरेको छ ।

प्रतिष्पर्धात्म बनेको खेलमा फ्रेण्ड्सका बेन क्वान्साले १४औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मैदानको दायाँ भागमा प्राप्त फ्रिकिकमा डोना थापाले प्रहार गरेको बललाई क्वान्साले हेडरमार्फत जाली चुमाउन सफल भएका थिए । वर्षाका कारण हिलाम्मे मैदानमा दुवै टोली बाकी समय थप गोलका लागि प्रयास गरिरहे । खेलको अन्त्य तिर फ्रेण्ड्सका डिफेन्डरले रञ्जित सिंह पाण्डेलाई पेनाल्टी क्षेत्रमा लडाएपछि चर्च ब्वाइजले पेनाल्टीको अवसर पाएको थियो । अञ्जन विष्टले पेनाल्टी अवसरलाई सहजै गोलमा परिणत गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि झन् आक्रामक देखिएको फ्रेण्ड्स अगाडि बढेको मौकामा चर्च ब्वाइजले इन्जुरी समयमा गोल थप्यो । मौसम सुब्बाले पेनाल्टी बक्स बाहिरबाट उपलब्ध गराएको पासलाई आशिष चापागाईले फ्रेन्ड्सका दुई डिफेन्डरलाई विट गर्दै टोलीलाई स्पष्ट तीन अङ्क दिलाउन सफल भएका हुन् ।

यससँगै चर्च ब्वाइजले जारी लिगमा छैटौँ जित निकालेको छ । १४ खेलबाट २४ अङ्क जोडेको चर्च ब्वाइज गोल अन्तरमा शीर्ष स्थानको जावलाखेल भन्दा एक स्थान मुनि रहेको हो । यस्तै पराजित फ्रेन्ड्स जारी लिगमा सातौँ हार भोगेको छ । समान १४ खेल खेलेको फ्रेण्ड्स १५ अङ्कका सात १३ औँ स्थानमा छ ।

लिग अन्तर्गत च्यासल मैदानमा बुधबार नै भएको अर्को खेलमा हिमालयन शेर्पाले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले स्तब्ध बनायो । हिमालयनको जितमा खामिर गिल्सनले निर्णायक गोल गरे ।

निकै रोमाञ्चक बनेको खेलमा दुबै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने आक्रामक देखिएको हिमालयन शेर्पाले सातदोबाटोमाथि दबाब दिएर खेलेको थियो । सो क्रममा खेलको ६५ औँ मिनेटमा गिल्सनले निर्णायक गोल गरेका हुन् । पिस्टन मुटुम्बाको पासमा डिबक्सको ठिक बाहिरबाट गिल्सनले टोलीका लागि अग्रता दिलाएका थिए । सोही अग्रता नै स्पष्ट तीन अङ्क जोड्नका लागि पर्याप्त भएको हो ।

यससँगै जारी लिगमा हिमालयन शेर्पाले चौथो जित निकालेको छ । शेर्पाले १४ खेलमा १७ अङ्क जोड्दै आठौँ स्थानमा उक्लिएको छ । उता अनपेक्षित नतिजा भोगेको सातदोबाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । यससँगै सातदोबाटोले जारी लिगमा चौथो हार भागेको छ । समान १४ खेल खेलेका सातदोबाटोको २२ अङ्कका सात तालिकाको चौथो स्थानमा छ ।

लिगमा बिहीबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल एन्फा कम्प्लेक्समा विभागीय टोली एपिएफ र न्युरोड टिम (एनआरटी) तथा दोस्रो खेल दशरथ रंगशालामा मच्छिन्द्र र संकटाबीच प्रतिस्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप