आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उच्च अदालत पोखरामा वैशाखभित्रै लक्ष्यको ८० प्रतिशत मुद्दा फर्स्योट

२ वर्ष नाघेका मुद्दा शून्यमा झर्‍यो
बिहीबार, ०४ जेठ २०८०, ११ : २१
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । उच्च अदालत पोखराले लक्ष्यको ८० प्रतिशत मुद्दा फर्स्योट गर्न सफल भएको छ । अदालतको वैशाख मसान्तसम्मको लक्ष्य र फर्स्योटको प्रगति हेर्दा वैशाख मसान्तसम्म ८० दशमलव चार शून्य प्रतिशत मुद्दा फर्स्योट भइसकेको अदालतका रजिष्ट्रार श्रीलाल पौडेलले बताए । 

पौडेलका अनुसार यस आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म एक हजार ७ सय २१ मुद्दा फर्स्योट गर्ने लक्ष्य राखिएकामा हालसम्म १ हजार ३ सय ८४ मुद्दा फर्स्योट भएको छ । लक्ष्यलाई हेर्दा कुल लक्ष्यको ८० प्रतिशतभन्दा मुद्दा फर्स्योट भइसकेको र आर्थिक वर्षको अन्त्यसम्म लक्ष्यको शतप्रतिशत मुद्दा फर्स्योट हुने र लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट हुनसक्ने पौडेलले बताए । 

शून्यमा झर्‍यो दुई वर्ष नाघेका मुद्दा 

उच्च अदालत पोखरामा दुई वर्ष नाघेका मुद्दाहरू वैशाख मसान्तभित्रै फर्स्योट भइसकेका छन् । रजिष्ट्रार पौडेलका अनुसार दुई वर्ष नाघेका मुद्दाहरू बाँकी नराख्ने न्यायपालिकाको रणनीतिक योजना अनुसार वैशाख मसान्तभित्रै दुई वर्ष नाघेका मुद्दाहरू फर्स्योट भइसकेका छन् । सातवटा उच्च अदालतहरूमध्ये लक्ष्य अगावै दुई वर्ष नाघेका मुद्दाहरू फर्स्योट गरिसक्ने अदालतमा उच्च अदालत पोखरा पहिलो बनेको छ । 

२०८० साल असार मसान्तसम्म दुई वर्ष पुग्ने मुद्दाहरू वैशाख मसान्तभित्रै फर्स्योट गरिसक्ने पहिलो अदालत उच्च अदालत पोखरा बनेको रजिष्ट्रार पौडेलले रातोपाटीलाई बताए । उच्च अदालत पोखरामा असार मसान्तसम्म डेढ वर्ष नाघ्ने मुद्दाको सङ्ख्या पनि ५४ वटामा झरेको छ । अंग पुगेको अवस्थामा ती मुद्दाहरू पनि फर्स्योट गर्ने तयारी रहेको रजिष्ट्रार पौडेलले बताए । 

सात न्यायाधीशको दरबन्दी रहेको उच्च अदालत पोखरामा विगत एक वर्षदेखि पाँच न्यायाधीश मात्रै कार्यरत रहेका छन् । पाँच न्यायाधीशमध्ये सबैभन्दा बढी मुद्दा फर्स्योट कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले गरेका छन् । श्रेष्तेदार पौडेलका अनुसार वैशाख मसान्तसम्मको अवस्था हेर्दा कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले ७ सय ८९, न्यायाधीश रमेशप्रसाद राजभण्डारीले ३ सय ६७, न्यायाधीश उज्ज्वल शुक्लले ५ सय ६७, न्यायाधीश ऋषि राजभण्डारीले ५ सय ११ र न्यायाधीश श्रीधराकुमारी पुडासैनीले ५ सय ३४ मुद्दाको फैसला गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा कुल २ हजार ६४२ मुद्दा हुने अनुमान गरिएकामा वैशाख मसान्तसम्म २ हजार ५७१ मुद्दाको लगत रहेको छ ।

मुद्दा फर्स्योटमा नवलपुर पहिलो

त्यसैगरी उच्च अदालत पोखरा मातहतका जिल्ला अदालतहरूको मुद्दा फर्स्योटमा नवलपुर जिल्ला अदालत पहिलो भएको रजिष्ट्रार पौडेलले बताए । पौडेलका अनुसार उच्च अदालत पोखरा मातहतका अदालतमध्ये नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले सबैभन्दा बढी मुद्दामा फैसला गरेका छन् ।

नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले वैशाख मसान्तसम्म ७०९ वटा मुद्दाको फैसला गरेर उच्च अदालत पोखरा मातहतमा सबैभन्दा बढी फैसला गर्ने न्यायाधीश बनेका छन् । त्यसैगरी तनहुँका हरिश्चन्द्र ढुङ्गाना ६२९, नवलपुरका उमेशप्रसाद लुइँटेलले ५३६ र लमजुङका शिवप्रसाद खनालले ५१३ वटा मुद्दामा फैसला सुनाएका छन् । 

मुद्दा सङ्ख्याको आधारमा हेर्दा कास्की जिल्लामा सबैभन्दा बढी मुद्दा लगतमा रहेको छ । कास्की जिल्ला अदालतमा ५ हजार ५१७ मुद्दा लगतमा रहेकामा ३ हजार ९७ मुद्दामा फैसला भएको छ । त्यसैगरी गोरखा जिल्ला अदालतमा ८२२ मध्ये ४७७, तनहुँ जिल्ला अदालतमा २ हजार ६०३ मध्ये १ हजार ३५०, नवलपुर जिल्ला अदालतमा २ हजार ८२ मध्ये १ हजार २५८, मनाङ जिल्ला अदालतमा ४ मुद्दामा चारै मुद्दा, लमजुङ जिल्ला अदालतमा ७७८ मध्ये ५१३, र स्याङ्जा जिल्ला अदालतमा १ हजार १९४ मध्ये ७४१ मुद्दा फर्स्योट भइसकेको उच्च अदालत पोखराले जनाएको छ । 

हालसम्मको लक्ष्य र प्रगतिको अवस्था हेर्दा उच्च अदालत पोखरा न्यायपालिकाको रणनीतिक योजनाले निर्दिष्ट गरेको लक्ष्य प्राप्तिको मार्गमा कार्य सफलता प्राप्त गर्ने अदालतमध्ये अग्रपङ्क्तिमा रहेको देखिएको छ । उच्च अदालत पोखराको मुद्दाको लगत र फर्स्योटको अवस्था हेर्दा यो अहिलेसम्मकै उच्च कार्यप्रगति हो । आगामी असार मसान्तसम्म डेढ वर्ष नाघेका मुद्दाहरू पनि फर्स्योट गरिसक्ने लक्ष्य लिइएको रजिष्ट्रार पौडेलले बताए । उच्च अदालत पोखरामा चेक अनादरका मुद्दा सबैभन्दा बढी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप