सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नवलको भनाइले देशभक्त नेपालीको आँखाबाट आँसु बग्छ : भीम रावल

चलचित्र सेन्सर बोर्डद्वारा फिल्म ‘काँडेतार’ प्रदर्शनमा रोक
मङ्गलबार, २६ वैशाख २०८०, १८ : ०७
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । अभिनेता नवल खड्काले फिल्म ‘काँडेतार’ आफूले देशभक्तिका लागि बनाएको बताएका छन् । उनले आफ्नो चलचित्र देशको हित विपरीत भए आफूलाई मारिदिए पनि स्वीकार्य हुने धारणासमेत राखेका छन् ।

मंगलबार फिल्म ‘काँडेतार’लाई चलचित्र सेन्सर बोर्डले प्रदर्शनमा रोक लगाएको विषयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम नवलले फिल्म निर्माणको समयको दुःख समेत सुनाए ।

‘मैले देशभक्तिको विषयमा बनाएको ‘काँडेतार’ पैसा दिन्छु भन्दापनि स्टारले खेल्न मानेनन्’, उनले भने ‘विदेशमा भए देश भक्तिपूर्ण फिल्म स्टारले सित्तैमा खेल्थे ।’ फिल्म निर्माणको समय कलाकार पाउन गाह्रो भएको गुनासो गरेका नवलले स्क्रिप्टमा नेपाल प्रहरीलेसमेत दुःख दिएको बताए ।

‘ज्यानको बाजी थापेर देशभक्तिले ओतप्रोत फिल्म बनायौं, अहिले सेन्सरले दुःख दियो’, उनले थपे ‘मेरो फिल्म राष्ट्रियताको पक्षमा छ । फिल्म बिना काटछाँट रिलिज गर्न पाउनुपर्छ ।’

कार्यक्रममा पूर्वउपप्रधान तथा गृह मन्त्री डा. भीम रावलले फिल्म ‘काँडेतार’ले उठाएको विषयवस्तु देशको हितका खातिर भएकोले फिल्म प्रदर्शनमा रोक्न लगाउन नहुने बताए । उनले देशभक्तिपूर्ण कला, साहित्य तथा चलचित्र जे भएपनि राज्यले सबैका अगाडि राख्ने अवसर दिनुपर्ने उनको धारणा थियो ।

‘काँडेतारका नायक तथा निर्माता नवल खड्काको एउटा भनाइले प्रत्येक देशभक्त नेपालीको आँखाबाट आँसु बग्छ । नवलजीले भन्नु भयो, मैले देशका लागि फिल्म बनाएको हो । यदि चलचित्र देशको हितमा छैन भने मलाई भन र मारिदेउ’, रावलले भने ‘देशको सीमा सुरक्षाका लागि चलचित्र भनेको साङ्केतिक कुरो मात्र हो । चलचित्रले सिमाना रक्षा गर्ने होइन ।’

रावलले अहिले समयमा कुनै पनि देशमा दुई शक्ति हुन्छ,  एउटा शक्ति सेना, प्रहरी, बन्दुक लगायत र अर्को नरम शक्ति साहित्य, कला, गीत, चलचित्र हुने बताए । उनले नरम शक्तिले देश चिनाउने समेत धारणा राखे ।

‘देशको पानी खाएका कलाकर्मीले देशको सीमा सुरक्षा हुनपर्छ भनेर आवाज उठाउन निर्माण गरेको फिल्म रोकिनु भनेको नरम शक्ति समाप्त पारेर विदेशीको चाकडी गर्नु हो’, रावलले थपे ।

फिल्मले सिमामा काँडेतार लगाउनुपर्छ भन्ने जिम्मेवार निकायलाई आँखा देखाएको रावलको भनाई थियो । ‘विदेशमा बन्ने देशभक्ति पूर्ण चलचित्रको राज्यले संरक्षण गर्छ । नेपालमा यी यसरी रोकिन्छ’, रावलले अगाडि थपे ‘फिल्म काँडेतार बिना काटछाँट प्रदर्शन हुनुपर्छ ।’ 

त्यस्तै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले फिल्म ‘काँडेतार’ रिलिजका लागि राज्यले वातावरण बनाउनुपर्ने बताए । ‘हरेक नागरिकले आफूले निर्माण गरेको चलचित्र प्रदर्शन गर्न पाउनु उसको पूर्ण अधिकार हो । देशमा सूचनाको हक छ’, शाहीले भने, ‘चलचित्र गीत संगीतमा रोक लाग्नु भनेको विकासमा रोक लाग्नु हो ।’

 शाहीले राष्ट्रियता र राष्ट्रलाई बलियो बनाउन चलचित्रको महत्त्वपूर्ण भूमिका हुने धारणा राखे ।

‘फिल्ममा नेताहरुलाई ब्यङ्ग्य गरिएको छ रे । त्यसकारण काँडेतार रोकियो भन्दा आश्चर्य लाग्यो । किनभने प्रजातन्त्रमा आलोचना भएन भने त्यो प्रजातन्त्र होइन’, शाहीले अगाडि भने ‘देशको भलो चिताइएको फिल्म काँडेतार जसरी पनि चल्न पाउनुपर्छ ।’

सामाजिक अभियन्ता प्रा.डा सुरेन्द्र केसीले पनि फिल्म काँडेतार सार्वजनिक प्रदर्शनमा आउन पाउनुपर्नेमा जोड दिए ।

फिल्म ‘काँडेतार’ केही अगाडि सेन्सरमा गएको थियो । फिल्मका केही संवाद र दृश्य काटछाँट गर्नुपर्ने भन्दै सेन्सरले प्रदर्शनमा रोक लगाएको छ । निर्माता निर्देशक नवल खड्का भने आफूले देशभक्तिपूर्ण फिल्म बनाएको भन्दै बिना काटछाँट प्रदर्शन गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । 

सामना फिल्मस् प्रालिको निर्माण रहेको फिल्मले खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोध लगायतको विषय कथावस्तुका रूपमा उठाएको छ । 

माकिको राई र अन्जु केसी निर्माता रहेको फिल्मको  कार्यकारी निर्माता गायिका सत्यकला राई हुन् । फिल्मको सहनिर्मातामा रोमियन लिम्बू, बिमला कट्टेल, डा. अमित विश्वास, राजेन्द्र भगत, पन्नालाल सिक्दार, दिनेश कुमार राय, नादिया खड्का र सनया खड्का रहेका छन् ।

फिल्ममा नवल खडका, गौरव पहारी, सुरविना कार्की ,रेबिका गुरूङ्ग, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा, संजय खतिवडा, पुष्प श्रेष्ठ, रोमियन लिम्बू, केशव रायामाझी, राजेन्द्र भगत, पर्शुराम चौधरी, पन्नालाल सिक्दार, महेश गिरी, खेम नेपाली, राम विश्वास र बालकलाकार नादिया खड्का र सनया खड्का लगायतको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप