आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली शरणार्थीको नाममा ठगी

प्रहरी हिरासतमा बालकृष्णको २४ घण्टा, छुट्टै कोठामा बासदेखि खानामा अचारको मागसम्म

बिहीबार, २८ वैशाख २०८०, १४ : ५२
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित बनेपछि वैशाख २७ गते बुधबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले पूर्व गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई उनकै निवासबाट पक्राउ ग¥यो । बुधबार बिहान निवासबाटै पक्राउमा परेका पूर्वमन्त्री खाणलाई थुनामै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ३ दिनको समय दिएको छ ।

तर उक्त समयावधिको अन्तिम दिन शनिबार पर्ने भएका कारण खाणलाई म्याद थप्नुपर्ने भएमा आइतबार पुनः अदालतबाट म्याद लिएर अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

यसैबीच पूर्व गृहमन्त्री खाणलाई बुधबार निवासबाट प्रहरी परिसरमा ल्याउनेदेखि सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतमा पुर्याएर अनुसन्धानका लागि म्याद लिएर आउनेसम्मको काम प्रहरीले गरेको छ ।

यस्तो छ पूर्व गृहमन्त्री खाणको २४ घण्टाको टाइमलाइन

पक्राउ

मिति : २०८० वैशाख २७ गते
समय : बिहान ९ बजे
स्थान : मैजुबहाल, चावहिल

नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोली बुधबार बिहान करिब ९ बजे उनको घर (चावहिलको मैजुबहाल)मा पुगेको थियो । त्यहाँ पुगेर पहिले खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पक्राउ गरेको प्रहरीले खाणलाई पनि पक्राउ दिन अनुरोध गरेको थियो । तर पक्राउ पुर्जी बिनै पुगेको प्रहरीले जरुरी पक्राउ पुर्जी दिन खोज्दा खाणले अस्वीकार गर्दै केही समय मोबाइलमै कुराकानी गरेका थिए ।

त्यसको केही समयपछि लुगा लगाएर आउँछु भनेका खाण लामो समयसम्म पनि बाहिर ननिस्किएपछि प्रहरीले बल प्रयोग गरेर खाणलाई जरुरी पक्राउ पुर्जी थमाएर जिल्ला प्रहरी परिसर काठमाडौं ल्याएको थियो । खाणलाई जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइपुर्याउँदा करिब १० बजेको थियो ।

बिहानको खाना प्रहरी कार्यालयमै

मिति : २०८० वैशाख २७ गते
समय : बिहान १०ः३० बजे
स्थान : जिल्ला प्रहरी परिसर, काठमाडौं

बिहानै निवासबाट नियन्त्रणमा लिइएका खाणले खाना खान पाएका थिएनन् । जिल्ला प्रहरी परिसरमा बिहान १० बजे पुर्याइएका खाणलाई प्रहरीले के खानुहुन्छ भनेर सोधेको थियो । जवाफमा खाणले अरुले जे खान्छन् त्यही खान्छु भन्ने जवाफ दिएका थिए । त्यसलगत्तै प्रहरीले बिहान १०ः३० बजे खाणलाई सादा खाना, दाल र तरकारी ल्याएर दिएको थियो । खाणले प्रहरी निगरानीमै रहेर त्यही सामान्य खाना खाए ।

प्रहरी निगरानीमा ६ घण्टा

मिति : २०८० वैशाख २७ गते
समय : बिहान ९–१५ बजेसम्म
स्थान : जिल्ला प्रहरी परिसर, काठमाडौं

बिहान ९ बजेदेखि प्रहरीको नियन्त्रणमा रहेका खाणलाई बिहान १० बजे जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो । त्यसपछि प्रहरी निगरानीमै रहेर हिरासतमा राखिएका अन्य व्यक्तिहरुले खाने सामान्य खाना खाएपछि खाणसँग प्रारम्भिक सोधपुछ लगायतका काम गरिएको थियो । पहिलो ५ घण्टा अर्थात् अपराह्न ३ बजेसम्म खाणलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरीहरु बस्ने स्थानमै राखेर सामान्य सोधपुछ गरियो ।

म्याद थपका लागि सरकारी वकिल कार्यालयमा

मिति : २०८० वैशाख २७ गते
समय : अपराह्न ३ बजे
स्थान : जिल्ला प्रहरी परिसरबाट जिल्ला सरकारी वकिल कार्यालय बबरमहल

करिब ६ घण्टा प्रहरी नियन्त्रणमा राखिएका खाणलाई प्रहरीले अदालतबाट पक्राउ पुर्जी नलिई जरुरी पक्राउ पुर्जी दिएर ल्याएको थियो । करिब ६ घण्टा आफ्नो नियन्त्रणमा राखेर प्रारम्भिक सोधपुछ गरिसकेपछि खाणलाई म्याद थप गर्न अपराह्न ३ बजे जिल्ला प्रहरी परिसर टेकुबाट जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा लगियो । अपराह्न ३ः३५ मा खाणलाई जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा उपस्थित गराइयो ।

सरकारी वकिल कार्यालयमा बालकृष्णको गुहार, ‘घरमै राखेर अनुसन्धान गर्न मिल्दैन ?’

मिति : २०८० वैशाख २७ गते
समय : अपराह्न ३ः३५ बजे
स्थान : जिल्ला सरकारी वकिल कार्यालय, बबरमहल

अपराह्न ३ः३५ बजे खाणलाई जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा पुर्याइएको थियो । अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला प्रहरी परिसरको टोलीले खाणलाई सरकारी वकिल कार्यालयमा लिएर गएको थियो । प्रहरीका अफिसरहरु चढ्ने गरेको बा२झ १२६ नम्बरको भ्यानमा राखेर खाणलाई जिल्ला सरकारी वकिल कार्यालयमा पुर्याएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयमा म्याद थपका लागि लगेको प्रहरीले घटना विवरण र खाणले संलग्नताको संकेत गरिसकेपछि खाणले जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेसँग घरमै बसेर अनुसन्धानलाई सहयोग गर्ने वा बयान गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । साथै सरकारी वकिल कार्यालयमा म्याद थपको समयमा उनले नक्कली शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका थिए । तर अन्य व्यक्तिहरु अनुसन्धानमा तानिएको भन्दै खाणलाई पनि हिरासतमै राखेर अनुसन्धान गर्न सरकारी वकिल कार्यालयबाट सहमति प्राप्त भयो ।

जिल्ला सरकारी वकिल कार्यालयमा म्याद थपका लागि जाने क्रममा पूर्व गृहमन्त्री खाणले जिल्ला प्रहरी प्रमुख दान बहादुर कार्कीलाई व्यंग्यात्मकरुपमा ‘एसएसपी साप बधाई छ’ भन्न भ्याए । जवाफमा एसएसपी कार्कीले ‘धन्यवाद सर’ भनेर जवाफ फर्काए ।  

म्याद थपका लागि अदालतमा पेस

मिति : २०८० वैशाख २७ गते
समय : अपराह्न ४ बजे
स्थान : काठमाडौं जिल्ला अदालत, बबरमहल

जिल्ला सरकारी वकिल कार्यालयबाट म्याद थपका लागि सहमति प्रदान भएपछि प्रहरीले खाणलाई जिल्ला सरकारी वकिल कार्यालय नजिकैको दक्षिणतर्फ वन परिसरमा रहेको जिल्ला अदालत रहेको भवनमा लिएर गयो । त्यहाँ म्याद थपका सम्बनधमा पनि बहस भयो । खाणका तर्फबाट उपस्थित भएका अधिवक्ताहरुले पूर्व गृहमन्त्रीजस्तो व्यक्ति भागेर कहीँ जान नसक्ने भन्दै कतिपय अधिवक्ताले खाणको जिम्मेवारी व्यक्तिगतरुपमा आफूले लिने भन्दै घरमै बसेर अनुसन्धान हुनुपर्ने धारणा पेस गरे । तर न्यायाधीशले अन्य व्यक्तिहरुको हकमा त्यसो हुन नसकेको भन्दै खाणलाई पनि तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिए ।

साँझ ७ बजे जिल्ला परिसर टेकुतर्फ

मिति : २०८० वैशाख २७ गते
समय : साँझ ७ः०३ बजे
स्थान : काठमाडौं जिल्ला अदालत, बबरमहलबाट जिल्ला प्रहरी परिसर टेकु

काठमाडौं जिल्ला अदालतबाट तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएपछि साँझ ७ः०३ बजे खाणलाई काठमाडौं जिल्ला अदालत परिसरबाट जिल्ला प्रहरी परिसर टेकुमा लगियो ।

खाणलाई हिरासतमा नराखी छुट्टै राख्ने व्यवस्था

मिति : २०८० वैशाख २७ गते
समय : साँझ ७ः३० बजे
स्थान: प्रहरी परिसर टेकुको हिरासत कक्ष

साँझ ७ः१५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं पुर्याइएका खाणलाई हिरासतमा रहने अन्य व्यक्तिहरुसँग राखिएन । उनलाई एसएसपी कार्कीसँगैको डीएसपीहरु बस्ने कोठामा राख्ने व्यवस्था गरियो । डीएसपीको कार्यकक्ष रहेको कोठा नम्बर ३ मा एउटा साधारण खाटको व्यवस्था गरेर उनलाई त्यहीँ राखियो । खाणलाई भेट्न आएका दलका नेता तथा कार्यकर्ता र आफन्तहरुलाई प्रहरी निगरानीमै राखेर सामान्य भेटघाट गर्न दिइयो ।

साँझको खानामा अचार मागे खाणले  

मिति : २०८० वैशाख २७ गते
समय : साँझ ८ बजे
स्थान : प्रहरी परिसर टेकुको हिरासत कक्ष

बिहानको खाना प्रहरी परिसरको हिरासतमा रहने अन्य व्यक्तिहरुले खाने साधारण खाना नै खाएका खाणले साँझको खानामा भने अचार मागे । सम्मानका साथ प्रहरी अधिकृतले खानामा के खानुहुन्छ भनेर सोधेकामा पूर्व गृहमनत्री खाणले अन्य व्यक्तिहरुले खाने साधारण खाना नै भए हुने तर अचार पनि खान पाए हुन्थ्यो भने । त्यसपछि प्रहरी अधिकृतले क्यान्टिनबाट अचारसमेत मगाएर खाणलाई सादा खाना, दाल, तरकारी र अचार लगिदिए ।

करिब ११ बजेसम्म भेटघाट

मिति : २०८० वैशाख २७ गते
समय : राति ११ बजे
स्थान : प्रहरी परिसर टेकुको हिरासत कक्ष

खाना खाने समयमै आफ्नो औषधि छुटेको भन्दै खाणले आफूले खाने औषधि ल्याइदिन प्रहरी अधिकृतलाई आग्रह गरेका थिए । त्यसलगत्तै प्रहरी अधिकृतले खाणले खाने गरेको औषधि ल्याइदिएका थिए । त्यसपछि आफ्नो भाइ, आफन्त, शुभचिन्तक आदिसँग सामान्य कुराकानी गरेर रातको करिब ११ बजेसम्म उनले समय बिताएका थिए । त्यसपछि भने प्रहरीले अन्य व्यक्तिसँग भेटघाट रोकी खाणका लागि तयार पारिएको हिरासत कक्षमा सुत्न पठाइयो ।

बिहानको खाना घरबाटै

मिति : २०८० वैशाख २८ गते
समय : बिहान ९ बजे
स्थान : प्रहरी परिसर टेकुको हिरासत कक्ष

बिहीबार बिहान उठेर खाणले आफ्नो नित्य कर्म सके । त्यसपछि उनलाई घरबाटै ल्याएको खाना उपलब्ध गराइयो । बिहानको खानामा उनले केही रोटी, दाल र तरकारी खाएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप