आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

के तपाईं पनि दूध–दहीसँग फलफूल खानुहुन्छ ? यस्ता समस्या देखिएला

बुधबार, २७ वैशाख २०८०, ०९ : ०७
बुधबार, २७ वैशाख २०८०

बनाना सेक, म्याङ्गो सेक, स्ट्रबेरी सेक र विभिन्न खालका ड्राइ फ्रुट भएका सेकको माग पछिल्लो समय निकै बढिरहेको छ । जुस पसलमा यस्ता सेकका बोर्ड मूल्यसहित झुन्डिरहेको देख्न सकिन्छ । घरमा पनि दूध र फलफूल मिसाएर धेरै थरीको खानेकुरा हामी आफैँ पनि बनाउँछौँ । दूधसँगै केरा, आँप, अनार जस्ता फलफूलहरू निकै मिठो मानी मानी खान्छौँ । तर दूधसँग फलफूल खानु स्वास्थ्यका लागि राम्रो हो त ?

घरमा अलि जान्ने बुझ्नेले भर्खरै दूध खाएको छौ, कागती सुन्तला वा अङ्गुर नखाऊ न भनेको सुन्ने गर्छौँ । यसो भन्नुको कारण छ । दूधसँग यस्ता फलफूल खाँदा शरीरमा टक्सिन बन्न थाल्छ । भारतका आयुर्वेद विशेषज्ञ डा. टिएल जेवियरले दूधसँग कागती, सुन्तला खान नहुने सुझाव दिन्छन् । उनका अनुसार यी सबै फलफूलमा इन्जाइम र साइट्रिक एसिड, म्यालिक एसिड, टार्टरिक एसिड र फ्युमेरिक एसिड जस्ता धेरै प्रकारका एसिडहरू हुन्छन् । यी एसिडहरू दूध, दही, मोही जस्ता डेरी उत्पादनहरूमा मिसिन सक्दैनन् । यसको उल्टो असर देखिन सक्छ । यो विषाक्त पदार्थको रूपमा शरीरमा जम्मा हुन्छ । कहिलेकाहीँ यिनीहरू रगतमा मिसिन्छन् । जसका कारण छाला रोगको जोखिम हुन्छ । छालामा दाग आउने, डन्डिफोर आउने, छालाको रङ्ग उड्ने जस्ता समस्या देखिने गर्दछ ।

दूध कुनै पनि फलफूलसँग खानु हुँदैन ?

कुनै पनि फलफूल दूधसँग नखानु राम्रो हुने डा. दीक्षा बताउँछिन् । स्ट्रबेरीमा दूध कहिल्यै मिसाउनु हुँदैन । यसले हाम्रो पाचन प्रणालीलाई हानि पुर्‍याउँछ । त्यसै गरी बनाना सेक वा केरासँग दूध पिउनु पनि राम्रो होइन । केरा धेरै पाकेको भए पनि दूधसँग खानु हुँदैन । पाचन प्रक्रियामा यसको प्रकृति परिवर्तन हुन्छ । यसले पेटमा एसिड बनाउँछ ।

यी फलमा हुन्छन् यस्ता एसिड

स्याउ – म्यालिक एसिड, टार्टरिक एसिड, फ्यूमेरिक एसिड

आरु – म्यालिक एसिड, टार्टरिक एसिड, सिट्रिक एसिड

आँप – सिट्रिक एसिड, म्यालिक एसिड, टार्टरिक एसिड

अम्बा – सिट्रिक एसिड, म्यालिक एसिड

सुन्तला, कागती – सिट्रिक एसिड, म्यालिक एसिड

चेरी, अङ्गुर – म्यालिक एसिड टार्टरिक एसिड

नास्पाती – म्यालिक एसिड, सिट्रिक एसिड

भूइँकटहर – म्यालिक एसिड, सिट्रिक एसिड

खरबुजा – म्यालिक एसिड, फ्यूमेरिक एसिड

इमली – म्यालिक एसिड, टार्टरिक एसिड, फ्युमेरिक एसिड

गोलभेँडा – अक्जेलिक एसिड

स्ट्रबेरी – म्यालिक एसिड, टार्टरिक एसिड, फ्युमेरिक एसिड

पाकेको आँपसँग दूध खानुहुन्छ कि हुँदैन ?

प्राकृतिक रूपमा धेरै गुलियो र पाकेको फलफूल भने दूधसँगै खान सकिने डा. दीक्षा बताउँछिन् । यस्तै एभोकाडोलाई पनि दूधमा मिसाएर खान सकिन्छ । खजूर, अञ्जीर जस्ता ड्राइ फ्रुट पनि दूधसँग खान सकिन्छ ।

ताजा फलफूललाई अन्य कुनै पनि खानेकुराको तुलनामा हल्का र छिटो पच्ने मानिएको आयुर्वेद विज्ञ डा. दीक्षा भावसार बताउँछिन् । यदि बिहान वा बेलुकाको खानासँगै फलफूल खानुहुन्छ भने यो पेटमा त्यति बेलासम्म रहन्छ जबसम्म पूरा खाना पच्दैन । जबकि खाना खाएको एक वा दुई घण्टापछि फलफूल खानुहुन्छ भने यो छिट्टै पच्छ ।

पेटमा एसिड बन्न थाल्छ

कुनै बाल्टीमा धेरै नै पाकेको फलफूल राख्नुहोस् । फल यति पाकेको होस् कि त्यसको गुदी बाहिर निस्किएको होस् । यसलाई घाममा राख्नुहोस् । यो बजिरहेको जस्तो देखिनेछ । यसरी नै खाना खाने बित्तिकै फलफूल खानुहुन्छ भने यो लामो समयसम्म पेटमा रहिरहन्छ । पेटमा रहेको पाचन रसले यसलाई पचाउन जारी राख्छ । यसले फर्मेन्टेसनको प्रक्रिया भइरहन्छ । त्यसैले तपाईंले देख्नुभएको होला कि खाना खाने बित्तिकै फलफूल खाँदा एसिडिटीको समस्या धेरै हुन्छ ।

पाचन प्रणालीमा अवरोध

आयुर्वेदमा पेटमा हुने अम्लीय अवस्थालाई ‘अम’ भनिन्छ । यसले हाम्रो पाचन प्रणालीलाई कमजोर बनाउँछ । पेटमा पाचन रस निष्कासन कम हुन्छ । शरीरमा पोषक तत्त्वहरू राम्ररी घुल्न सक्दैनन् । त्यसैले परिणाम उल्टो हुन्छ । यसले पाचन प्रणालीलाई सुधार गर्नुको सट्टा गडबडी निम्त्याउँछ ।

दूधसँग सुन्तला खाँदा छाला रोग लाग्न सक्छ 

केरलाको थ्रिसुरका डा. टीएल जेभियरले फलफूललाई कुनै पनि खानेकुरासँग खान नहुने बताउँछन् । स्याउ, केरा, अनार, अङ्गुर वा कुनै पनि फलफूल खानासँग खानु हुँदैन किनभने उनका अनुसार यसले स्वास्थ्यलाई कम फाइदा पुर्‍याउँछ र यसको हानी बढी हुन्छ ।

खाना अघि वा पछि  ? कति बेला खाने फलफूल ?

त्यसो भए फलफूल खाने सही समय के हो त ? डा. दीक्षाले खाना खाने समयमा वा खाना खाए लगत्तै फलफूल खान नहुने सुझाव दिएकी छिन् । खाना खानुभन्दा एक घण्टा अगाडि वा दुई घण्टापछि फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक हुने उनी बताउँछिन् ।

माछा–मासु खाएपछि बिर्सेर पनि नखानुहोस् दूध

सामान्यतया माछा खाएपछि दूध पिउन निषेध गरिएको छ । तर माछा मात्र होइन, कुनै पनि नन–भेज खानेकुरा खाइसकेपछि दूध वा दही खानु हुँदैन । रातिको समयमा माछा–मासु खानुभएको छ भने दूध खाँदै नखानुहोस् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप