बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

कोशी प्रदेशमा प्राङ्गारिक मल कति उत्पादन हुन्छ भन्नेबारे प्रदेशसँगै छैन तथ्याङ्क

पशुपालक किसानका लागि प्राङ्गारिक मल आम्दानीको स्रोत बन्दै
बिहीबार, ०४ जेठ २०८०, ०६ : ४२
बिहीबार, ०४ जेठ २०८०

विराटनगर । विगत १० वर्षदेखि प्राङ्गारिक (कम्पोष्ट)मल बनाउँदै आएका मोरङ, बुढीगंगा–२ का राजुकुमार खड्काको हातमा प्रायः गोबर नै हुन्छ । मल निर्माणका क्रममा क्यारेट उचाल्दाका चोट उनको खुट्टामा छन् ।

सडकमा फालिएका कुहिने फोहोर देखे उनी बोकेर ल्याउँछन् । कुहिने प्रजातिका केराको दाम्चा, जलकुम्भीजस्ता कुहिने वस्तु जहाँ भेटे पनि सिटी रिक्सामा वा आफैँ बोकेर ल्याउँछन् र कुहाउँछन् । अत्याधिक शारीरिक श्रमका कारण उनको शरीर पनि ख्याउटे छ । तर, उनको सोच र सन्तुष्टि भने अतुलनीय छ । त्यसको एउटै कारण हो आम्दानी ।

उनले विगत १० वर्षदेखि गोबरलाई मोहरमा परिणत गरिरहेका छन् । जसबाट उनले झण्डै डेढ करोडको जग्गा भर्खरै खरिद गरेका छन् । ‘हिजो म शून्यमा थिएँ । मेरो जग्गाजमिन थिएन । अहिले म दुई बिगाहा जग्गाको मालिक भएँ । दुध, मल तथा कृषि उत्पादन गरेरै यतिसम्म सम्पत्ति जोडेँ,’ उनी भन्छन्, ‘गत वर्ष ८० टन मलको बिक्रीबाट मात्रै १६ लाख कमाइयो । मदरकल्चर (गड्यौला) मात्रै ५ लाखको बिक्री गरेँ ।’

मलको मुख्य स्रोत गोबर हो । त्यही गोबरलाई प्रयोग गरेर उनले गत वर्ष ८० टन प्राङ्गारिक मल उत्पादन गरे । उनको गोठमा आधा दर्जन भैंसी छन् । यो वर्ष १ सय टन मल बनाउने लक्ष्य लिएका छन् । प्रतिटन २० हजार रुपैयाँमा मल बिक्री हुने गरेको उनी सुनाउँछन् ।

राजुकुमार खड्काले पहिले २० वर्षसम्म उनले गोबर मल २ सय, ३ सय रुपैयाँ प्रतिट्याक्टर बिक्री गर्थे । तर, अहिले त्यति मलकै प्राङ्गारिक बनाउँदा ६० हजार रुपैयाँसम्ममा बिक्री भएको उनले बताए । सरकारले प्राङ्गारिक मललाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

खड्काले भैंसी पाल्न थालेको ५० सालदेखि हो । तर मल बनाउन थालेको ७० सालदेखि हो । ७० सालमा कृषि सहकारी संस्थाबाट मदर कल्चर (गड्यौला) ल्याएका उनले त्यसपछि भने मदरकल्चर आफैं बिक्री गर्न सुरु गरे ।

प्राङ्गारिक मल ३ महिनामा तयार हुन्छ भन्ने मान्यता छ । तर, एक महिनामै मल उत्पादन हुनसक्ने प्रयोगबाट देखिएको उनी बताउँछन् ।

‘१ किलो प्राङ्गारिक मलमा १६ वटा तत्व हुन्छ । एक पाउ युरिया, पोटास एक पाउ, डीएपीलगायतका सबै तत्व पाउने परीक्षणले देखाएको छ,’ उनले भने, ‘एक किलो युरियालाई ५० रुपैयाँ पर्छ । उक्त युरियामा ४६ प्रतिशत अर्थात् लगभग आधा किलोमात्रै युरिया हुन्छ । तर, हामीले उत्पादन गरिरहेको मल २० रुपैयाँ प्रतिकिलोमा पाइने र त्यसमा २५० ग्राम युरिया, डीएपीसहितका १६ वटा तत्व पाउने हुँदा पनि मार्केट लिन सकिरहेको छैन ।’

Mal (15)

पहिले २० वर्षसम्म उनले गोबर मल २ सय, ३ सय रुपैयाँ प्रतिट्याक्टर बिक्री गर्थे । तर, अहिले त्यति मलकै प्राङ्गारिक बनाउँदा ६० हजार रुपैयाँसम्ममा बिक्री भएको उनले बताए । सरकारले प्राङ्गारिक मललाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

कृषकहरु संगठित हुँदै

उनीमात्रै होइन, मोरङ बुढीगंगा गाउँपालिका–२ का पशुपालक ६ जना किसान प्राङ्गारिक मल उत्पादन गरेरै पैसा कमाउने ध्याउन्नमा छन् । पशुपालन गर्दा खेर गइरहेको गोबरलाई पैसामा रुपान्तरण गर्नेे उनीहरुको मेहनत पनि लोभलाग्दो छ ।

यो वर्षमात्रै उनै खड्काको पहलमा मोरङ सामाजिक संगठन दर्ता भएको छ । जसमा ५१ जना संगठित किसान छन् । त्यसमा ६ जना किसानले चाहिँ प्राङ्गारिक मल उत्पादन गरिरहेका छन् ।

Raju

मल उत्पादक किसान १० जना पुर्याउने खड्का बताउँछन् । यो समूहले आगामी वर्ष १ हजार टन मल उत्पादन गर्ने लक्ष्य राखेको छ । उक्त संगठनका कृषि संयोजक हुन् खड्का र अध्यक्ष दिनेश सापकोटा हुन् ।

एक किलो प्राङ्गारिक मलमा २० रुपैयाँमा बिक्री गर्दा फाइदा हुन्छ र ? भन्ने प्रश्नमा खड्का भन्छन्, ‘यो फालिएको वस्तु हो । यसलाई हामीले पैसामा रुपान्तरण गरेर प्रतिकिलो २० रुपैयाँ बनाइयो ।’

Mal (13)

सोही ठाउँका नवराज काफ्लेले पनि भर्खरै उनै खड्काको प्रेरणाले मल उत्पादन सुरु गरेका छन् । ‘मल उत्पादन गर्न थालेपछि गोबरले नै पुग्न छोड्यो नि । पहिले गोबर कहाँ फाल्ने भन्ने समस्या थियो । बसिरहँदा गोबर मल बनाएर बेचौं न भनेर सुरु गरियो,’ उनी भन्छन्, ‘नेपालमा मलको अभाव सधैँ हुन्छ । यसरी मल उत्पादन हुन थालेपछि त अभाव नहोला नि ।’ उनले पनि ११५ वटा क्यारेटमा झण्डै २३ टन मल उत्पादन गर्ने तयारी गरेका छन् ।

बुढीगंगा–२ नेमुवाका टीकाकुमार साह पनि यही वर्षदेखि प्राङ्गारिक मल उत्पादन गर्ने तयारीमा छन् । उनको गोठमा भैंसी र गाई गरेर १५ वटा छन् । २०७४ सालदेखि साह कृषि फर्म दर्ता गरेर पशुपालन गरिरहेका छन् । उनको गोठमा हरियाणाका मुर्रा जातका भैंसी छन् ।

Tika

साह ०६८ सालमा कतार गएका थिए । ‘कतारमा मासिक २५–३० हजार रुपैयाँभन्दा कमाइ भएन, अहिले त्यसको तीन गुणा बढी आम्दानी गरिरहेको छु, अब मल उत्पादन गरेर आम्दानी ५ गुणा बनाउने मेरो लक्ष्य छ,’ उनी सुनाउँछन् ।

अहिले उनले दैनिक ४५ देखि ५० लिटर दुध उत्पादन गर्छन् । ‘मल खेर गइरहेको छ । अहिले ट्याक्टरको हिसावले बेच्दा २ हजारमा पनि बिक्री हुँदैन, तर प्राङ्गारिक मल बनाउँदा प्रतिटन २० हजारभन्दा बढीमा बिक्री हुन्छ,’ उनले भने, ‘प्राङ्गारिक मल बनाउने तालिम पनि राजुकुमार खड्काले दिनुभएको छ ।’

मल बर्बाद नगर भनेर उनै खड्काले साहलाई सिकाइरहेका छन् । उनको लक्ष्य प्रति महिना ५ टन मल उत्पादन गर्ने छ । टनको २० हजारले बिक्री हुँदा मासिक एक लाख रुपैयाँ मलबाटै आम्दानी हुने उनी बताउँछन् । ‘देशमा कृषि क्रान्ति गर्नका लाग युवाहरु जागरुक हुनुपर्छ,’ उनको भनाइ छ, ‘तर, यहाँ दुःख गर्न र टिक्न चाहिँ सक्नुपर्छ ।’

रासायनिक मल र प्राङ्गारिकमा कति फरक ?

रासायानिक मल र प्राङ्गारिक मलमा धेरै फरक नभएको खड्काको दाबी छ । रासायनिक मलले खेतबारी बिग्रिएको कारण प्राङ्गारिक मल एक कठ्ठामा ५०–६० किलोले पुग्दैन । २–३ बालीसम्म प्रति कठ्ठा १ सय किलोसम्म प्रयोग गर्नुपर्ने र त्यसपछि ५०–६० किलोले नै पर्याप्त मल पुग्ने उनको भनाइ छ ।

Mal (6)

कृषि विज्ञहरु प्राङ्गारिक मल हालेको बालीमा धेरै विषादी प्रयोग गर्नुपर्दैन भन्छन् । प्राङ्गारिक मलबाट उत्पादित बालीमा धेरै रोग पनि नआउने उनको दाबी छ । गाउँघरका ठूला किसानले मल खरिद गरेका छैनन् । फर्मवाला र कौसी खेती गर्नेहरू, कागती खेती, चिया खेती गर्नेहरुले मल खरिद गरिरहेका छन् ।

प्रदेश कृषि मन्त्रालयसँग छैन तथ्याङ्क

कोशी प्रदेश कृषि मन्त्रालयसँग भने प्रदेशभरिमा कति प्राङ्गारिक मल उत्पादन भइरहेको छ भन्ने तथ्याङ्क नै छैन । कति किसानले मल उत्पादन गरिरहेका छन् भन्ने विषय पनि जानकारी नभएको मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले बताए ।

Mal (7)

प्राङ्गारिक मल उत्पादक किसानलाई प्रोत्साहनका लागि प्रदेश सरकारले ठूला कार्यक्रम बनाउन पनि सकेको छैन । ‘तपाईले भनेपछि हामीले यो पनि तथ्याङ्क राख्नुपर्ने रहेछ भन्ने लागेको छ, प्रत्येक किसानलाई सम्पर्क गरेर उत्पादनको तथ्यांक लिन सकिन्छ । तर, अहिलेसम्म त्यसरी तथ्यांक राखेको चाहिँ छैन,’ पोखरेलले भने ।

आगामी वर्षदेखि प्राङ्गारिक मल उत्पादन गर्ने किसानको तथ्याङ्क राख्ने उनको भनाइ छ ।

Mal (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप