बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनमाथि रुसको आरोप– पुटिनको हत्या गर्ने उद्देश्यले क्रेमलिनमा ड्रोन हमला

बुधबार, २० वैशाख २०८०, २१ : ०३
बुधबार, २० वैशाख २०८०

एजेन्सी । रुसले युक्रेनद्वारा क्रेमलिनमा ड्रोन हमला गरिएको आरोप लगाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्ने उद्देश्यले क्रेमलिनमा दुई वटा ड्रोनमार्फत युक्रेनले हमला गरेको रुसको आरोप छ । ड्रोन हमलाको स्वतन्त्र पुष्टि नभएको बीबीसीले जनाएको छ । युक्रेनले भने क्रेमलिनमा भएको ड्रोन हमलाबारे आफ्नो कुनै सम्बन्ध नरहेको जनाएको छ ।

युक्रेनी राष्ट्रपतिका प्रवक्ताले रुसी कब्जामा रहेको भूमि फिर्ता लिनमात्र युक्रेनको ध्यान केन्द्रित रहेको बताएका छन् । एक अर्का युक्रेनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार रुसले यो घटनामा युक्रेनलाई जिम्मेवार ठहर्याउनुको उद्देश्य युक्रेनमाथिको हमलालाई ब्यापक बनाउने लक्ष्यमा आधारित हुन सक्छ ।

क्रेमलिनलाई निशाना बनाएका दुई वटा ड्रोनलाई विद्युतीय राडारमार्फत नष्ट गरिएको रुसले जनाएको छ । क्रेमलिनले एक विज्ञप्तिमार्फत भनेको छ, ‘गए राति युक्रेनले क्रेमलिनस्थित रुसी राष्ट्रपतिको निवासमा मानवरहित ड्रोनबाट हमलाको प्रयास गरेको थियो ।’ विज्ञप्तिमा सो घटनालाई ‘उग्रवादी कारबाही र रुसी राष्ट्रपतिको हत्या प्रयासका रुपमा लिइएको र यसको जवाफी हमला आफ्नो इच्छाअनुसार गर्न प्रतिबद्ध रहेको उल्लेख छ ।

हमलाबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ । रुसी सामाजिक सञ्जालमा सार्वजनि गरिएको फुटेजमा मस्कोको मध्य भागमा धुँवाको मुस्लो उडेको देखिन्छ । ड्रोनको केही भाग क्रेमलिन परिसरमा फेला परेको जनाइएको छ । तर युक्रेनले आफ्नो तर्फबाट कुनै हमला नगरिएको जनाएको छ ।

युक्रेनी राष्ट्रपतिका प्रवक्ताले भने, ‘मस्कोमा जे भइरहेको छ, ९ मे अघि उक्साउने कोसिस हो ।’ ९ मेका दिन रुसमा ‘भिक्ट्री परेड’ आयोजना हुन्छ, जहाँ केही विदेशी अतिथिसमेत सहभागी हुने सम्भावना छ । मस्कोका मेयरले सहरमा ड्रोन उडाउन प्रतिबन्ध लगाइएको बुधबार जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप