बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
मिनी संसद्

प्रतिनिधि सभाका १० समितिको पहिलो बैठक औपचारिकतामै सीमित

अर्को बैठकको टुङ्गो छैन, समितिको सभापति कहिले ?
मङ्गलबार, ०२ जेठ २०८०, १८ : ३२
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । मंगलबार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्यो । २६ सदस्य रहेको समितिमा २३ जना सांसद उपस्थित भएका थिए भने पदेन सदस्य रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी उपस्थित थिए । 

समितिको पहिलो बैठक भएकोले खासै कुनै एजेन्डामा छलफल हुन सकेन । बैठकमा मन्त्री, सांसद र समितिका कर्मचारीबीच परिचय आदनप्रदानको काम भयो । समितिलाई प्रभावकारी कसरी बनाउन सकिन्छ त्यसबारेमा ध्यान दिनुपर्नेमा सांसदहरूले जोड दिए ।

बैठकमा सचिवालयका कर्मचारीले समितिमा प्राप्त विधेयकहरू र समितिको कार्यक्षेत्रको बारेमा समितिका सदस्यहरूलाई जानकारी गराएका थिए । 

यता प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि सांसदहरुबीच परिचयात्मक कार्यक्रममा सीमित भयो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती पनि पुगेका थिए । २७ जना सदस्य रहेको यो समितिको पहिलो बैठकमा २० जना सांसद बैठकमा सहभागी भएका थिए । 

समिति सञ्चालनका लागि आन्तरिक कार्यविधि बनाउने बारेमा छलफल भएको र कार्यविधिको मस्यौदा बनाउन लागिएको समितिकी सभापति बबिता भट्टले रातोपाटीलाई जानकारी दिइन् ।  

यता सार्वजनिक लेखा समितिको बैठकमा सार्वजनिक वित्तीय उत्तरदायित्वको विषय, महालेखा परीक्षकको प्रतिवेदनमाथि छलफल एवं बेरुजुको अवस्थाबारेमा थप कसरी प्रभावकारी बनाएर काम कारबाही गर्न सकिन्छ भन्नेबारेमा सांसदहरूले धारणा राखेका थिए । 

प्रतिनिधि सभा बैठक बस्न थालेको झन्डै ५ महिनापछि संसद् सचिवालय सिंहदरबारमा विषयगत समितिको पहिलो बैठक बसेको हो । पहिलो बैठक सांसदहरू र मन्त्रीहरुबीच आपसमा परिचय आदान प्रदानमै सीमित भएको छ । समितिहरूमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको बैठकमा कुनै खास एजेन्डामा छलफल हुन सकेन भने अर्को बैठक कहिले राख्ने भन्नेबारेमा पनि निर्णय हुन सकेन । 

पहिलो बैठक भएकोले संसदीय समितिको पहिलो बैठकमा समितिको कार्यक्षेत्र, अधिकार, विधेयकहरूको अवस्थाको बारेमा जानकारी गराउने काम भएको संघीय संसद् सचिवालयले जनाएको छ । 

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने–‘प्रतिनिधि सभा अन्तर्गत रहेका १० वटा विषयगत समितिहरूको आ–आफ्नो सभाकक्षमा आज बिहान ९ बजे एकै समयमा बैठक बसेको थियो । बैठकमा केही सांसदबाहेक अधिकांश माननीयहरूको सहभागिता थियो । आज पहिलो बैठक भएको हुँदा अलि बढी औपचारिकतामा सीमित भएको थियो । संसद् सचिवालयले उहाँहरूलाई स्वागत गर्ने, उहाँहरुबीचपनि परिचय गर्ने, सांसदहरुबीच पनि परिचय गर्ने कार्यक्रम भयो ।’

पहिलो बैठकमा नियमावलीमा निर्दिष्ट गरेअनुसार समितिको कार्यक्षेत्र के हो, समितिमा कुन कुन विधेयकहरू छन् भन्ने बारेमा छलफल भएको थियो । साथै समितिलाई कसरी प्रभावकारी बनाएर लैजान सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । 

अब समितिहरूले आ–आफ्नो अनुकूलतामा बैठक राख्न सक्ने प्रवक्ता गिरीले बताए । उनले भने–‘आजको बैठक लगभग लगभग औपचारिकतामा सीमित भएको हो । अव आउने बैठकहरूले समितिलाई कसरी अगाडी बढाउने भन्नेबारेमा ठोस रूपमा छलफल अघि बढ्छ, त्यसपछि समितिले गति लिन्छ ।’

यही वैशाख ४ गते बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । संसद् बैठकको कार्य चापको आधारमा समितिका बैठकमा निर्धारित हुने सचिवालयको भनाई छ । लगतै संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत हुँदा त्यसमाथिको छलफलमा सांसदहरूले सहभागिता जनाउनुपर्ने भएकोले त्यसले समितिका बैठकलाई प्रभावित पार्ने देखिएको छ । 

समितिको सभापति कहिले ? 

भर्खर बैठक बस्न सुरु भएको संसदीय समितिहरूमा सभापति कहिले निर्वाचित हुने भन्ने कुरा अझै टुङ्गो छैन । 

संसदीय समितिका सभापतिको निर्वाचन अहिले नै हुन्छ भनेर त्यस्तो मिति घोषणा भइसकेको छैन । सभामुखले तोकेको दिनमा समिति सभापतिको निर्वाचन हुने नियमावलीमा स्पष्ट व्यवस्था गरिएको छ । सभामुखज्यूले राजनीतिक दलहरूसँग समन्वय गरेर नै समिति सभापतिको निर्वाचनको मिति तोक्ने गरिन्छ । उहाँले मिति तोकेको ४८ घण्टा अगावै सभाको सचिवबाट निर्वाचन कार्यक्रमको सूचना प्रकाशन हुन्छ । मिति तोकेको ४८ घण्टा अगावै एकजना प्रस्तावक र समर्थक सहित मनोनयन दर्ता गर्नुपर्ने हुन्छ ।’

एकजनाको मात्र उम्मेदवारी परे सर्वसम्मत रूपमा र एकजना बढीको उम्मेदवारी परेमा निर्णयार्थ प्रस्तुत हुने र बहुमत पाउने उम्मेदवार समितिको सभापतिमा निर्वाचित हुने व्यवस्था छ । 

संसदीय समितिको सभापतिले सवारी साधन, सवारी चालक, इन्धन र सचिवालयको सुविधा पाउने व्यवस्था रहेको छ । हाल समितिको सभापतिको रूपमा रहेका ज्येष्ठ सदस्यलाई समितिको सभापतिको बराबर अधिकार भए पनि सुविधा दिने विषयमा भने कानुनमा स्पष्ट व्यवस्था नभएको प्रवक्ता गिरीले जानकारी दिए । 

सूचना प्रकाशन गरेर संसदीय समितिका आगामी बैठकहरू बस्ने सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप