एमाले बैठकका १४ निर्णय : केन्द्रीय सदस्यहरूको नयाँ कार्यविभाजन हुने

काठमाडौँ । नेकपा एमालेको पाँचौँ केन्द्रीय कमिटी बैठक विभिन्न १४ वटा निर्णय गर्दै सम्पन्न भएको छ । वैशाख २८ गतेबाट सुरु भएको एमाले बैठक १४ वटा निर्णय र १६ वटा समसामयिक प्रस्ताव पारित गर्दै शनिबार सम्पन्न भएको हो ।
मिसन ग्रासरुट अभियानको समीक्षा गर्दै त्यसका आधारमा स्थायी कमिटी बैठकले तयार गरेको वार्षिक कार्ययोजनालाई केन्द्रीय कमिटी बैठकले पारित गरेको छ । जसमा पार्टी सदस्यता शुद्धीकरण र विस्तार कार्यक्रम प्रभावकारी बनाउने, पार्टी सदस्यता नवीकरणको काम असार मसान्तभित्र पुरा गर्ने, पार्टी कमिटीहरू भद्दा भएकाले प्रदेशदेखि वडासम्म अधिवेशन पुन गर्ने एमालेको निर्णय छ ।
यसअघि एमालेले तल्ला तहका अधिवेशन एक वर्षअघि मात्रै सम्पन्न गरेको थियो । अब तल्ला तहको अधिवेशनहरू गर्दा पहिला प्रदेश त्यसपछि जिल्ला, पालिका हुँदै वडा र टोलको अधिवेशन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
गत निर्वाचनहरूमा आएको मत परिणामलाई समेत विश्लेषण गरेको एमाले बैठकले वैचारिक राजनीतिक प्रशिक्षण नियमित गर्दै प्रशिक्षणको वर्गीकरणमा जोड दिएको छ ।
उच्च माध्यमिक र आधारभूत तहको प्रशिक्षणका लागि केन्द्रीय पार्टी स्कुल विभागले पाठ्यक्रम, पाठ्य सामग्री र प्रशिक्षक तयार गर्ने एमालेले जनाएको छ ।
त्यस्तै जनसंगठनहरुलाई समेत सक्रिय पार्न जनसंगठन सुदृढीकरण तथा विस्तार अभियान चलाउने निर्णय गरेको छ । जनसंगठनलाई पार्टी कार्यकर्ता निर्माण गर्ने ‘इन्कुभेसन सेन्टर’ का रूपमा रूपान्तरित गरिने एमालेले जनाएको छ ।
त्यस्तै राजनीतिक ध्रुविकरणलाई प्रभावकारी बनाउन पार्टी प्रवेश अभियान चलाउने एमालेको निर्णय छ । एमालेले जनप्रतिनिधि र स्थानीय तहको काम प्रभावकारी बनाउन ‘मिसन डेलिभरी’ का रूपमा स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुलाई प्रभावकारी रूपमा क्रियाशील बनाउने भएको छ ।
डेलिभरीमार्फत सुशासनसँगै डेभलपमेन्टको अवधारणामा सेवा प्रवाहको कार्यक्रम सञ्चालन गर्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
त्यस्तै एमालेले युवाहरूको बीचमा पार्टी विस्तार गर्न ‘मिसन योग’ र ‘देशैभरि छोराछोरी’ जस्ता कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका साथै मध्य पहाडी र हुलाकी राजमार्ग अभियान पनि एमालेले चलाउने भएको छ । यी सबै कामका लागि एमालेले सबै केन्द्रीय सदस्यहरूको नयाँ कार्य विभाजन गर्ने निर्णय गरेको छ ।
‘केन्द्रीय सदस्यहरूको नयाँ कार्यविभाजन गरिनेछ । मिसन ग्रासरुटले दिएको शिक्षाका आधारमा प्रत्येक केन्द्रीय सदस्यले एक वर्ष आफ्नो भूगोलबाहिरको कार्यक्षेत्रमा खट्ने गरी नयाँ कार्यविभाजन हुनेछ’ एमाले केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशल मल्ललाई हटाएर नेपाली क्रिकेट टोलीको घोषणा
-
मुस्लिम समुदायका लागि सरकारी सेवामा आरक्षण र शिक्षामा समान अवसर सुनिश्चित : मुख्यमन्त्री आचार्य
-
आफ्नो माग बमोजिम आएको नीति तथा कार्यक्रमलाई कांग्रेसले समर्थन गर्ने
-
आवासीय चिकित्सक र सरकारबिच सहमति, आन्दोलन फिर्ता
-
मकवानपुर महिला गोल्डकप : नव जनजागृतिलाई हराउँदै संकटा सेमिफाइनलमा
-
मध्यपूर्व एनआरएनएको नेतृत्वमा हेपिएको छ, यो पल्ट त्यस्तो नहोस् : आरके शर्मा