सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
बढुवामा बेथिति

एसपी बढुवा : वरीयता पछ्याउँदा काबिल अफिसरलाई अन्याय

घुससहित पक्राउ परेका डीएसपीलाई एसपीको ‘फुली’
आइतबार, ३१ वैशाख २०८०, २१ : २३
आइतबार, ३१ वैशाख २०८०

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २९ वैशाखमा २२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्र्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेको थियो । सो सिफारिसको १९ औैं नम्बरमा छन् श्याम कुमार राई ।

श्यामकुमार राई यसअघि १ लाख ४० हजार घुस रकमसहित पक्राउ परेका अधिकृत हुन् । ०७५ असोज २० मा प्रहरी वृत्त बौद्धको इन्चार्ज हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राईलाई कार्यकक्षबाटै घुससहित पक्राउ गरेर मुद्दा चलाएको थियो ।

अख्तियारका अनुसन्धान अधिकृत शौचालय गएको मौकामा बरामदी मुचुल्कामा रकमको पछाडि राई आफैंले एउटा ‘जिरो’ थपिदिएका थिए भन्ने चर्चा अहिलेसम्म चलिरहेको छ । विशेष अदालतमा बहसको बेला त्यही एउटा ‘जिरो’ थपिएको विषयलाई आधार बनाएर उनका वकिलले बरामद भएको रकम र बरामदी मुचुल्कामा उल्लेखित रकम नमिलेको तर्क गरे ।

न्यायाधीशले हेर्दा बरामद रकम १ लाख ४० हजार नभएर १४ लाख उल्लेख गरेको भेटिएपछि राईले सफाई पाए । यसरी प्रहरीको बर्दीमा फर्केका राईलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेतृत्वको बढुवा समितिले एसपीको ‘फुली’ उपहार दिएको भनेर प्रहरी वृत्तमा अहिले चर्चा छ ।

बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले हस्ताक्षर गरेर प्रकाशन गरेको बढुवाको सूचना अनुसार यस पटक ‘सिरियल नम्बर’को आधारमा बढुवा निकालिएको छ । जसले गर्दा बढुवामा काबिल अफिसर छुटेको र पटक–पटक कारबाहीमा परेका तथा आर्थिक विवादमा मुछिएकाहरुले अवसर पाएको भन्दै प्रहरीभित्र असन्तुष्टि देखिएको हो ।

बढुवा सिफारिस सूची प्रकाशन भएसँगै प्रतिस्पर्धीमध्येका डीएसपी अंगुर जिसीले सामाजिक सञ्जालमा लेखे, ‘धेरै लेख्न मन थियो तर, लेखिनँ । आखिर मरेर लाने केही होइन क्यारे । सबै लायक र योग्य बढुवा सिफारिसमा पर्न हुने साथीहरुलाई बधाई ।’

प्रहरीमा काबिल अफिसरको रुपमा चिनिने जिसीलाई बढुवा नगरेर संगठनले अन्याय गरेको प्रहरी अधिकारीहरु बताउँछन् । बढुवा हुनेहरुमध्ये दुईजना बाहेक जिसीसँगै २०६१ मा प्रहरी निरीक्षकको नियुक्ति लिएका अधिकृतहरु छन् । बढुवा सिफारिस भएका हरिहरनाथ योगी २०५८ मा र रामप्र्रसाद घर्तीमगर २०५९ मा सेवा प्रवेश गरेका हुन् ।

बढुवामा प्रहरी प्रधान कार्यालयले वरीयतालाई आधार मानेको छ । प्रहरी नियमावली अनुसार बढुवा समितिलाई ७ दशमलव ५ नम्बर दिने अधिकार हुन्छ । त्यही नम्बरमा चलखेल गरेर शक्तिकेन्द्रले आफ्नो अनुकुलका अधिकृतलाई माथि ल्याउने र मन नपरेकाहरुलाई छुटाउने प्रचलन छ ।   

बढुवा समितिले विवाद कम हुन्छ भनेर वर्णानुक्रमलाई सुरक्षा कवचको रुपमा प्रयोग गर्नु नहुने बताउँछन् पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्र सिंह भण्डारी । रातोपाटीसँग कुरा गर्दै भण्डारीले भने, ‘शक्तिकेन्द्र रिझाएर माथिल्लो वर्णानुक्रममा पुगेकालाई कोर्स करेक्सन गर्नुपर्छ ।’

निश्चित अवधिमा वर्णानुक्रममा माथि पुगेका अधिकृत परिस्थितिका कारण वा दक्षताको आधारमा गएका हुन् भन्ने ‘अडिटिङ’ गर्नुपर्ने पूर्व एआईजी सिंहको भनाइ छ । प्रहरी नेतृत्वले मूल्यांकन प्रणालीको हतियार ‘चुनौती बापत’को नम्बरलाई बनाउने गरेको छ । आईजीपीले चुनौती बापत ५ नम्बर दिन पाउँछन् । तत्कालीन कमाण्डर भ्रष्ट र मातहतको अफिसर इमानदार भएमा उसले पाउने कार्यसम्पादन मूल्यांकनमा फरक पर्छ । मूल्यांकन प्रणालीमा समितिले दिन पाउने नम्बरमा चलखेल गरेर कसैलाई तल लाने र कसैलाई माथि तान्ने भइरहन्छ ।

पूर्व एआईजी भण्डारी भन्छन्, ‘बढुवा समितिले नम्बर दिन पाउने व्यवस्थामा विवेक प्रयोग गर्नुपर्छ, विगतमा वर्णानुक्रममा माथि आउन परिस्थितिको फाइदा लिएकालाई रिकभर गर्नुपर्छ ।’ शुक्रबार बढुवा सिफारिसमा परेका अधिकांश अधिकृत २०६१ मा सेवा प्रवेश गरेका थिए । २०६१ मा सँगै सेवा प्रवेश गरेकाहरु यसअघि  दुईवटा समूहमा डीएसपीमा बढुवा भएका थिए ।

बढुवा सिफारिस भएका आधा दर्जन डीएसपीहरु कारबाहीमा परेका र निलम्बनमा परेकामध्ये छन् । आर्थिक विवादमा मुछिएर कार्यक्षेत्रबाट फिर्ता भएकाहरुलाई पनि आईजीपी बसन्त कुँवरले ‘माफ’ गरिदिएका छन् ।

बढुवा सिफारिसमा परेका रुपेश खड्कालाई युएन मिसनको प्रश्नपत्र लिक गरेको आरोपमा तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापाले कारबाही गरेका थिए । मिलन केसी, कुमोध ढुंगेल र श्याम कुमार राई डीएसपीमा कार्यरत हुँदा कारवाहीमा परेका थिए ।

आईजीपी कुँवरको अडानमा ‘सिरियल नम्बर’ अनुसार बढुवा सूची प्रकाशन गरिएको छ । ‘सिरियल नम्बर’ मात्रै हेरेर कार्यक्षमता जाँच नगर्दा कार्यक्षमता भएका अधिकृतहरु छुटेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्–‘कार्यक्षमता कमजोर भएकालाई बढुवा गर्नु हुँदैनथ्यो, यो निर्णयले काबिल अफिसरको मनोबल गिरेको छ ।’

त्यसो त, बढुवाका लागि वरिष्ठतालाई मुख्य आधार मानिन्छ भने कार्य सम्पादन मूल्यांकनलाई पनि महत्त्वका साथ लिइन्छ । तर, ‘राम्रा’ लाई भन्दा ‘हाम्रा’लाई बढुवा गर्न उक्त मापदण्ड पनि आफूखुसी प्रयोग गर्न थालिएको छ ।

राजनीतिक नेतृत्व र आइजीपीको रोजाइमा परेको व्यक्ति कनिष्ठ छ भने उसलाई कार्य सम्पादन मूल्याङ्कनको आधारमा तानेर बढुवा गर्ने, वरिष्ठ मै आफ्ना रोजाइका मान्छे भएमा कार्यसम्पादन मूल्याङ्कनलाई बेवास्ता गर्ने परिपाटी देखिन्छ ।

शरणार्थी मुद्दा अनुसन्धान गर्ने छुटे

प्रहरी नायव उपरीक्षक (डीएसपी) निरञ्जनदत्त भट्ट जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत छन् । भट्ट बढुवा प्रतिस्पर्धामा थिए । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहबारे अनुसन्धानको नेतृत्व भट्टले गरिरहेका छन् । तर, उनी बढुवा सिफारिस सूचीमा अटाएनन् ।

प्रहरीमा काबिल अफिसरको रुपमा चिनिने प्रदिप बहादुर क्षेत्री, अंगुर जिसी, बिनोद घिमिरे र अनन्तराम शर्मालाई बढुवामा छुटाइएको छ । जबकि उनीहरुकै ब्याचका १५ जना डीएसपी २०७९ साउन ९ मा एसपीमा बढुवा भइसकेका छन् ।

कारबाही भएकालाई बढुवा दिँदा असन्तुष्टि चुलिएको प्रहरी अधिकारीहरु बताउँछन् । लामो सयमदेखि बढुवामा छुटाएपछि असन्तुष्टि जनाएर प्रतिस्पर्धी मध्येका डीएसपी राजेश थापाले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार दिउँसो थापाको राजीनामा स्वीकृत गरेर राति बढुवा सूची प्रकाशन गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप