शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

प्रधानमन्त्रीलाई मुख्यमन्त्री शाहको बिन्ती, ‘धेरै ढिला भयो, छिटो गरिदिनुस्’

सोमबार, २५ वैशाख २०८०, १० : २०
सोमबार, २५ वैशाख २०८०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा भएको भेटमा सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र यहाँका विकासको योजनाबारे छलफल भएको मुख्यमन्त्री कमलबहादुर शाहले रातोपाटीलाई जानकारी दिए ।

मुख्यमन्त्री शाहले रातोपाटीसँग भने, ‘आज बिहान प्रधानमन्त्रीज्यूसँग भेटवार्ता भयो । मन्त्रिपरिषद् विस्तारमा धेरै ढिला भयो । छिटो गरिदिनुस् भनेर हामीले आग्रह ग¥यौँ । उहाँले आजै उच्च स्तरीय राजनीतिक कार्यदलमा कुरा राख्ने बताउनुभएको छ ।’

मुख्यमन्त्री शाहसँग भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, उपनेता अक्कल रावल र सांसद ओम विक्रम भाट सरल पनि बालुवाटार पुगेका थिए  ।

मुख्यमन्त्री शाह नियुक्त भएको यही वैशाख २७ गते ३ महिना पुग्दैछ । तर ३ सदस्य रहेको मन्त्रिपरिषद् हालसम्म विस्तार हुनसकेको छैन । सरकारको नेतृत्वदेखि मन्त्रालय भागबन्डामा सत्तारुढ दलमा सकस देखिएको छ । यहाँ ७ मन्त्री, ४ राज्यमन्त्रीसहित ११ सदस्य मन्त्रीमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ ।

सरकारमा माओवादी केन्द्रले ३, नागरिक उन्मुक्ति पार्टीले २, मन्त्रालयमा दाबी गरेको छ । अहिले सरकारमा रहेको कांग्रेसले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिएको छ । थप १ मन्त्रालय पनि पाउनुपर्ने कांग्रेसको दाबी छ । आर्थिक मामिला मन्त्रालय पाएको नेकपा(एकीकृत समाजवादी) पार्टीले पनि थप १ मन्त्रालय पाउनुपर्ने अडानमा छ ।

त्यस्तै, माओवादीले २ मन्त्रालय पाउने भएको छ । २ मन्त्रालयको लागि आधा दर्जन आकाङ्क्षी छन् । माओवादीबाट संसदीय दलका नेता खगराज भट्ट, ओम विक्रम भाट सरल, झपट साउद, अक्कल रावल, रमेश धामी, शिव ओलीलगायतका मन्त्री बन्ने दौडमा छन् । 

उन्मुक्तिमा मन्त्री बन्नेको टुङ्गो

उता, दुई मन्त्रालयको दाबी गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने सांसदहरूको नाम टुङ्गो लगाएको छ । पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले आफू र प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीको नाम पार्टीले टुङ्गो लगाएको रातोपाटीलाई जानकारी दिए । आफूहरूले सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आफूहरूको दाबी रहेको बताउँदै २ मन्त्रालय नपाए सरकारमा नजाने समेत उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप